नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको चाहना र आवश्यकतालाई सम्बोधन गर्न सरकार प्रयासरत् रहेका बेला गलत माग राखेर अप्ठ्यारोमा पार्न खोजिएको बताए ।
राजनीतिक कार्यसूची सकिएपछि साना, मसिना विषय समातेर प्रमुख प्रतिपक्षी दल ‘वैतरणी तर्न’ खोजेको हो भन्दै अध्यक्ष दाहालले भने, “नेपाली जनताले विवेकले निर्णय गर्ने गरेका छन् । गलत काम गर्ने र गलत समयमा गलत माग राखेर सरकार असफल बनाउँछु भन्ने कोही कसैले सोचेको छ भने त्यो सपना पूरा हुँदैन ।”
राजनीतिक विषय सकिएपछि अनावश्यक बखेडा झिकिएको र गलत संस्कारको विकास गरिएको भन्दै उनले काम शुरु नहुँदै परिणाम खोज्ने प्रवृत्तिसमेत घातक रहेको स्पष्ट पारे । निर्वाचनबाट पराजित भएपछि नेपाली काँग्रेसले कम्युनिष्टको सरकारले काम गर्न नसकुन् भनेर अनेक निर्णयहरु गरेको बताउँदै त्यसले गलत सन्देशसमेत दिएको स्पष्ट पारे ।
“शेरबहादुरजीको नेतृत्व गरेको सरकारले गरेको निर्वाचनबाट कम्युनिष्टले बहुमत ल्याएको हो । आज उनिहरु नै अधिनायकवाद ल्याउन लागे भनिरहनु भएको छ । कम्युनिस्टको सरकारले काम गर्न नसकोस् भनेर अनेका अनेक निर्णयहरु गरिएको र त्यसले राज्यको ठूलो धनराशी खर्च भएको छ” अध्यक्ष दाहालले भने ।
अध्यक्ष दाहालले गलत आलोचनाभन्दा पनि वैज्ञानिक र वस्तुवादी ढंगले आएका आलोचनाको स्वागत गर्ने बताए । उनले विज्ञानमा आधारित विकास र समृद्धिमा नेकपाले जोड दिने स्पष्ट पारे ।
उनले भने, “वैज्ञानिक विचारको बलमा जनताको मन जितेर दुईतिहाईको सरकार बनाएका छौँ र हामी समाजवादका यात्रामा जानेछौँ ।”
उनले विश्वमा स्थापित भएको लोकतान्त्रिक विधिका आधारमा र अन्तराष्ट्रिय मान्यताभन्दा पनि नेपाली स्वरुपको समाजवादको यात्रामा नेकपाको सरकार जाने बताए । विकास, निर्माण र समृद्धिका लागि इन्जिनियरहरुले प्रभावकारी भूमिका खेल्न आग्रह गर्दै अध्यक्ष दाहालले सकारात्मक सुझाव दिएर सरकार र पार्टीलाई मार्गदर्शन गर्न आग्रह गरे ।
उनले बिना विवाद दुई वटा संगठन एकीकरण गर्न सफल भएकामा बधाईसमेत दिए । दुई पार्टीबीच एकता भएर नेकपा गठन भएपछि पहिलो पटक पेशागत संगठनको रुपमा रहेको इन्जिनियर संगठनको एकता भएको हो ।
तत्कालीन एमाले निकट ‘पोग्रेसिभ इन्जिनियर एसोसिएशन नेपाल’ र तत्कालीन माओवादी केन्द्र निकट ‘नेपाल इन्जिनियर संगठन’बीच एकता भई ‘प्रोग्रेसिभ इन्जिनियर एशोसियशन नेपाल’ नामक संगठन बनेको छ ।
कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेल, श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र स्थायी समिति सदस्य पम्फा भुसालगायतको सहभागिता थियो । एकतापछि शम्भुबहादुर श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय सचिवालय र ९५ जनाको केन्द्रीय समिति गठन भएको छ । यस्तै महासचिवमा हरि पराजुली चयन भएका छन् ।
प्रतिक्रिया