मलेठ घटनाको छानविन शुरु

मलेठ घटनाको छानविन शुरु


हेमशंकर सिंह

राजविराज । डेढ वर्षअगाडि सप्तरीको मलेठमा भएको घटनाबारे छानविन गर्न प्रदेश न. २ सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले सोमबारदेखि छानविन शुरु गरेको छ ।

डेढ वर्षअघि तत्कालीन नेकपा एमालेको मेची–महाकाली अभियानको दौरान सप्तरीको मलेठमा मधेशकेन्द्रित दलका कार्यकर्ताले गरेको अवरोधको क्रममा भएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले बाहिर ल्याएको छानविन प्रतिवेदन एकपक्षीय रहेको भन्दै प्रदेश सरकारले गठन गरेको समितिले सोमबारदेखि छानविन शुरु गरेको हो ।

प्रदेश न. २ सरकारले आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा सामाजिक विकासमन्त्री नवल किशोर साह तथा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह सम्मिलित तीन सदस्यीय छानविन समिति गठन गरेको हो ।

समितिको सदस्य सविचमा मुख्य न्यायधिवक्ता कार्यालयका उप न्यायधिवक्ता कृष्णप्रसाद बराल सदस्य सचिव रहेका छन् ।

समितिले घटनाको स्थलगत छानविन गरी १५ दिनभित्र मन्त्रीपरिषदको कार्यालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको संयोजक यादवले बताए ।

एमालेकोे मेची–महाकाली अभियानअन्तर्गत २०७३ फागुन २३ गते सप्तरीको मलेठ (हाल राजविराज नगरपालिका ९) मा आयोजना गरेको कार्यक्रमलाई मधेशकेन्द्रित दलहरूले भने कुनै हालतमा सभा आयोजना गर्न नदिने अडान राखेका थिए । एक पक्षले जसरी पनि सभा गर्ने र अर्को पक्षले गर्न नदिने सम्पूर्ण शक्ति परिचालन गर्ने हठ प्रदर्शन गरेका कारण झडपको वातावरण भएपछि सुरक्षाका लागि खटिएका प्रहरीले अन्धाधुन्द गोली चलाउँदा पाँचजनाको ज्यान गएको थियो ।

उक्त घटनापछि राष्ट्रिय मानवअधिकार आयोगले पूर्वन्यायधीश ताहिर अली अन्सारीको संयोजकत्वमा उच्चस्तरीय छानविन समिति गठन गरेको थियो ।

सो आयोगले सार्वजनिक गरेको प्रतिवेदन एकपक्षीय र असत्य भएको भन्दै सप्तरीका साथै मधेशका जिल्लाहरुमा विरोध प्रदर्शन हुन थालेपछि प्रदेश सरकारले छुट्टै समिति गठन गरेको हो ।

छानविनका क्रममा राजविराज आइपुगेका टोलीका संयोजक यादवले सोमबार सप्तरीका पत्रकारहरुसँग घटनाबारे जानकारी लिँदै भने– ‘आयोगले सार्वजनिक गरेको एकतर्फी प्रतिवेदन सप्तरीका जनताले अस्वीकृत गरेकाले घटनाको निष्पक्ष छानविन गरी सत्य तथ्य बाहिर ल्याउन प्रदेश सरकारले छुट्टै समिति गठन गरेको हो ।

टोलीका सदस्य भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले मलेठ घटनाको स्थलगत अध्ययन तथा छानविनको क्रममा पीडित, प्रत्यक्षदर्शी, संचारकर्मी, अधिकारकर्मी तथा सुुरक्षा निकायका पदाधिकारीसँग पनि आवश्यक जानकारी लिइने बताए ।

छानविन समितिका अर्का सदस्य सामाजिक विकासमन्त्री नवलकिशोर साहले राष्ट्रिय मानव अधिकार आयोगले पीडित र प्रत्यक्षदर्शीले दिएको बयानविपरीत कुनै खास पार्टी र व्यक्तिलाई खुशी पार्न तयार गरेको प्रतिवेदनलाई जनताले स्वीकार गर्न नसकेकाले प्रदेश सरकारले आफै छानविन समिति गठन गरेको र चाँडै सत्यतथ्य जनसमक्ष सार्वजनिक हुने जानकारी दिए ।

टोली भोलि मंगलबार विहान घटनास्थलमा पुगी पीडित परिवार तथा स्थानियवासीलार्ई भेट्ने कार्यक्रम तय रहेको संयोजक यादवले जानकारी दिए । छानविन समितिका दुई सदस्य नवलकिशोर साह र शैलेन्द्र साह भने त्यतिखेर मलेठमा मधेशी मोर्चाले गरेको आन्दोलनको नेतृत्व गरेका थिए ।

संवैधानिक आयोगले सार्वजनिक गरेको प्रतिवेदनलाई चुनौती दिँदै तत्कालीन आन्दोलनकारीहरुकै अगुवाईमा छानविन समिति गठन गरेको भन्दै नेकपा सप्तरीले समितिले भेटन बोलाए पनि आफुहरु भेट्न नगएको नेकपा सप्तरीका नेता तथा प्रदेशसभा सदस्य गोविन्द न्यौपानेले बताए ।