प्रचण्डकी छोरीलाई अध्यक्ष बनाउने कसरत

प्रचण्डकी छोरीलाई अध्यक्ष बनाउने कसरत


नेपाल नगरपालिका सङ्घको पाँचौँ महाधिवेशन आगामी भदौ ७ र ८ गते काठमाडौंमा हुने भएको छ । नगरपालिका, उपमहानगर र महानगरका निर्वाचित पदाधिकारी तथा सदस्यहरूको साझा संस्थाको रूपमा रहेको नगरपालिका सङ्घको अधिवेशन भदौ ७ गते राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट भव्य समारोहबीच उद्घाटन हुने भएको छ ।

सङ्घको अध्यक्षमा हेटौँडाका तात्कालिक नगरप्रमुख डोरमणि पौडेल रहेकोमा उनी अहिले प्रदेश नं. ३ को मुख्यमन्त्री बनेका छन् र अधिवेशन सम्पन्न गर्न गठित तदर्थ समितिमा संयोजकको जिम्मेवारी धुलिखेल नगरपालिकाका लोकप्रिय एवम् गतिशील मानिने प्रमुख अशोक ब्याञ्जुले लिएका छन् । आगामी महाधिवेशनले ब्याञ्जुलाई नै अध्यक्ष चयन गर्ने सम्भावना रहेको छ ।

तर, नेकपाका अध्यक्ष प्रचण्ड भने आफ्नी छोरी रेणु दाहाललाई सङ्घको अध्यक्ष बनाउने योजनामा रहेको बुझिन्छ । नगरपालिका सङ्घको अध्यक्ष बनेको अवस्थामा छोरीको राष्ट्रिय व्यक्तित्व विकास गर्न सहज हुने भएकोले प्रचण्ड आफ्नी छोरीलाई नगरपालिका सङ्घको अध्यक्ष बनाउने पक्षमा रहेको बताइन्छ ।

प्रचण्ड पक्षले रेणु दाहाल पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेको तर अशोक ब्याञ्जु काभ्रेको जिल्ला उपाध्यक्ष मात्र भएको, रेणु दाहाल महानगर प्रमुख रहेको, तर ब्याञ्जु नगरपालिकाको प्रमुख भएकोजस्ता तर्क पेस गर्दै रेणु दाहाललाई अध्यक्ष बनाउने वातावरण बनाउन खोजेको छ । नेतृत्व क्षमता र गतिशीलतामा अशोक ब्याञ्जु रेणुभन्दा अगाडि भएकोले यहाँ कार्यक्षमताको प्रसङ्ग भने उठाउने गरिएको छैन ।