प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्व पनि आर्थिक नियमकानुनभित्र बस्नुपर्ने बताएका छन् ।
महालेखा परीक्षकको आर्थिक वर्ष ०७४–७५ लेखा परीक्षणसम्बन्धी बैठकलाई आज (मंगलबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिले देशलाई बाटो देखाउने भएकाले राजनीतिक व्यक्तित्वले समेत सो विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए ।
सरकारी कार्यालयमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि राम्रो संकेत नभएको प्रधानमन्त्रीको भनाइ थियो । ‘के कारणले बेरुजु भएको हो ?’ प्रधानमन्त्री ओलीले भने, ‘जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार हो त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै पनि निकाय र व्यक्तिले उन्मुक्ति नपाउने बताए । बढ्दो बेरुजुले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको शाख गिराउने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘नेपाली भ्रष्टाचार गर्ने र ठगठाग गर्ने जाति होइन,’ उनले भने, ‘तर, हामीमा मौलाएको महत्वाकांक्षा र गलत संस्कारले नेपालीलाई भ्रष्टाचारतिर तान्यो । यो क्रमलाई अब यहीँ विराम लगाउनुपर्छ ।’
बैठकमा महालेखा परीक्षक टंकमणि शर्माले आव ०७४–७५ मा रु. ४८ अर्ब बेरुजु देखिएको जानकारी दिए । बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र विभिन्न मन्त्रालयका सचिवको उपस्थिति थियो ।
प्रतिक्रिया