संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले दुई तिहाइको सरकारलाई बन्द हडताल बाधक नहुने बताएका छन् । सरकारलाई विभिन्न लाञ्छना लगाएर जनतासामु कमजोर पार्न खोजिएको भन्दै मन्त्री बास्कोटाले आपत्ति जनाएका हुन् ।
सोमबार नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको ‘कागजरहित समाज र सूचना प्रविधिका क्षेत्रमा रोजगारी बृद्धि’ विषयक कार्यक्रममा उनले सही विषयलाई मात्रै उठान गर्न आग्रह गरे । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसतर्फ लक्षित गर्दै मन्त्री बास्कोटाले कम्यूनिष्ट शब्दमा तानाशाह शब्द जोड्ने कुरा गलत भएको भन्दै राम्ररी पढ्न अनुरोध गरे ।
सरकारले केही गल्ती गरे आलोचना र जुलुस गर्न पाइने भन्दै उनले सरकारले गरेका राम्रा कामको स्वागत गर्न आग्रह गरे र आन्दोलनका लागि टुँडिखेल, गौशाला पनि भएको उल्लेख गरे । उनले माइतीघर मण्डलामा आन्दोलन गर्न पाइनँ भनेर सरकारसँग निहुँ नखोज्न चेतावनी पनि दिए ।
एक फरक प्रसंगमा मन्त्री बास्कोटाले नेपालको विद्युतीय साक्षरता ३१ प्रतिशत मात्रै भएकोले सरकार सूचना प्रविधिको विकासमा तल्लिन भएको जानकारी दिदैं सरकारले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गरी हरेक बर्ष बाहिरिएको ५ अर्ब र आफ्नै स्याटलाइट निर्माण गरी २ अर्ब रुपैयाँ रोक्ने बताए ।
प्रतिक्रिया