स्वर्गीय जोशीको सम्मानमा कांग्रेसले तीन दिन आधा झन्डा झुकाउने

स्वर्गीय जोशीको सम्मानमा कांग्रेसले तीन दिन आधा झन्डा झुकाउने


नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वसांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६–१८ गते पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले स्व. नेता जोशीको सम्मानमा केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा तीन दिन पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले साउन १७ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले नेता जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै स्व. जोशीले कांग्रेसको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने जनाएको छ ।

बैठकले स्व. जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । नेता जोशीको हिजो मंगलबार निधन भएको थियो ।