आफूले लिएका कैयन निर्णय उल्टाइदिएपछि क्रूद्ध भएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश नियुक्तिको निर्णय नै उल्टाइदिने भएका छन् । देउवा सरकारले गरेको राजनीतिक नियुक्तिहरू निर्वाचन आचारसंहिता लागू भइसकेपछि भएको भन्दै सरकारले खारेज गर्ने निर्णय गरेकोमा सर्वोच्च अदालतको आदेशमा सबैजसो व्यक्तिहरूको पुनर्वहाली भएको छ । यस घटनाले प्रधानमन्त्री केपी ओलीको दिल दुखेको र दुखेको दिलले दीपकराज जोशीलाई प्रधानन्यायाधीश स्वीकार गर्न नचाहेको बुझिएको छ ।
अदालतले विकास निर्माणका काममा समेत विभिन्न तरिकाले अवरोध पैदा गर्ने गरेको ठान्ने ओली यस कुरालाई लिएर पहिलेदेखि नै असन्तुष्ट थिए । दुईतिहाइ बहुमतको सरकारले लिएको निर्णयलाई समेत उल्टाइदिएपछि ओलीको मन ‘थाम्नै नसकिने गरी’ दुखेको बताइन्छ । प्रधानन्यायाधीश नियुक्ति प्रस्तावमा सुनुवाइ शुरु हुँदा प्रधानमन्त्री ‘अनशन झमेला’मा थिए । त्यतिबेला जोशीका विरुद्ध ‘कुरा’ लिएर पुग्नेहरूलाई ओलीले राम्रो ‘रेस्पोन्स’ गरेका थिएनन् । अनशनको झमेला सकिनेबित्तिकै सुनुवाइ समितिका केही सदस्यहरूसँग ओलीले न्यायालय र दीपक जोशीका प्रति असन्तुष्टि प्रकट गर्दै आएका छन् ।
ओलीसमक्ष पुगेका सुनुवाइ समितिका सदस्य सांसदहरूसँग उनले भन्ने गरेका छन्, ‘अदालतमा केही बिचौलियाहरू जुकासरी टाँसिएका छन् । न्यायालयको शुद्धीकरणबिना न्याय प्राप्त हुन सक्ने म ठान्दिनँ । विकास निर्माणका कामहरूमा समेत अड्चन पैदा गर्ने काम अदालतबाट भएको छ । कलङ्की–थानकोट सडकको सुधार गर्न नपाइनुको कारण पनि अदालतको आदेश नै हो । मुद्दामा अन्तरिम आदेश गरेर बार्गेनिङ गर्ने काम हुन्छ भन्ने सुनेको छु । न्यायाधीशहरूको आचरण नै भ्रष्ट भएपछि धेरैप्रकारका समस्या उत्पन्न हुँदो रहेछ । दीपकराज जोशीजीका पनि धेरै कुरा आएका छन् । त्यसैले सुनुवाइका क्रममा विशेष ध्यान पु¥याउन म आग्रह गर्दछु ।’
प्रधानमन्त्री ओलीले दीपकराज जोशीबारे उठेका प्रश्नहरूको निरूपण सहज ढङ्गले गर्नुपर्ने धारणा सांसदहरूसमक्ष प्रकट गरेनन् । बरु उनले आक्रोश मिश्रित लवजमा भने, ‘सुशीला कार्कीलाई जोगाएर के भयो ? बरु गोपाल पराजुलीलाई त्यसरी हट्न बाध्य नतुल्याइएको भए गोविन्द केसी र कान्तिपुरवालाहरूको चुरीफुरी त सकिने थियो । ‘यी’ त कामै नलाग्ने रहेछन् ।’ प्रधानमन्त्रीका कुरा सुनिसकेपछि पहिले दीपक जोशीप्रति सकारात्मक रहेका सांसदहरू पनि बक्री भएको र कुनै हालतमा नियुक्ति सदर नगर्ने निष्कर्षमा पुगेको बुझिएको छ ।
प्रतिक्रिया