इमरान खानको पार्टी ११४ स्थानमा विजयी, सरकार बनाउन २३ अपुग

इमरान खानको पार्टी ११४ स्थानमा विजयी, सरकार बनाउन २३ अपुग


पाकिस्तान चुनाव आयोगले आमनिर्वाचनको नतिजा शुक्रबार सार्वजनिक गरेको छ । मतगणनाको अन्तिम परिणामअनुसार पूर्वक्रिकेटर इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले ११४ स्थान जितेको छ । यद्यपि, खानको पार्टीले सरकार गठनका लागि आवश्यक १३७ स्थान प्राप्त गर्न सकेन ।

बुधबार भएको निर्वाचनको मतगणनामा ढिलाइ भएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला निर्वाचन आयोगले अन्तिम परिणाम आज सार्वजनिक गरेको हो । प्राप्त विवरणअनुसार प्रमुख तीन दल तेहरिक–ए–इन्साफले ११४, पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लिगले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान जितेका छन् ।

कुल ३४२ स्थान रहेको पाकिस्तानी संसदमा २७२ स्थानका लागि प्रत्यक्ष निर्वाचन हुने गर्दछ । बाँकी सदस्य महिला र अल्पसंख्यक समुदायका लागि आरक्षित गरिएका छन् । सरकार गठनका लागि आवश्यक बहुमत (१३७ स्थान) प्राप्त नगरेका कारण इमरान खानले अन्य साना दलसँग गठबन्धन निर्माण गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ ।

खानको दलका प्रवक्ता फवाद चौधरीले गठबन्धन सरकार निर्माणका लागि साना दल र सहयोगी दलहरूसँग वार्ता सुरु भइसकेको बताएका छन् । तर, सरकार गठनका लागि केही दिन लाग्न सक्नेछ । पार्टी अध्यक्ष इमरान खानले आफ्नो पार्टी चुनावमा विजयी भएको घोषणा गरेका छन् ।

‘पाकिस्तानी जनताका अघिल्तिर म प्रण गर्दछु कि पाकिस्तानको वागडोर मैले सम्हालेलगत्तै विगतमा भन्दा बिल्कुल भिन्न किसिमबाट म मुलुकलाई अघि लैजानेछु,’ खानले भने । उनले मुलुकबाट भ्रष्टाचार निर्मूल गर्ने, कामै नलाग्ने अवस्थामा पुगेका सरकारी निकायको क्षमता सुदृढ गर्ने तथा सम्मान र समानताका आधारमा परराष्ट्र सम्बन्ध विकास गर्ने बताए ।

उनका विपक्षी र मानवअधिकार समूहहरूले चुनावमा व्यापक धाँधली भएको आरोप लगाएका छन् । उनीहरूले चुनावमा पाकिस्तानको शक्तिशाली सेना र गुप्तचर निकाय आईएसआईको संलग्नता रहेको दाबी गरेका छन् । खानले भने मुलुकको ७१ वर्षको इतिहासमा पहिलोपटक सबैभन्दा पारदर्शी चुनाव भएको बताए ।