नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अनुमोदन गर्न नचाहेको कारण ‘सर्टिफिकेट’ नभएर अर्कै रहेको खुलासा गरेका छन् ।
‘नेकपाले उनलाई अनुमोदन गर्न नचाहेको कारण अर्कै हो, यो त जनतालाई नक्कली सर्टिफिकेटधारी भनेर दुश्प्रचार गर्न ल्याइएको हथकण्डा मात्र हो, भित्री कारण अधिनायकवाद नै हो, कम्युनिष्ट पार्टीले न्यायालयमा आफूले भनेको मान्छे मात्र कसरी ल्याउन सकिन्छ भनेर विगत लामो समयदेखि उहाँका विरुद्धमा भए–नभएका प्रमाणहरू खोज्ने काम गरिएको छ’– डा. महतले भने ।
यसरी मुलुकको सर्वाेच्च न्यायालयमा आफूअनुकुलका मात्र मानिस खोज्ने काम गर्ने हो भने यसले देशमा कानुनी शासन र प्रजातिन्त्रक पद्दतिको सीधै अन्त्य गनउनको धारणा छ ।
आज काठमाडौंमा अयोजित एक कार्यक्रममा उनले भने– ‘सार्वजनिक सुुनुवाई समितिका सदस्यहरूलाई पनि स्वतन्त्र रुपमा काम गर्न नदिएर सुरक्षाकर्मी खटाउनेदेखि लिएर पार्टीको दबदबा सिर्जना गरी आतंक मात्र सिर्जना गर्न खोजिएको छ ।’
वर्तमान सरकारकाले दुई तिहाई बहुमत र अबका ५ वर्ष आफैले सरकार चलाउने धाकधम्की देखाएर कर्मचारी प्रशासन, मुलुकको प्रेस जगत, सुरक्षा अंग लगायतका सारातिर सत्ताकब्जाको शैलीमा काम गरिरहेको र यस्ता कार्यमा न्यायालयमा समेत हस्तक्षेप गरेर आफूले भन्दा मान्ने मान्छे मात्र ल्याउने भित्री षड्यन्त्रबाट यस्तो काम भएको उनले बताए ।
नेपाली कांग्रेसले सधैँ अदालत स्वतन्त्र हुनुपर्छ भनिरहेको र त्यसका लागि सदैव लड्ने पनि नेता महतले स्पष्ट पारे । यदि वर्तमान प्रधानन्यायाधीशलाई अनुमोदन नगरेर अरु खोज्दै हिँड्ने काम वर्तमान सरकारले दुई तिहाई बहुमतको आडमा गऱ्यो भने कांग्रेस यसै चुप लागेर नबस्ने र सरकारलाई यसको मूल्य निकै महँगो पर्ने डा. महतले बताए ।
काङ्ग्रेस सहमहामन्त्री डा.महतले कांग्रेसले नेकपाको यस निर्णयको विरोधमा र स्वतन्त्र न्यायालयको पक्षमा कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले भने– ‘के गर्ने भनेर अहिले नै त भन्दैनौँ तर हाम्रो आन्दोलन कडा हुनेछ ।’
प्रतिक्रिया