गुम्बा/विहार पुनःनिर्माण नगरे चरणबद्ध आन्दोलन

गुम्बा/विहार पुनःनिर्माण नगरे चरणबद्ध आन्दोलन


भूकम्पले भत्किएका गुम्बा/विहारको पुनः निर्माण छिटो गर्न माग गर्दै आज काठमाडौंमा प्रदर्शन गरिएको छ । नेपाल गुम्बा/विहार महासङ्घको नेतृत्वमा भएको प्रदर्शन भृकुटीमण्डप–भद्रकाली–शहीदगेट–नेपाल वायु सेवा निगम–जमल–घण्टाघरहुँदै शान्तिवाटिकामा पुगेर सभामा परिणत भएको थियो । प्रदर्शनमा बौद्ध धर्मगुरु, गुम्बा/विहारका अधिकारी लगायतको सहभागिता थियो ।

भूकम्पले भत्किएका एक हजार ३२० गुम्बा/विहारको सर्वेक्षण गरिएकामा ८९५ पुनः निर्माण गर्नुपर्ने प्रतिवेदन तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईले सार्वजनिक गरेको थियो । यसैगरी ३३१ गुम्बा/विहारको मर्मतसम्भार गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

ऱ्यालीपछि आयोजित कार्यक्रममा पूर्वमन्त्रीत्रय दिलमान पाख्रिन, परशुराम तामाङ र आङछिरिङ शेर्पाले गुम्बा/विहार र आदिवासी जनजातिलाई सरकारले फरक व्यवहार गरेको भन्दै आपत्ति जनाए ।

महासङ्घका अध्यक्ष सोम्वले तामाङ र महासचिव रामेश्वर ढकालले छिटो पुनः निर्माणको योजना सार्वजनिक नगरे चरणबद्ध आन्दोलन गर्ने घोषणा गरे। गत वर्ष महासङ्घले नै आन्दोलन गरेर गुम्बा/विहारको सर्वेक्षण भएको थियो ।

एकाईले महासङ्घसँग छबुँदे सम्झौता गरी पुनः निर्माण गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नभएको भन्दै महासङ्घले आपत्ति प्रकट गरेको छ ।