भरत शमशेरको निधनमा शोक व्यक्त

भरत शमशेरको निधनमा शोक व्यक्त


नेपाली काङ्ग्रेसका पुराना नेता भरत शम्शेर राणाको भारतको कोलकोतामा निधन भएको छ । नेपालको राजनीतिक इतिहासको एक ज्यूँदोजाग्दो, सशक्त र हक्की नेताको रुपमा राणा चिनिने गर्थे । उनी ९० वर्षका थिए । राणाका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवाले एक शोक विज्ञप्तिमार्फत पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं राजनीतिक परिवर्तनका वाहक राणाको निधनले मर्माहत र स्तब्ध बनाएको उल्लेख गरेका छन् । सभापति देउवाले लोकतन्त्र र गणतन्त्र स्थापनाको आन्दोलनमा स्व. राणाले पु¥याएको योगदान इतिहासमा स्मरणीय रहिरहने र उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै शोक प्रकट गरेका छन् ।

यस्तै, काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरत शम्शेरको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन् । शोक वक्तव्य जारी गर्दै नेता पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा उनको ठूलो योगदान रहेको र काङ्ग्रेसका एक अविस्मरणीय नेता राणाको अवसानले लोकतान्त्रिक आन्दोलनमा क्षति पुगेको उल्लेख गरेका छन् ।

विसं २०१५ को पहिलो जननिर्वाचित संसद्मा प्रतिपक्षी दलका नेताका रुपमा रहेका राणा गोर्खा परिषद्का महामन्त्री थिए । विसं २०१७ पुस १ गते उनले आफ्नो पार्टीलाई निःशर्त नेपाली काङ्ग्रेसमा विलय गराएका थिए ।