रेखाले ढालिन् विराजलाई

रेखाले ढालिन् विराजलाई


funtimeचलचित्र ‘इगो’ले चल्दैन । अरूलाई गाली गरेर र अरूको कुरा काट्दैमा अनि ठूला कुरा गरेर चलचित्र चल्ने हो भने चलचित्र क्षेत्रमा यस्तै प्रवृत्तिका मानिसको प्रभुत्व हुन्थ्यो होला । तर, त्यस्ताहरूको समय पनि कम हुँदो रहेछ । यस कुराको ज्वलन्त उदाहरण बनेको छ दुई चलचित्र काली र दामिनी ।
नायिका रेखा थापा र उनले बनाएको चलचित्र कालीमाथि एउटा समूह राम्रै्रसँग हात धोएर पछि लाग्यो । तर, त्यो समूहको केही लागेन । अन्तत: दर्शकहरू नै निर्णायक हुन् भन्ने कुराको प्रमाण पेस गर्दै चलचित्र कालीले दामिनीलाई नराम्ररी असफल पारिदिएपछि काली र रेखा थापाविरुद्ध कुर्लने स्वरहरू यतिबेला सुकेका छन् । भोजपुरी भाषाको चलचित्रलाई नेपाली भाषामा डबिङ गर्दै नेपाली भाषाको चलचत्रि भनेर कर पनि नतिरी भ्रमको खेती गर्ने यो चलचित्रले बद्नामी मात्र कमाएन नि योसँग आबद्ध कलाकर्मीहरूको साख पनि गिर्न पुग्यो । नेपाली सिनेमा क्षेत्रमा रामै्र स्थान जमाएका विराज भट्टसमेत बहकिए । दामिनीलाई नेपाल भित्याउने चलचित्र वितरकहरूको लहलहैमा लागेर विराजले नायिका रेखा थापालाई ‘डेट स्क्पायर’ हिरोइनको फिल्म चल्दैन भनेर मिडियामा भनेपछि रेखाका फ्यानहरू विराजसँग रुष्ट भएका थिए । विराजजस्ता चलेका कलाकारले अरूको सिसाको घरमा ढुङ्गा हान्दा आफू पनि सिसाकै घरमा बसेको छु भन्ने कुरा बुझ्नुपर्दथ्यो । तर, भोजवपुरी चलचित्रहरूमा जमिरहेका विराजलाई दामिनीमा वितरकले यति भन्न मात्र नेपाल बोलाएको स्पष्ट भयो । अझ गाँठी कुरा के हो भने विराज पहिले रेखाकै हिम्मत र किस्मतबाट नेपाली सिनेमा क्षेत्रमा राम्रोसँग जमेका हुन् । विगतको धरातल बिर्सिदिँदा विराज पनि प्रयोग भए । ‘डेट स्क्पायर’ कलाकार को भन्ने कुरा त दामिनीको अगाडि दोब्बर बढी व्यापार गर्न सफल कालीको सफलताबाट नै स्पष्ट भएको छ । चलचित्र वितरकको कुरा सुनेर र अरूको भनाइको पछाडि लाग्दा अहिले विराजले नरमाइलो मानिरहेका छन् ।
अर्को कुरा, चलचित्र कालीको समूहले पनि चलचित्र दामिनीको विरोध गरेको थियो । कालीसँग जुधाउने हो भने विशुद्ध रूपमा नेपाली चलचित्र नै ल्याउनुस् भन्ने तर्क उसको थियो । भारतमा फ्लप भएर भीसीडीसमेत निस्किसकेको चलचित्रलाई नेपाली फिल्म भनेर सरकारको आँखामा छारो हालेर दर्शक झुक्याउने काम गर्न नहुने तर्क कालीको थियो । कानुनी रूपमा यो पनि कालीको राम्रो कुरा थियो । सबैले यसै गर्दै जाने हो भने ५०/६० लाख लगानी लगेर किन फिल्म बनाउने ? ५/६ लाखमा अरू भाषाको फिल्म मिल्ने र नेपालीमा डबिङ गरेर देखाए भइगो नि, किन बेकारमा दु:ख गर्ने ? भन्ने कालीको तर्कसँग समग्र चलचित्र उद्योग सहमत थियो । नेपाली सिनेमा उद्योगको हितका लागि चलचित्र कालीले उठाएको आवाजमा दर्शकले पनि साथ दिएपछि व्यावसायिक रूपमा दामनी नराम्ररी पछारिन पुगेको छ । त्यति मात्र होइन कि चलचित्र वितरकले त उचाल्ने र थचार्ने काम गर्छन् तर कलाकारहरूले यो कुरा बुझ्नुपर्ने थियो । विडम्बना विराजले बुझेनन् । आफ्नो काँधमाथि अरूले बन्दुक राखेर पड्काउँदा पनि विराजले चालै पाएनन् । आगामी दिनमा विराजले यो कुरा बुझ्नु अनिवार्य छ । कसैको बहकाइमा नबग्ने, आफ्नै बलबाहुमा चल्ने र सबैप्रति सकारात्मक सोच राख्ने व्यक्ति नै सदैव र सधैँ सफल हुन्छ । यो कुरा सबैलाई चेतना भया । आफू राम्रो छु, म नै सर्वज्ञानी हुँ भनेर देखाउन, चिनाउन वा बुझाउन अरूहरूलाई गाली गर्नु नै पर्दैन ।

मलेसियामा नाच्दै निरुता
सिनेमा यस्तो नसा हो, जुन नसा लागेपछि त्याग्न सकिँदैन । वर्षौंसम्म यो क्षेत्रबाट टाढा रहे तापनि अन्तत: पुरानो माहौल र परिवेशले तानिहाल्छ । यस्तै भयो अझै अविवाहित रहेकी अभिनेत्री निरुता सिंहलाई । निरुताका बारेमा यतिबेला चलचित्रकर्मी र दर्शकहरू पनि अनविज्ञ नै छन् । उनी कहाँ के गर्दै होलिन् ?
पछिल्लो जानकारीअनुसार भने निरुता अहिले भारतमा नै छिन् भने केही समयअगाडि गुपचुप उनी काठमाडौं आएकी थिइन् । हाल भारतमा आफ्नै परिवारका साथ बसिरहेकी निरुता गुपचुप काठमाडौं आउनुको कारण भने एउटा फिल्म महोत्सवमा सहभागी हुनका लागि थियो । सिनेमाको पर्दामा निरुताको अभिनय हेर्न दर्शकले नपाएको धेरै भए तापनि अब उनको नृत्य भने हेर्न पाउने भएका छन् । निरुताले निकै लामो समयपछि प्रस्तुत गर्ने त्यो नृत्य नेपालमा नभएर मलेसियामा हुनेछ । नेपाल चलचित्र प्राविधिक सङ्घले मलेसियामा आयोजना गर्न लागेको फिल्म अवार्डमा आफूले प्रस्तुत गर्न लागेको नृत्यको अभ्यासका लागि सुटुक्क काठमाडौं आएर केही दिन अभ्यास गरेपछि निरुता फेरि भारत छिरिन् । निरुताको नृत्य गर्ने यो चासोले पनि स्पष्ट पार्छ कि सिनेमाको स्वाद निरुतामा अझै मरेको छैन । ‘म टाढा भए तापनि राम्रो प्रस्ताव आएमा फेरि आइहाल्छु नि,’ उनको यो भनाइले पनि गतिलो इच्छालाई प्रस्तुत गरेको छ । केवल नृत्यको अभ्यासका लागि मात्र भारतदेखि काठमाडौं आइपुगेकी निरुताको उमेरले चालीस काटेको नृत्य कस्तो होला ? अब चाँडै मलेसियामा थाहा हुनेछ ।

‘दमिनी भीर’का लेखक र श्रोताबीच संवाद
भारतीय राजदूतावास र बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको तत्वावधानमा सञ्चालन हुँदै आएको संवाद कार्यक्रम ‘कन्भर्सेसन्स’को दशौँ शृङ्खला गत सोमबार नेपाल–भारत पुस्तकालयमा आयोजना भएको छ । उक्त कार्यक्रममा निम्त्याइएका थिए– यस वर्षको मदन पुरस्कार विजेता कृति ‘दमिनी भीर’का लेखक राजन मुकारुङ । कार्यक्रमको सुरुमा सञ्चालक पत्रकार वसन्त बस्नेतले कार्यक्रममा उपस्थित दर्शक–श्रोताहरूलाई मुकारुङको परिचय दिए, दमिनी भीरको केही अंश पढेर सुनाए, अनि संवाद सुरु भयो ।
समीक्षकहरूद्वारा प्रशंसित तथा अल्पसङ्ख्यक समुदायको अधिकारका लागि आवाज उठाउने लेखक मुकारुङले ‘दमिनी भीर’सँग सम्बन्धित आफ्ना अनुभव सुनाउँदै उपन्यासमा प्रस्तुत धेरै पात्र कसरी काल्पनिकभन्दा बढी वास्तविक छन् भन्ने प्रस्ट्याउने प्रयास गरे । यसका अतिरिक्त मुकारुङले आफ्नो लेखकीय जीवन, प्रेरणाका स्रोतहरू तथा चुनौतीबारे बोले । छलफलका सञ्चालक बस्नेतले दमिनी भीरले समीक्षकहरूबाट पाएको प्रशंसा तथा वर्तमानको साहित्यिक सदर्भमा यस्ता उपन्यासको आवश्यकताबारे चर्चा गरेपछि वक्ताहरूले श्रोताबाट उठाइएका जिज्ञासाहरूको जवाफ दिँदै कार्यक्रम समापन भएको थियो ।

घिमिरेलाई छायाछवि पत्रकारिता पुरस्कार
घटना र विचारका स्तम्भकार राजन घिमिरे छायाछवि पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । डेढ दशकभन्दा लामो समयदेखि चलचित्र पत्रकारिता गर्दै आउनुभएका घिमिरेलाई पाँचौँ एचटीभी फिल्मीखबर डी सिने अवार्डको अवसर पारी पुरस्कृत गरिएको हो । सो अवसरमा घिमिरेलाई पाँच हजार पाँच सय ५५ नगद राशिसहित ट्रफी र ताम्रपत्रले सम्मान गरिएको थियो ।
यस्तै यस वर्षदेखि कम्तीमा २५ वर्ष चलचित्रकर्ममा रही यस क्षेत्रको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पु-याउने चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी रजत सम्मान’ प्रदान गर्न थालिएको छ । कलाकार मदनदास श्रेष्ठ र नायिका शर्मिला मल्ललाई पहिलोपटक यस सम्मानबाट सम्मानित गरिएको छ ।