पञ्चायती सत्ता र त्यो बेलाको पत्रकारिता

पञ्चायती सत्ता र त्यो बेलाको पत्रकारिता


जनताको सर्वसुलभ सञ्चारमाध्यम र हरसमयको साथीको रूपमा सर्वत्र सरकारी सञ्चारमाध्यम रेडियो नेपालको बलियो पहुँच थियो पञ्चायती शासन कालमा । राजाको प्रमुख नायकत्वमा चलेको पञ्चायती ब्यवस्थामा प्रेस स्वतन्त्रता नभएका कारण पत्रपत्रिकाको बलियो पहुँच दूरदराजका गाउँघरमा थिएन । नेपाल टेलिभिजन त २०४१ सालतिर स्थापना भएको हो । ४० को दशकमा पत्रकारिता शुरु गरेका हामीजस्ता युवाहरू त्यसबेला पञ्चायत ‘भितर’ र पञ्चायत ‘इतर’का रूपमा क्रियाशील थियौँ । देशमा निरंकुश पञ्चायती सत्ता रहेसम्म देश र जनताको मुक्ति हुँदैन, देशको समग्र विकास पनि हुँदैन । त्यसैले यो पञ्चायती ब्यवस्था फाल्न जनतामा चेतनाको दियो बाल्नु पर्दछ भन्ने मिसन प्रजातन्त्रवादी पत्रकारहरूमा थियो भने बामपन्थीहरू पनि २०३६ सालको जनमतसंग्रहपछि पञ्चायती ब्यवस्थाको विरुद्ध जनतालाई संगठित गराउन लागेका थिए । जब नेपाली काङ्ग्रेसको अगुवाइमा संयुक्त जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमानसिंहको नेतृत्वमा बाममोर्चा सम्मिलित भएर २०४६ सालमा आन्दोलन गर्ने निश्चय भयो तब प्रजातन्त्रवादी र बामपन्थी धारका पत्रकारहरू प्रजातन्त्रको पक्षमा र पञ्चायती सत्ताले पालेका सरकारी ‘शाही पत्रकार’हरू पञ्चायतको समर्थनमा प्रचारमा उत्रिए ।

सरकारी सञ्चारमाध्यम र राज्यद्वारा पालित-पोषित पत्रकारहरू पञ्चायती सत्ताको रक्षामा तल्लिन थिए भने प्रजातन्त्र चाहने पत्रकारहरू जनताको पक्षमा अनेक दुःख-कष्ट सहेर लेखिरहेका थिए । २०४४/४५ तिर पत्रकारितामा प्रवेश गरेको म जस्तो २०/२१ वर्षको युवकलाई अग्रजहरूले जनतालाई स्वतन्त्रताको अधिकारबाट गराउने पञ्चायतको विरुद्ध लाग्नुपर्छ भनेर सिकाउनुभएको थियो । झापामा पञ्चायतकालमा प्रायः पत्रपत्रिका पञ्चायत ब्यवस्थाप्रति समर्पित भएर निस्कन्थे । तर तारा बरालको सम्पादनमा २०४० सालदेखि चन्द्रगढीबाट प्रकाशित हुने साप्ताहिक विचार पत्रिका भने खुलेर बहुदलको पक्षमा लेख्दथ्यो । हामी त्यही पत्रिकामा काम गर्दथ्यौँ । म (कृष्ण हुमागाईं) बिष्णु निष्ठूरी, कृष्ण धरावासी, भरत भूर्तेल, गोविन्दचन्द क्षेत्री, रामनाथ बाँस्कोटा, धर्म गौतम, विमल बैद्य, लोकराज ढकाल, लेखनाथ परदेशी, ज्ञानमणि भूर्तेल, प्रकाश बुढाथोकी, गोपाल सापकोटा, एसएल शर्मा रश्मिशेखरजीहरू साप्ताहिक विचारमा आवद्ध थियौँ । भरत भूर्तेलले पछि श्यामकृष्ण उपाध्यायको आलोक पत्रिका आफैं प्रकाशन गर्न थाल्नुभयो । बामपन्थी भएपनि माधव विद्रोही पनि साप्ताहिक विचारमा लेख्नुहुन्थ्यो । झापामा रहेर केन्द्र (राजधानी काठमाडौं)का पत्रपत्रिकामा लेख्ने राष्ट्रपुकारमा सीके प्रसाईं, केशव धिताल र डिकमान विरही, राजेश ढुङ्गाना, देशान्तरका केशव आचार्य, प्रकाशका चन्द्र भण्डारी, डा. ऋषिकेश उपाध्याय, विमर्शका कृष्ण दाहाल, भरत कोइराला, सन्तोष अग्रवाल, लक्ष्मण ढकाल, दृष्टिका माधव विद्रोहीलगायतका त्यसबेलाका बहुदल पक्षधर लेखक, पत्रकारहरूले प्रजातन्त्रको पुनर्वहालीका लागि कलम चलाएको पाइन्छ । दोर्णाचार्य क्षेत्री, भवानी घिमिरे, चुडामणि रेग्मी, हिरा आकाश, सूर्य नेपाल, मिश्र बैजयन्ती लगायतका कवि लेखक साहित्यकारले समेत बहुदलीय ब्यवस्थाको पक्षमा जनतामा चेतना भर्ने कार्य गर्नुभएको पाइन्छ ।

पञ्चायतको पक्षमा लागेर प्रजातन्त्रको विरोध गर्दै दलमाथिको प्रतिबन्ध हटाइनु हुँदैन भनेर लेख्ने पञ्चायती ब्यवस्थासमर्थक पत्रिकाको दबदबा त्यस समयमा पञ्चायतसमर्थक पत्रिकामा काम गरेता पनि गञ्जबहादुर दाहाल, गोपाल गिरी, राजबाबु शंकरले भने प्रजातन्त्रको विपक्षमा आफूलाई प्रस्तुत गर्नुभएन भने एकमात्र सरकारी टेलिभिजन नेपाल टिभीका सम्वाददाता लक्ष्मी लुइँटेल पनि बहुदलकै पक्षमा हुनुहुन्थ्यो । सरकारी, अन्य पञ्चायत समर्थक र बीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्नेहरूको चर्चा गर्नु यहाँ सान्दर्भिक नहुने ठानेर चर्चा गरिएन ।

बहुदलको पक्षमा कलम चलाउने भन्दा ठूलो संख्या पञ्चायतसमर्थक पत्रकारहरूको थियो त्यसताका झापामा । पञ्चायतसमर्थक पत्रपत्रिकाले सरकारी विज्ञापन-सुविधा सजिलै पाउने, लोककल्याणकारी सुविधा सहजै पाउने, पत्रिका पनि सेन्सर नहुने ! तर प्रजातन्त्रवादीहरूले सञ्चालन गरेका पत्रपत्रिकाले पञ्चायती सत्ताबाट सेन्सर गराइरहनु पर्ने, सरकारी विज्ञापन र सुविधा नपाउने, पत्रिका बेला-बेलामा प्रतिबन्धित हुने अनि अदालतबाट प्रतिबन्ध फुकुवाको आदेश पाएपछि पुनः संचालन हुने अवस्था थियो ।

०४६ अघि कस्तो थियो प्रविधि ?

२०४६ सालको जन आन्दोलन सफल भएर प्रजातन्त्रको पुनर्वहाली भएपश्चात २०४७ सालमा नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बापन्थीहरू समेत सम्मिलित भएर अन्तरिम सरकार बन्यो । त्यो सरकारले संविधान निर्माण गऱ्यो र २०४८ सालमा आमचुनाव भएपछि नेपाली कांग्रेसमा महामन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारले पत्रपत्रिकालाई प्रतिबन्ध लगाउन नपाइने गरी छापाखाना तथा पत्रपत्रिका सम्बन्धी ऐन जारी गऱ्यो । यो ऐन जारी भएसँगै नेपालमा सञ्चारले उद्योगको रुप लियो र सञ्चारका नयाँ प्रविधिका मेसिन र उपकरणहरू भित्रिए ।

पञ्चायतकालमा त टेलिफोन पनि नगन्य स्थानमा मात्र थियो । भद्रपुर र दमकमा केही लाइन टेलिफोनबाहेक समग्र झापा सञ्चार-सम्पर्कविहीन थियो । पत्रिका छाप्ने मेसिन पनि टेलर मेसिन भन्थ्यो, बिजुली जाँदा हातैले ठेलेर छाप्नु पर्दथ्यो । हातले समाचार लेखेर हुलाकबाट पठाउने वा नजिकै भए साइकल कुदाएर पत्रिकाको कार्यालयमा पुऱ्याउनु पर्दथ्यो । टाढालाई हुलाकबाट खामबन्दी गरेर पठाइन्थ्यो । छापाखाना पनि लेटर प्रेस हुन्थ्यो । सिसाका अक्षरहरू फलामको गेलीमा चाबीवाला स्टीक र सिसा अनि प्लाइउडको लिडमा कम्पोज गरेर लिथोबाट प्रिण्ट निकाली प्रुफ हेरिन्थ्यो । पत्रकारहरूसँग क्यामेरा बिरलै हुन्थ्यो । कसैको वा कार्यक्रमको फोटो छाप्नु पऱ्यो भने भारतको कलकत्ता वा पटना र काठमाडौंमा जिन्क ब्लक बनाउन पठाउनु पर्थ्यो । पछि भारतको सिलगढीमा फोटोको ब्लक बन्न थालेपछि भने आजको कार्यक्रमको ब्लक पर्सीको पत्रिकामा छाप्न सकिने भयो । सरकारी कार्यक्रम र मन्त्रीका फोटोको ब्लक भने सूचना विभागले सबै पत्रपत्रिकालाई हुलाकमार्फत उपलब्ध गराउँदथ्यो । सिसाको अक्षर केही वर्षमा पुरानो भएर लतपत हुन्थ्यो, प्रष्ट बुझिँदैनथ्यो । त्यसपछि त्यो सिसालाई भारतको पटना वा कलकत्ता पुऱ्याएर नयाँ विभिन्न डिजाइन र साइजका अक्षरहरू रिकाष्टिङ गरेर ल्याइन्थ्यो । टेबलमा अक्षर राख्ने काठको कोठैकोठा भएको केशमा राखेर एक-एक अक्षर छानेर कम्पोज गरिन्थ्यो । ठूला पोष्टर पम्प्लेट छाप्नु परेमा काठका ७२ र १०० पोइन्टका अक्षर जोडेर सिसाका क्यारेट, कोटेशन ब्लकमा अड्याएर चाबीले फ्रेममा कसेर मेसिनमा राखेर छापिन्थ्यो । त्यो बेला पत्रिकामा पूर्णकालिन रूपमा काम गर्नेहरूले कम्पोज पनि गर्न आवश्यक थियो, र म पनि आफैं कम्पोजसमेत गर्दथेँ । अहिलेको जस्तो कम्प्युटरको किबोर्डमा कुन अक्षर कहाँ छ भनेर टाइप गरेजस्तो सजिलो थिएन । केशको प्वालमा कुन अक्षर कहाँ छ त्यो सम्झेर एक-एक अक्षरहरू टिपेर स्टिकमा मिलाउनु पर्दथ्यो ।

प्रजातन्त्रको पुनर्वहालीमा नेपाली प्रेसले अतुलनीय सहयोग गरेको भन्दै २०४७ सालमै कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले पत्रपत्रिका छाप्ने कागजमा सहुलियत प्रदान गऱ्यो, नेशनल ट्रेडिङ्ग कर्पोरेशनबाट पत्र पत्रिकाले सहुलियतमा कागज किन्न पाए । नत्र पञ्चायतकालमा पञ्चायतसमर्थकलाई पत्रिकालाई कागज खरिदमा सहुलियतमाथि सुविधा थपिइरहँदा प्रजातन्त्र पक्षधर पत्रिकाहरूले कागजका लागि भारतीय बजारमा निर्भर हुनुपर्दथ्यो । सानो बजार, सदरमुकाम भद्रपुर-चन्द्रगढी, दमक र धुलाबारीमात्र बजार थियो । बिर्तामोड यति ठूलो थिएन । २०४६ सालअघि बिर्तामोडमा एक लाइन टेलिफोन पनि थिएन । २०४६ पछि बाणिज्य संघले एउटा भिएचएफ टेलिफोन सेटबाट पिसिओ संचालनमा ल्यायो । त्यसबेला काठमाडौं फोन गरेको १५ रुपैयाँ मिनट र इलामको ७ रुपियाँ तिर्नु पर्दथ्यो । अमेरिका गरेको ३०० प्रतिमिनटले लिन्थ्यो । आज त नेटबाट घण्टौँ निःशुल्क कुरा गर्न सकिन्छ । आजको पुस्तालाई यो कुरा कथा जस्तो लाग्नसक्छ ।

आजको प्रविधि र पत्रकारिता

मुलतः २०४६ सालको परिवर्तनपछि नेपाली पत्रकारिताले ब्यवसायिक रूप धारण गरेको हो । २०४८ को छापाखाना तथा पत्रपत्रिकासम्बन्धी ऐनले पत्रपत्रिका प्रतिबन्ध नलगाउने प्रत्याभूति गरेपछि कान्तिपुरलगायतका निजी क्षेत्रमा सञ्चारमाध्यमहरू, निजी टेलिभिजन र रेडियो स्टेशनहरू स्थापना भए । अहिले त डिजिटल मिडिया आएको छ । फ्याक्स, टेलिफोन, मोबाइल, कम्प्युटर, ल्यापटप, फोटोकपी, अफसेट प्रेस, डिजिटल कलर प्रेस, हाइ रोजुलेसन डिजिटल क्यामेरा, इमेल, इन्टरनेट, आदिको सुविधाका कारण आज डिजिटल मिडिया सबको हात-हातमा पत्रपत्रिका, रेडियो र टिभी एकैसाथ छ । आज प्रविधिले पत्रकारलाई जति सजिलो बनाएको छ, त्यति नै अल्छि पनि बनाउँदै लगेको छ । छापामाध्यमलाई प्रकाशन प्रविधि र वितरणको केही झण्झटिलो प्रक्रिया पार गर्नु पर्दछ भने रेडियो, टेलिभिजन र अनलाइन पोर्टलहरूलाई छापाको तुलनामा धेरै सजिलो भएको छ, निमेषभरमा संसारभर आफ्नो उत्पादनलाई पठाउन र पढाउन सजिलो भएको छ । पर्याप्त सवारीसाधनको सुविधा नहुँदा पनि हिजाका दिनमा धेरै पत्रकारहरू फिल्डमा खटिन्थे, तर आज एउटाले दुःख गरेर संकलन गरेको सामग्री फुटेज, फोटो वा टेक्स नै कपी गरेर, केही मोडिफाइ गरी अर्कोले पस्किरहेको पाउँछौं । यसले फिल्डमा खट्ने पत्रकारको संख्या घटाएको छ । प्रविधिको प्रयोग गरेर घर-अफिसमै बसेर पनि समाचार संकलन र सम्प्रेषण गर्न सकिने अवस्थाले जति सजिलो बनाएको छ, त्यति नै जनसम्पर्क र धरातलीय यथार्थलाई बुझ्न झन् कठिन हुँदै गएको छ । आफू फिल्डमा नगएपछि अरुले संकलन गरेको सामग्री कति सही या गलत भन्ने कुरा फिल्डमा नजाने पत्रकारले छुट्याउन, खुट्याउन सक्ने कुरै भएन ।

आज ब्यवसायिक पत्रकारिताका नाममा कर्पोरेट हाउसको स्वार्थमा संचारमाध्यम परिचालित र प्रयोग भएको अवस्था छ । हिजोका दिनमा मिसन प्रजातन्त्र, मानवअधिकार, न्याय, समानता र स्वतन्त्रता थियो । आज मिसन पैसाकमाउ, ब्यवसायिक पत्रकारिता भनेको ब्यापार गरेर पैसा कमाउ भनेजस्तै हो भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ । विभिन्न स्वार्थ समूहले विभिन्न उद्योग खोल्ने, त्यही समूहले बैंक, लघुवित्त, इन्सुरेन्स कम्पनी र मिडिया हाउस सञ्चालन गर्ने अनि मिडियाको आडमा ठेक्कापट्टा, बन्द ब्यापार, उद्योग कलकारखानमा गरे/भएका गडबडीलाई ढाकछोप गर्ने । मिडियाको बलमा राजनीतिलाई मलजल गर्ने, जनताले गाँस काटी जोगाएर राखेको बचत रकम स्वार्थ समूहले अनाधिकृत रुपमा अपचलन गरेर मिडियाका नाममा जनताको पैसामा दाइँ गरेका तथ्यहरू एकपछि अर्को गर्दै पटाक्षेप हुँदैगरेको अवस्था छ अहिले । पत्रकारितमाा पैसावाला र पहुँचवालको मात्र बोलवाला हुँदै गएको छ । धनीले सानो कुरा गरेपनि समाचार बन्ने तर गरीबले ठूलै काम गरेपनि, आत्मनिर्भर हुँदै स्वरोजगारी भएर गरिबीबाट मुक्ति पाएपनि त्यो कमै मात्र समाचार बन्ने गलत परिपाटीको विकास गर्न खोजिँदै छ । गरिबले भोग्नु परेका जीवनयापनका समस्यामा कलम चल्न कम भएको छ । गरिबीले देश विकासमा पारेको बाधा र गरिबी निवारणका उपायहरूका विषयमा कसैले आफ्नो वा परिवारका सदस्यको जन्मदिनमा प्रचारका लागि कुनै संस्थालाई प्रदान गरेको ५-१० हजार रकमको समाचारले प्राथमिकता पाइरहेको देखिरहेका छौँ हामी यतिबेला ।

धनीमानीले आफ्ना, बाउ-बाजेका तिथि श्राद्धमा पशुपंक्षीलाई सडेगलेका खानेकुरा वितरण गरेका र केही छिमेकीलाई बाँडेको प्रसादी तथा केही सामान्य दान/दातब्यको समाचार बन्ने तर गरिबले गरेको श्रमदान अनि घरको चुल्हो नबलेर तिनका छोरा-छोरी भोकै सुत्न परेको पीडाको कथाले स्थान नपाउने, गरिबको झुपडीमा बर्खामा पानी चुहिएर अनिदै रात गुजारेको पीडालाई वास्ता नगर्ने, मिटरब्याजी साहु र बैंकरको ठगीमा परेर उठिबास लागेका मानिसहरूको वेदनाले स्थान नपाउने हामी कस्तो पत्रकारिताको अभ्यास गरिरहेका छौँ ? हुनेखानेले गरेका पत्रकार सम्मेलनमा बाँडिने खामको पछि दौडिएको हाम्रो पत्रकारिता कहाँ पुगेर रोकिने हो ? पैसा नहुनेका कार्यक्रममा पत्रकार आउँदै आउँदैनन् । यो संसार धनी पूँजीपति वर्ग र तस्कर माफियाकै भयो । यो लोकतन्त्रमा गरिबको झन् हुर्मत भयो भन्ने जनगुनासो चुलिएकोतर्फ अब पत्रकारका आँखा/कान खुल्नुपर्छ ।

पत्रकारिता एउटा सामान्य पेशा ब्यवसाय मात्र होइन । यो पेशा देश, समाज र जनताको हितकाप्रति संवेदनशील भएर गरिने निष्ठापूर्ण विवेकशील कार्य पनि हो, यसले न्याय, समानता, स्वतन्त्रता र जनहितको पक्षमा आफूलाई उभ्याउनै पर्दछ । अरु पेशामा बुद्धि लगाउँदा हुन्छ, तर पत्रकारितामा विवेक भन्ने कुराले ठूलो महत्व राख्दछ । अरुमा नाफा या फाइदामात्र हेरिन्छ, तर पत्रकारितामा मैले गरेको पत्रकारिताले यो देश, समाज र जनताको उन्नति/प्रगतिमा के योगदान दियो भन्ने कुरालाई ख्याल गर्नु आजको पत्रकारिताको परम कर्तब्य र दायित्व पनि हो । यस कुरालाई आजको दक्ष, प्रशिक्षित र प्रविधिमा निपुण पत्रकार साथीहरूले गम्भिरतापूर्वक ध्यान दिइदिए हुन्थ्यो जस्तो लाग्दछ ।

(लेखक नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व सभापति हुन् ।)