भोलि भदौ १ गतेदेखि लागू गरिने मुलुकी देवानी र अपराध संहिता सम्बन्धमा ‘भ्रमपूर्ण प्रचार’ नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रहात्मक चेतावनी दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय ध्रम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुलुकी देवानी र मुलुकी अपराध संहिता लागू गर्ने कुरामा निकै भ्रमपूर्ण हल्ला चलाइएको, तर यो त पोहोर साल नै व्यापक छलफल गरेर संसद्ले पारित गरेको कानून हो भन्दै उनले भने– ‘अस्पतालमा उपचार गर्दा बिरामीको मृत्यु भएमा चिकित्सकलाई जन्मकैद हुने भन्ने हल्ला र भ्रम फिँजाउने काम कसैले नगरुन् ।’
नयाँ कानून आउँदा केही केही व्यवस्था नयाँ हुने हुँदा अभ्यासमा केही समय लाग्ने बताउँदै प्रधानमन्त्री ओलीले जनतालाई नकारात्मक असर पर्ने खालको कुनै पनि व्यवस्था संहितामा नभएको जिकीर गरे ।
सरकारले संविधान र कानूनको परिधिभित्र रहेर विकास निर्माण गर्ने, गरीबको जीवनस्तर उकास्ने, सामाजिक सुरक्षामा ध्यान दिने, शान्ति कायम गर्ने तथा राष्ट्रिय एकता कायम गर्ने तरिकाले काम गरिहेको बताउँदै उनले आफ्नो स्वार्थका नाममा देशमा बितण्डा मच्चाउने खालका गतिविधि सञ्चालन नगर्न सबैमा आग्रह गरे ।
आरोप लागेजस्तो सरकार नअल्मलिएको, देश नअल्मलिएको छैन, जनता र युवाशक्ति नअल्मलिएको ठोकुवा गरेका प्रधानमन्त्रीले भने– ‘अल्मलियो कि भन्ने पीर प्रतिपक्षलाई लागेको छ, तर सरकारले राष्ट्र र जनताको हितका लागि निरन्तर काम गरेको छ ।’
पार्टीमा प्रवेश गर्ने कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष ओलीले नवप्रवेशीबाट पार्टीलाई नयाँ उचाइमा पुऱ्याउन थप बल पुग्ने उल्लेख मात्र गरेनन्, नेपाली काङ्ग्रेसतर्फ लक्षित गर्दै भने– ‘उड्दाखेरि मौरीका साथ लागेर उड्यो भने फूलको थुँगामा पुगिन्छ, झिँगाको साथमा लागेर उडियो भने फोहोर डुङ्गुरमा पुगिन्छ, तपाईंहरु उडान भर्नका लागि मौरीको साथमा लाग्नुभएको छ, फूलकै थुङ्गामा पुग्नुहुनेछ ।’ उनले नेपाली काङ्ग्रेसका नेता गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले समेत आफ्नो पार्टीमा टिक्न नसकेको उदाहरण पेस गरेका थिए ।
सो अवसरमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार समृद्ध नेपाल र खुशी नेपाली बनाउने अभियानअनुसार विकास र समृृद्धिको उद्देश्यअनुरुप काम गरिरहेको र नयाँ कार्यकर्ता नेकपामा प्रवेश गर्दा पार्टी अझ बलियो भई थप उत्साह थपिएको अनुभूति आफूलाई भएको बताए । नेकपाका अध्यक्षद्वयले नेपाली काङ्ग्रेसलगायत पार्टीबाट नेकपामा प्रवेश गरेका करिव तीन सय जनालाई टीका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
तस्बिर रासस
प्रतिक्रिया