रमेश बस्ताकोटी
नवलपुर/ गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले वर्तमान सरकार आफ्नैं कारणले ढल्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको यो सरकारले एकपछि अर्को जनविरोधी काम गर्दै गएकोले सरकार आफ्नै नराम्रो कृत्यका कारण ढल्ने उनको दाबी छ ।
वर्तमान सरकारले लगातार जनविरोधी काम गर्दै गइरहेको भन्दै त्यसका विरुद्ध आजदेखि देशव्यापी प्रदर्शन शुरु गरेको नेपाली काङ्ग्रेसको कावासोतीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता नेपालीले सरकार आपराधिक क्रियाकलापतर्फ उद्यत भएको बताएका हुन् ।
‘यिनीहरुको अपराध बढ्दैं गएको छ, यिनीहरू आफ्नैं कारणले ढल्छन्’, नेता नेपालीले भने– ‘एकाउन्न सालमा बनेको कम्युनिष्ट सरकार पनि अपराधको सिमा नाघेपछि ढलेको हो ।’

नेता नेपालीले कम्युनिष्टहरूले जनता झुक्काएर बहुमत हासिल गरेको दाबी गर्दै वृद्धवृद्धालाई पाँच हजार भत्ता दिन्छौँ भनी ढाँटेर भोट तान्न कम्युनिष्टहरू सफल भएको आरोप लगाए । उनले अगाडि भने– ‘चुनावका बेला हुनै नसक्ने अनेकौँ सपना बाँडेर भोट तान्न सफल भए, अहिले आफ्नो प्रतिबद्धताविपरीत काम गरिरहेका छन् ।’ दिनदिनै जनविरोधि काम गरेर समृद्धि आउँदैन, जनताको ढाड सेक्ने गरी भएको मुल्यवृद्धिको नियन्त्रण गर्न कम्युनिष्ट सरकारले सकेन ।’
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस नवलपरासीका सभापति एवम् गण्डकी प्रदेशसभाका सदस्य बिष्णु लामिछानेले सरकार अधिनायकवादतर्फ उन्मुख भएकाले नेपाली काङ्ग्रेसले खबरदारी गर्नु परेको बताए ।
काङ्ग्रेस प्रतिपक्षमा बस्न मन्जुर भएको तर जनतालाई झुक्याउन नचाहेकाले चुनावममा पछि परेको तर्क गर्दै नेता लामिछानेले अबको निर्वाचनमा कम्युनिष्ट शक्ति नराम्रोसँग पराजित हुने दाबी गरे । अबको चुनाव पछि ५० वर्ष उठ्न नसक्ने गरी कम्युनिष्टहरु बढारिने उनको भनाई थियो । सरकारले हत्यारा र बलात्कारीलाई उन्मुक्ति दिएर अपराध गरिरहेको खुलासा गर्दै उनले बंगलादेशमा अध्ययन गर्ने नेपाली छात्राहरूमाथि अपमानजनक अभिव्यक्ति दिने दुर्गा प्रसाईलाई उन्मुक्ति दिएर सरकारले अर्को अपराध गरेको आरोप लगाए । सरकारले नक्कली राष्ट्रवादको प्रचार गरेर जनता झुक्काइरहेको पनि लामिछानेले थप्न भ्याए ।
काङ्ग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरेले सञ्चालन गरेको कार्यक्रममा काङ्ग्रेसका भातृसंस्थाहरूको तर्फबाट तरुण दल नवलपुरका अध्यक्ष सुर्य गुरुङले पनि मन्तव्य दिएका थिए ।
नेपाली काङ्ग्रेस नवलपुरको आयोजनामा भएको विरोध र्याली कावासोतीको विपीचोक, सभापतिचोक, इन्द्रचोक, थानाचोक हुँदै फलफुलचोकमा पुगेर कोणसभामा परिणत भएको थियोे । कार्यक्रममा पूर्वसांसद महेन्द्रध्वज जीसी, प्रदेशसभा सदस्य ओमकला गौतमलगायत काङ्ग्रेसका भातृसंस्थाका प्रमुख र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया