भ्रष्टाचार आरोपमा पक्राउ परेका पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफ जेलभित्र बिरामी परेका छन् । एक पाकिस्तानी मन्त्रीले शरीफको अवस्थाबारे जानकारी दिँदै उनी बिरामी भएको बताएका हुन् ।
शरीफ र उनकी छोरीलाई भ्रष्टाचार मुद्दा हेर्ने पाकिस्तानी एक अदालतले क्रमशः १० र सात महिनाका लागि जेल सजाय तोकिदिएपछि यही जुलाई १३ गते पक्राउ गरिएको थियो । उनीहरूले बेलायतमा अवैध रूपमा सम्पत्ती जम्मा गरेको भन्ने पानामा पेपर्समार्फत सूचना बाहिरिएपछि अनुसन्धान शुरु गरिएको छ ।
पाकिस्तानको पञ्जाब प्रान्तका कामचलाउ गृह मन्त्री शौकात जावेदले राज्य सञ्चालित पाकिस्तानी टेलिभिजनसँगको कुराकानीमा बताएअनुसार पूर्वप्रधानमन्त्री शरीफको इलेक्ट्रोकार्डियोग्रामको एक रिपोर्टमा फेरबदलको समस्या देखिएकाले उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
शरीफलाई इश्लामावादस्थित ‘पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस’ मा लगिएको जनाइए पनि उनी कति दिन अस्पताल बस्नुपर्ने हो भन्नेचाहिँ खुलाइएको छैन, चिकित्सकको सुझावमा यो निर्भर रहने छ ।
शरीफले आफूलाई लक्षित गरी पाकिस्तानी शक्तिशाली सुरक्षा समूहबाट खतरा रहेको बताउँदै आएका छन् भने उनले गत बुधबार भएको निर्वाचनमा आफ्नो दल पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) प्रसिद्ध पूर्व क्रिकेट खेलाडी इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफसँग पराजीत बनेपछि आफ्नो राजनीतिक जीवनलाई जोगाउन सङ्घर्ष गरिरहेका छन् ।
शरीफलाई भ्रष्टाचार आरोप लागेपछि उनले प्रधानमन्त्रीका रूपमा काम गर्न अयोग्य रहेको पाकिस्तानी अदालतले राय दिएको थियो । पछि उनी पार्टीको अध्यक्षबाट पनि हट्नुटेका थिए । उनको अनुपस्थितिमा उनकै सहोदर भाइ शहवाजले पिएमएल–एनको प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।
पिएमएल–एनका नेता शहवाजले हालैको निर्वाचनमा धाँधली भएको भन्दै अन्य दलले झैँ निर्वाचन परिणामप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।
संयुक्त राज्य अमेरिका, यूरोपेली यूनियन तथा अन्य निर्वाचन पर्यवेक्षकले खानको पक्षमा परिणाम पार्न सेनाले सघाएको दावी विभिन्न क्षेत्रबाट आएपछि शुक्रबार निर्वाचनबारे सन्देह व्यक्त गरिएको थियो ।
खानको विजयले पिएमएल–एन र भूट्टो वंशको पाकिस्तान पिपुल्स पार्टी र सेनाबीच चल्दै आएको आलोपालो नेतृत्वलाई अन्त्य गरेको एजेन्सीहरुले जनाएका छन् ।
प्रतिक्रिया