सञ्चारमाध्यम जनताका पक्षमा उपयोग हुनुपर्छ : उपसभामुख

सञ्चारमाध्यम जनताका पक्षमा उपयोग हुनुपर्छ : उपसभामुख


उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले सञ्चारमाध्यम जनताका पक्षमा उपयोग हुनुपर्ने बताएका छन् ।

तेह्रथुमको आठराई सङ्क्रान्तिस्थित सामुदायिक रेडियो आठराईको अनलाइन संस्करण काठमाडौँमा शुभारम्भ गर्दै उपसभामुख डा तुम्बाहाम्फेले जनताको चेतना अभिवृद्धि गर्न सञ्चारमाध्यमले सहयोगी भूमिका खेल्ने बताए ।

‘जनताको चेतना वृद्धि गर्न सञ्चारमाध्यमले धेरै मद्दत पुग्छ’, उनले भने, ‘जनतालाई केन्द्रबिन्दुमा राखेर सञ्चारमाध्यमले सूचना दिनुपर्छ ।’ समाजमा नकारात्मक मात्रै होइन सकारात्मक क्रियाकलाप पनि हुने उल्लेख गर्दै उपसभामुख डा तुम्बाहाम्फेले त्यस्ता विषयवस्तुमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरे ।

संसद्ले धेरै कानूनलाई टुङ्गोमा लगिरहेको बताउँदै उपसभामुखले महिला, अल्पसंख्यक र पछाडि पारेको समुदायका पक्षमा कानून निर्माण हुनेमा ढुक्क रहन अपिल गरे । कार्यक्रममा पूर्वराज्यमन्त्री सीता गुरुङ, प्रतिनिधिसभाका सांसद भवानी खापुङलगायतले रेडियोको सफलताको शुभकामना दिए ।