उपेन्द्र महतोको ‘भात बैठक’पछि दीपकराज जोशीलाई हर हालतमा ‘रोक्ने’ निर्णय

उपेन्द्र महतोको ‘भात बैठक’पछि दीपकराज जोशीलाई हर हालतमा ‘रोक्ने’ निर्णय


प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित दीपकराज जोशीका बारेमा शुरु भएको संसदीय सुनुवाई समितिको बैठक पुनः स्थगित भएको छ । दुई दिनदेखि स्थगित भएर बुधबार (साउन १६ गते)का लागि तय गरिएको बैठक पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रकट गर्दै स्थगित गरिएको हो । सुनुवाई समितिको अर्को बैठक आगामी शुक्रबार विहान १० बजेका लागि तय गरिएको छ ।

सुनुवाई समितिका पन्ध्र सदस्यमध्ये दुई तिहाई सदस्यहरूले नियुक्तिको प्रस्ताव अस्वीकार गर्न सक्ने कानूनी व्यवस्था छ । सोही कानूनी प्रावधानमा टेकेर जोशीको नाम अनुमोदन नगर्न सत्तारुढ नेकपाका प्रमुख नेताहरू केपी शर्मा ओली र प्रचण्डले निर्देशन दिएका छन् ।

कम्युनिष्ट सांसदहरूको मात्र दुई तिहाई सदस्य नपुग्ने भएकोले उपेन्द्र यादवलाई समेत विश्वासमा लिइएको छ । दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्न नदिन केही नवधनाड्य तथा कम्युनिष्ट नेताहरू योजनाबद्ध रूपमा लागिपरेको तथ्यहरू फेलापरेका छन् ।

यसका मूख्य डिजाइनरमा ब्यापारीहरू उपेन्द्र महतो र कैलाश सिरोहिया रहेका छन् । दीपकराज जोशी कम्युनिष्ट पृष्ठभूमिका व्यक्ति नभएकोले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड उनीप्रति शुरुदेखि नै सशंकित थिए । त्यसैले संसदीय सुनुवाईसँगै दीपकराज जोशीसँग ‘आफ्नो पक्षमा काम गर्ने’ प्रतिबद्धता प्रधानमन्त्री ओली र प्रचण्डले चाहेका थिए । त्यसनिम्ति उनीहरूले जोशीसँग ‘कुराकानी’ (‘कि बोर्गेनिङ’ ?) गर्नका लागि वर्षमान पुनलगायत केही नेताहरूलाई जोशीको निवासस्थानमै पठाएका थिए । र, स्वयम् ओली र प्रचण्डले पनि जोशीसँगै भेटेर ‘कमिटमेन्ट’ लिन खोजेका थिए । तर, उनीहरूको अपेक्षाअनुरुप प्रतिबद्धता प्रकट गर्न जोशी तयार भइरहेका थिएनन् ।

प्रचण्ड, केपी ओली र उपेन्द्र यादवका खास ‘दाता’का रूपमा समेत चिनिएका उपेन्द्र महतो र कैलाश सिरोहिया जसरी भए पनि दीपकराज जोशीलाई रोकेर चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीश बनाउने प्रयासमा छन् । जोशीको कार्यकाल डेढ वर्षपछि सकिने र त्यतिबेला चोलेन्द्र शमशेरको नाम नियुक्तिका लागि प्रस्ताव गरिए पनि अन्य दुई जना न्यायाधीशहरूको नामसमेत प्रस्तावित गरिने छ । त्यतिबेला चोलेन्द्रबाहेक दुबैजना कम्युनिष्ट पार्टीनिकट व्यक्तिहरू हुनसक्ने र त्यस्तो अवस्थामा कम्युनिष्ट सरकारले ठ्याक्कै आफ्ना मान्छेलाई नियुक्त नगरेर चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीश बनाउन सक्ने सम्भावना नभएकोले महतो र सिरोहियाले अहिले नै राणालाई नियुक्ति गराउन चाहेका हुन् । गत सोमबार (साउन १४ गते) उपेन्द्र महतोले टंगालस्थित आफ्नो निवासमा आयोजित विशेष दिवाभोजमा पनि चोलेन्द्रलाई अहिले नै प्रधानन्यायाधीश बनाउन जोड गरेका थिए । महतोले यही प्रयोजनका निम्ति आयोजना गरेको दिवाभोजमा नेकपाका नेता प्रचण्ड, स्वास्थ्यमन्त्री उपेन्द्र यादव, न्यायाधीश चोलेन्द्र शमशेर राणा र कैलाश सिरोहियालाई सहभागी गराइएको थियो । तर, उक्त ‘दिवाभोज बैठक’ अहिले नै चोलेन्द्रलाई प्रधानन्यायाधीश बनाउनुभन्दा ओमप्रकाश मिश्रलाई उक्त पदमा नियुक्त गर्ने र आगामी पुस १५ गते मिश्रले अवकाश पाइसकेपछि चोलेन्द्रलाई सो स्थानमा नियुक्त गर्न सहज र स्वभाविक हुने निश्कर्षमा पुग्यो ।

सोही दिवाभोज बैठकको योजनाअनुसार कैलाश सिरोहियाको लगानी रहेको अखबारले जोशीविरुद्ध अनेक समाचार सम्प्रेषण गरेर वातावरण बनाउने र सुनुवाई समितिले सोही आधारमा जोशीको नियुक्तिलाई अनुमोदन नगर्ने तय भएको बुझिएको छ । ज्ञातव्य छ, उपेन्द्र महतो र कैलाश सिरोहिया कान्तिपुर टेलिभिजनका साझेदार हुन् । तत्कालिक प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त हुने स्थिति बनाएर राणाले ठूलो गुन लगाएकोले कैलाश र उपेन्द्र राणालाई प्रधानन्यायाधीश बनाउन ‘जे गर्न पनि’ तयार देखिएका छन् । यसैले यतिबेला उनीहरू जोशीको अनुमोदन हुन नदिन हर तरहले सक्रिय भएका छन् ।

उपेन्द्र महतोले दिवाभोज बैठक राख्नुअघि गत शनिबार र सोमबार प्रधानमन्त्री ओली र प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दीपकराज जोशीसँग विशेष भेटवार्ता गरेका थिए । शनिबारको भेटमा ओली र प्रचण्डले जोशीबाट सहयोगको ‘कमिटमेन्ट’ लिने कुरामा जोड दिएका थिए । तर, सोमबार उपेन्द्र महतोको घरमा ‘भात खाइसकेपछि’ प्रचण्ड र ओली जोशीको नाम कुनै पनि हालतमा अनुमोदन नगर्ने निश्कर्षमा पुगे । सोमबार प्रधानमन्त्री निवासमा जोशीसँग भेटवार्ता हुँदा प्रचण्डले राजीनामा दिएर आफूहरूलाई सहयोग गरिदिन आग्रह गरेका थिए । जवाफमा जोशीले अफवाह फैलाउनतिर लाग्नुभन्दा आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको पुष्टि गर्नतिर लाग्न चुनौती दिएका थिए । जोशीले कानुनबमोजिम हुने काममा आफूबाट सहयोग हुने, तर राजीनामा नदिने स्पष्ट गरेका थिए । यस घटनापछि प्रचण्ड र केपी ओली जसरी भएपनि जोशीको नाम अनुमोदन हुन नदिन दृढतापूर्वक लागिपरेका छन् ।

उपेन्द्र महतोको ‘भात बैठक’पछि प्रचण्ड र केपी ओलीको सल्लाहबमोजिम सुनुवाई समितिका हरेक सदस्यको साथमा प्रहरी सुरक्षाकर्मी खटाइएको छ । सुनुवाई समितिकै कोही सदस्य बिक्न सक्ने र त्यस्तो अवस्थामा आफ्नो दुई तिहाई बहुमत पुग्न नसक्ने भएकोले सांसदहरूमाथि निगरानी राख्न प्रहरी खटाइएको हो । यस घटनाले कम्युनिष्ट नेताहरू धनाड्यको इशारा तथा योजनाअनुसार कसरी काम गर्छन् भन्ने स्पष्ट भएको छ । र, नेपालमा कुन स्तरको षडयन्त्र कसरी हुने गर्छ भन्ने पनि यस घटनाले देखाएको छ ।