चीनमा आएको भीषण आँधीबेहरीका कारण गैंडा पठाउने कार्यक्रम स्थगित

चीनमा आएको भीषण आँधीबेहरीका कारण गैंडा पठाउने कार्यक्रम स्थगित


नेपालले आज उपहारस्वरूप चीन सरकारलाई पठाउन लागेको दोस्रो चरणको एकसिंगे गैंडा हस्तान्तरणको कार्यक्रम स्थगित भएको छ ।

सम्पूर्ण तयारी पूरा भए पनि गैंडा पुऱ्याइने चीनको गोन्जाओमा अहिले भीषण हावाहुरी चलेका कारण सो कार्यक्रम स्थगित भएको बताइएको छ ।

मंगलबार चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सौराहाबाट दोस्रो चरणका लागि मितिनी र सोल्टी नामका एकजोडी गैंडा चीन पठाउनका लागि काठमाडौं ल्याइपुऱ्याएको छ । काठमाडौं ल्याइएका गैंडा कार्गो बोइङमा राखेर नेपालबाट चीन लैजाने कार्यक्रम तय भएको छ । गोन्जाओमा आएको भीषण आँधीबेहरीका कारण कार्गो बोइङ अवतरण गर्न नसक्ने भएकाले उक्त कार्यक्रम आजलाई स्थगित भएको हो ।

आज चिनियाँ पक्षलाई गैंडा हस्तान्तरण गर्ने कार्यक्रम राखिए पनि त्यसको सट्टा भोलि साँझ ६ बजेका लागि सो कार्यक्रम तय भएको छ । भोलि साँझ वनमन्त्री शक्तिबहादुर बस्नेतले चिनियाँ पक्षलाई गैंडा हस्तान्तरण गर्नेछन् ।

चीनलाई दुई जोडी गैंडा पठाउने सरकारको निर्णयअन्तर्गत गत असार २६ गते पनि डेढ वर्षको भद्र र २ वर्षकी रुपसीलाई पहिलो चरणअन्तर्गत बिदाइ गरिएको थियो ।

यसपटक नेपालबाट लगिएको गैंडालाई चीनको सांघाई वाइल्ड एनिमल पार्कमा राखिनेछ । यसअघि लगिएका रूपसी र भद्रलाई चीन चिमेलाङ पार्कमा राखिएको थियो ।