संसारको सबैभन्दा महँगो चित्र साल्वटोर मुंडी

संसारको सबैभन्दा महँगो चित्र साल्वटोर मुंडी


लियोनार्ड दा भिन्ची शायद धेरैले नाम नसुनेको पनि हुन सक्छ, तर मोनालिसाको चित्र भने धेरैले मन पराएको वा देखेका हुन सक्छन् । फ्रान्स घुम्न पुगेका जो कोही पनि मोनालिसाको चित्र हेर्नकै लागि पनि एकपटक लुभ्र म्यूजियम पुगेकै हुन्छन् ।

उनै लियोनार्ड दा भिन्चीको सन् १५१९ को मे २ तारिखका दिन निधन भएको थियो । उनका थोरैमात्र कलाकृति विश्वमा भेटिन्छ । भिन्चीले कतिवटा चित्र कोरे भन्ने यकिन भएको छैन । कतिपय उनले कोरेका चित्र नष्ट भइसकेका छन् भने कतिपय भने अज्ञात नै रहेका छन् । उनका १५ वटा चित्रले नै उनी विश्वप्रख्यात बनेका छन् ।

सन् २०१७ को नवम्वर १५ मा उनको एउटा चित्र लिलामीमा राखियो । यो चित्र एक अज्ञात ब्यक्तिले खरिद गरे । त्यसपछि यो चित्रको चर्चा संसारभर भयो । यो चित्रको मुल्यले संसारको सबैभन्दा महँगो चित्रको रुपमा नाम राख्न सफल भएको थियो ।

यो कलाकृति ६० वर्षअघि केवल ५६ डलरमा बिक्री भएको थियो । ब्रिटिस संग्रहक फ्रान्सिक कुकको संग्रहमा रहेको यो चित्र कुकको नातिले केवल ५६ डलर (४५ पाउण्ड)मा सन् १९५८ मा बिक्री गरेका थिए । सन् २००५ मा १०,००० डलरमा बिक्री भयो । यसमा अमेरिकी लिलाम संस्था क्रिस्टीको संलग्नता थियो ।

यसपछि पनि क्रिस्टिकै सहयोगमा धेरैपटक किनबेच भयो । अन्तमा यस चित्रलाई २०१७ मा आइपुग्दा ४५ करोड ३१ लाख २५ हजार डलर (४६४० करोड रुपैयाँ) मा अज्ञात ब्यक्तिले किने । पछि थाहा भयो यो चित्र साउदीका युवराज मोहम्मद विन सलमानको लागि किनिएको थियो । अझ पछि थाहा भयो कि यो चित्र अबुधावीको संस्कृति तथा पर्यटन विभागका लागि किनिएको हो ।

यो चित्र थियो भिन्चीको साल्वटोर मुंडी । वास्तबमा साल्वटोर मुंडी इसा मसिहको चित्र थियो, र सम्भवतः भिन्चीको अन्तिम चित्र पनि थियो । यो चित्रलाई प्रख्यात चित्र मोनालिसाको पुरुष रुप हो पनि भनिन्छ । दाहिने हातले क्रसको मुद्रा देखाएको छ भने बाँया हातले एउटा शिशाको गोलो क्रिस्टल समाएको छ ।

सन् २०१७ मा बिक्री भएपछि लामो समय अज्ञात रहेको यो चित्र सन २०१९ को जुनमा एक पत्रकारले युवराजको ब्यक्तिगत नौकामा सजाइएको देखे । धेरैको खुलदुलीको विषय बन्यो, आखिर निजी नौका (डुङ्गा)मा सजाउनको लागि साउदी युवराजले यति धेरै मुल्य किन तिरे होलान् ? तर पछि साउदी अरबको संस्कृति विभागले यस चित्रका लागि संग्रहालय नै बनाएर राख्ने घोषणा भयो । तथापि, हालसम्म भने यो प्रदर्शित भइसकेको छैन । सम्भवतः सन् २०२४ को अन्तबाट यस चित्रलाई अबुधावीको एक नयाँ संग्रहालयमा सबैका लागि प्रदर्शनमा राखिनेछ । यसपछि भने यो पनि मोनालिसा राखिएको लुभ्र संग्रहालय जस्तै प्रख्यात हुनेछ ।