नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भ्रातृ संस्था युवा र विद्यार्थी संगठनको एकतामा अन्तिम चरणमा पुगेको छ । युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग नेपालको एकतापछिको नाम र नेतृत्वबाहेक सबै कुरा मिलिसकेको सम्बद्ध पक्षको भनाई छ ।
एकता कार्यदलका सदस्य तथा वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)का अनुसार कार्यदलमा नाम र नेतृत्वका बारेमा सहमति गर्ने प्रयत्न भइरहेको छ । यदि कार्यदलमा सहमति हुन नसके पार्टी नेतृत्वबाट नै सहमति खोजिने उनको भनाई छ ।
बुझिएअनुसार दुवै संगठनले नेतृत्वका लागि दावी गरिरहेका छन् भने आगामी भदौ ५ गते एकता गर्ने गरी कार्यदलको प्रतिवेदन आगामी शुक्रबार पार्टी महासचिवलाई बुझाइने तयारी गरिएको छ । संगठनको नाम युवा कम्युनिष्ट लिग नेपाल वा समाजवादी कम्युनिष्ट युवा नेपाल वा नेपाली युवा फेडेरेशन वा नेपाल समाजवादी युवा संघ प्रस्ताव गरिएको पनि दीपशिखाले जानकारी दिए ।
नयाँ बन्ने केन्द्रीय कार्यसमिति १९९ सदस्यीय रहने गरी विधान टुङ्ग्याइएको र कार्यसमितिमा संयोजक, सहसंयोजक, नौ सदस्यीय स्थायी कमिटी र केन्द्रीय कमिटीको एक तिहाइ सचिवालय रहने छन् ।
यसैगरी अर्को भ्रातृ सङ्गठन विद्यार्थीको पनि एकता अन्तिम चरणमा पुगेको बुझिएको छ । अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) ले विधान मस्यौदा, संगठन समायोजन र राजनीतिक शैक्षिक कार्यदिशा उपसमितिले एकताका लागि प्रतिवेदनलाई अन्तिम रुप दिन थालेका छन् ।
अनेरास्ववियू र क्रान्तिकारीले पनि अन्य विषयमा सहमति गरे पनि नेतृत्व र नामका विषयमा अझै टुङ्ग्याएका छैनन् । नेतृत्व र नाम दुवै पक्षले आआफ्नो नाम राख्ने अडानमा रहेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतलाई उद्धृत गर्दै राससले जनाएको छ । केन्द्रीय कमिटी १९९ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ ।
दुवै संगठन समायोजन हुँदा भने ४९९ जनाको केन्द्रीय कमिटीको नाम प्रस्ताव गरिएको छ । आगामी भदौ २५ गतेसम्म सबै काम टुङ्ग्याएर पार्टीलाई प्रतिवेदन बुझाइने जानकारी बस्नेतले दिए ।
गत जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता भएको थियो । सबभन्दा पहिले दुवै पार्टीका इञ्जिनीयरहरुको सङ्गठनको पहिलो पटक एकता भएको हो ।
प्रतिक्रिया