नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले बताएका छन् । कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि एसियाली प्रतिष्ठान तथा नेहरु स्मृति संग्रहालय र पुस्तकालयले काठमाडौंमा आयोजना गरेको “नेपाल–भारत सम्बन्धको प्रवर्धनका लागि प्रबुद्ध वर्गको भूमिका” विषयक सम्मेलनको उद्घाटनका अवसरमा अध्यक्ष प्रचण्डले आपसी सम्बन्ध खुल्ला र प्रगतिशील मानसिकताका साथ साझा स्वार्थका लागि अघि बढाउन आफूहरुले प्रयत्न गरिरहेको अभिव्यक्ति दिए ।
नेपालको स्थिरता, शान्ति र समृिद्ध भारतको पनि स्वार्थको विषय भएको तथा छिमेकी भारतको सहयोगबिना नेपालले समृद्धि हासिल गर्न नसक्ने भएकाले दिगो विकास लक्ष्यको परिधिमा रहेर साझा गन्तव्य पहिल्याउन आवश्यक भएकामा उनले जोड दिए ।
उनले भने, ‘नेपालको गरिबीको अवस्था लामो समयसम्म रहिरहन सक्दैन । छिमेकीले विकास गरिरहँदा हामी पछि पर्न सक्दैनौँ । भारतसँगको समझदारीअनुसार रेल र जलमार्ग हुँदै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्न आवश्यक छ ।’
समान सार्वभौमसत्ता र साझा स्वार्थका आधारमा आपसी सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणले सिर्जना गरेको ताजा विश्वासलाई समेत आधार मानेर सहकार्य र सम्बन्धलाई गाढा बनाउन जोड दिए ।
सोही अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दुई देशका प्रधानमन्त्री तहमा पछिल्लो समयमा भएको भ्रमण आदानप्रदानले सम्बन्ध सुध्रिएको बताउँदै दुई देशले गठन गरेको प्रबुद्ध वर्ग समूहले आपसी सम्बन्धलाई नयाँ इतिहासमा लाने गरी प्रतिवेदन दिने उल्लेख गरे ।
बुद्धिजीवीहरुले नकारात्मक वा सकारात्मक पक्षको मात्रै प्रकाश पारिने प्रवृत्ति अन्त्य गर्न यस्ता सम्मेलनले भूमिका निर्वाह गर्ने बताउँदै मनत्री यादवले नेपाल र भारतबीच जनता र सरकारका बीचमा नजिकको सम्बन्ध भएकाले कहिलेकाहीँ खटपट देखा परेपनि पुनः मिलेर रहने गरेको अवस्थालाई सबैले आत्मसाथ गर्नुपर्ने तर्क गरे ।
सोही कार्यक्रममा भारतीय जनता पार्टीका महासचिव श्रीराम माधवले दुई देशबीच संस्कृति, सम्पर्क सञ्जाल र वाणिज्यलगायतका क्षेत्रमा नजिकको जनाउँदै नेपालको बहुमतको स्थिर सरकारले लोकतन्त्रलाई सफल बनाउने अपेक्षा गरे । भारतीय प्रधानमन्त्री मोदीको छिमेकी नीतिले निरन्तरता पाउने बताउँदै आपसी सम्बन्धलाई ज्ञानमा आधारित सम्बन्धका रुपमा पनि विकास गर्न सम्मेलनले योगदान दिने माधवले बताए ।
यस्तै, नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले पछिल्लो समयमा नेपाली र भारतबीच अरुण ३ परियोजना र वीरगञ्जको संयुक्त चेकजाँचका सम्बन्धमा भएको सम्झौताले आपसी आर्थिक सहकार्य अभिवृद्धि हुने उल्लेख गरे ।
तस्बिर रासस
प्रतिक्रिया