– चन्द्रकान्त खनाल
सरकारविरुद्ध नेपाली कांग्रेसले आज देशैभर आयोजना गरेको विरोध कार्यक्रम रुपन्देहीको भैरहवामा पनि सम्पन्न भएको छ । जथाभावी कर बढाएको, अधिनायकवादी बाटोमा हिँडेको आरोप लगाउँदै कांग्रेसले कम्युनिष्ट सरकारविरुद्ध घोषणा गरेको राष्ट्रव्यापी आन्दोलनका क्रममा भैरहवामा ब्यापक विरोध प्रदर्शन भएको हो ।
कांग्रेस रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा भैरहवाको देवकोटाचोकदेखि विरोधर्याली र कोणसभा सुरु भएको छ । सो अवसरमा कांग्रेस कार्यकर्ताले बढ्दो महँगी फिर्ता हुनुपर्ने, कर बढाउन नपाउने लगायत नारा लगाएका थिए । कार्यकर्ताको ठूलो उपस्थितले कांग्रेस नेताहरु उत्साहित देखिएका थिए ।
कोणसभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले वर्तमान सरकार सर्वसत्तावादतिर गएको आरोप लगाए । सभालाई सम्बोधन गर्दै नेता खाणले प्रधानमन्त्री ओलीलाई जथाभावी नबोल्न, जथाभावी निर्णय नगर्न र जुनसुकै घटनामा पनि गोली नचलाउन चेतावनी दिए । खाणले भने– ‘अहिले ओलीजीको गोली र बोली सस्तो भएको छ, बोली बन्द गर्नुस्, गोली पनि सस्तो भएको छ, जनताले यी दुबै राम्रो मानेका छैनन्, बन्द गर्नुस् ।
उनले डा. गोविन्द केसी अनसनमा बस्दा जुम्लामा अस्पतालमा गोली चलेको, चितवनमा इ–रिक्साचालक मजदुरमाथि गोली चलेका भन्दै त्यस्ता कार्य जनताले नरुचाउने भन्दै बन्द गर्ने चेतावनी दिएका हुन् ।
विरोधसभामा प्रतिनिधिसभाका सदस्य भरतकुमार शाह, प्रदेशसभा सदस्य रमा अर्याल लगायतले सम्बोधन गर्दै वर्तमान सरकार दुई तिहाईको दम्भमा चलेको र संवैधानिक अधिकारहरू कुल्चिन थालेको आरोप लगाएका थिए ।
सभा पार्टी जिल्ला सभापति अब्दुल रज्जाकको सभापतित्व, उपसभापति फणेन्द्र शर्माको स्वागत र सचिव रामकृष्ण खाणको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया