यस्तो रहेछ प्रचण्डको अन्तर्राष्ट्रिय छवि !

यस्तो रहेछ प्रचण्डको अन्तर्राष्ट्रिय छवि !


देशको सबैभन्दा शक्तिशाली राजनीतिक दलको ‘अधिपति’बन्न प्रयासरत नेकपाका सहअध्यक्ष प्रचण्डलाई दुई छिमेकी मित्रराष्ट्रहरूले कुन रूपमा लिएका छन् भन्ने हालैको एक घटना–सन्दर्भले देखाएको छ ।

भविष्यमा प्रधानमन्त्री र एकलौटि पार्टी अध्यक्ष भएर राज्यको सर्वेसर्वा बन्ने योजनामा रहेका प्रचण्डले दुवैतर्फका छिमेकी मुलुकहरूसँग विश्वासको सम्बन्ध बनाउने प्रयास गरिरहेका छन् र त्यसनिम्ति जतिसक्दो चाँडो भारत तथा चीनको भ्रमण गर्ने योजना उनले बनाएका छन् ।

पार्टी एकता भएयता प्रचण्डले पहिले भारत र त्यसपछि चीनको भ्रमण निम्ति कूटनीतिक तथा अन्य च्यानलहरूमार्फत प्रयास गरिरहँदा अनौठोखाले समस्या पैदा भएको छ । प्रचण्ड पहिले भारत जान चाहन्छन्, र त्यसका लागि उनले सेप्टेम्बरको पहिलो साताका निम्ति समय निर्धारण गरिदिन सम्बद्ध पक्षसँग परामर्श गरेका थिए र, प्रचण्ड भारतबाट फर्किएर चीन जाने योजनामा रहेको जानकारी प्राप्त नहुन्जेल भारतले प्रचण्डको भ्रमणलाई विशेष महत्व दिएको पनि हो ।

तर, प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटको समय मिलाउन तत्काल नसकिएको बताएर अहिले भारतले प्रचण्डको भ्रमण केही समय पछाडि सार्न अनुरोध गरेको बताइन्छ । भारतले प्रचण्डलाई पहिले चीन जान सुझाव दिएको त छैन, तर भारत आउनुअघि प्रचण्डले चीनको भ्रमण गरुन् भन्ने भारतको चाहना भएको बुझिएको छ । यसबाट भारतमा भएको कुराकानी चीनमा लगेर सुनाउने र चीन–भारतबीच भ्रम पैदा गर्न प्रयास हुने ठानेर प्रचण्डबाट चीनको भ्रमणपछि मात्र भारतको होस् भन्ने चाहेको स्पष्ट बुझ्न सकिन्छ ।

दुवै मुलुकका अधिकारीले ‘पहिले उता’ भन्ने नीति लिएकोले दुवै मुलुकलाई ‘विश्वासमा लिन’ प्रचण्डले गरेको प्रयास तत्काल सफल हुन सकिरहेको छैन । यस प्रकरणमा प्रचण्डको छवि देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय जगत्मा समेत पूर्ण अविश्वसनीय बनेको स्पष्ट भएको छ ।

उता चीनले पनि प्रचण्ड भारतको भ्रमणमा गएपछि मात्र उनलाई चीनमा स्वागत गर्न चाहेको बुझिन्छ । प्रचण्ड भारत भ्रमण गरेर फर्किएपछि उनको चीन भ्रमण गराउने सोचमा रहेका कारण चीनले प्रचण्ड भ्रमणको तिथि तय गरेको छैन । प्रचण्डले चीनसँग भएको कुराकानी भारतमा तत्काल पु¥याउन सक्ने आशङ्काका कारण चिनियाँ अधिकारीहरूले उनको भ्रमण तिथि तय गर्न विलम्ब गरेको बताइन्छ ।

यसरी दुवै मुलुकका अधिकारीले ‘पहिले उता’ भन्ने नीति लिएकोले दुवै मुलुकलाई ‘विश्वासमा लिन’ प्रचण्डले गरेको प्रयास तत्काल सफल हुन सकिरहेको छैन । यस प्रकरणमा प्रचण्डको छवि देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय जगत्मा समेत पूर्ण अविश्वसनीय बनेको स्पष्ट भएको छ ।

पहिले ०६५ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका बेला प्रचण्डले ‘राष्ट्रवादी देखिन’ पहिलो भ्रमण चीनमा गरेका थिए र, नेपाल फर्किनेबित्तिकै उनले ‘आफू खेल हेर्न मात्र चीन गएको, पहिलो भ्रमण भारतकै गर्ने’ भनी सार्वजनिक अभिव्यक्ति दिएका थिए । प्रचण्डको व्यवहार र अभिव्यक्तिबाट दुवै मुलुक त्यतिबेलै झस्किएका थिए । त्यसयता प्रचण्डको क्रियाकलापलाई निकटबाट अवलोकन गरिरहेका दुवै छिमेकी उनलाई ‘विश्वास गर्ने आधार’को खोजीमा रहेको देखिन्छ ।

अब प्रचण्डलाई दुईमध्ये कुन मुलुक पहिले बोलाउन बाध्य हुने हो, प्रतीक्षाको विषय बनेको छ । अहिलेसम्मको स्थिति हेर्दा प्रचण्ड भारतभन्दा पहिले चीनकै भ्रमण गर्न ‘बाध्य हुने’ सम्भावना देखिएको छ ।