नेपालले फलामकै चिउरा चपाउनुपर्ने
नोभेम्बर १५ देखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सञ्चालन हुने आईसीसी ट्वान्टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता नेपालका लागि अवसर र चुनौतीका रूपमा देखिएको छ । उक्त प्रतियोगितामा आईसीसीका शीर्ष १६ एसोसिएट टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा नेपालको समूहमा अफगानिस्तान, नेदरल्याण्ड, स्कटल्याण्ड, केन्या, बर्मुडा, डेनमार्क र पपुवान्युगिनी रहेका छन् भने अर्को समूहमा आयोजक यूएई, अमेरिका, इटाली, आयरल्याण्ड, हङकङ, क्यानडा, नामिबिया र युगान्डा परेका छन् । दुवै समूहमा शीर्ष स्थानमा रहने टिम आगामी वर्ष बंगलादेशमा आयोजना हुने ट्वान्टी–२० विश्वकपमा सोझै छनोट हुनेछन् । त्यस्तै दुवै समूहमा शीर्ष पाँच स्थान हासिल गर्ने टोलीबाट चार टोली विश्वकपका लागि छनोट हुनेछन् । नेपालका लागि अवसर र चुनौती दुवै रहेको यो छनोट प्रतियोगितामा नेपालले कस्तो प्रदर्शन गर्ला त्यो प्रतीक्षाको विषय बनेको छ ।
विश्वकप छनोट प्रतियोगिता नेपालका लागि सहज नहुने प्रस्ट रूपमा देखिएको छ । यसर्थमा कि नेपालको समूहमा एकदिवसीय मान्यताप्राप्त चार राष्ट्र परेका छन् । जसबाट पार पाउन नेपालले फलामकै चिउरा चपाउनुपर्ने देखिन्छ । नेदरल्याण्ड, स्कटल्याण्ड, डेनमार्क र अफगानिस्तानको क्रिकेटको स्तर नेपालको भन्दा निकै माथि छ । अझ उनीहरू युरोपका व्यावसायिक क्लबबाट खेल्ने भएकाले अनुभवको आधारमा पनि नेपालको तुलाना उनीहरूसँग कदापि गर्न मिल्दैन । यस्तो अवस्थामा नेपालको चमत्कारीपूर्ण प्रदर्शन नै एक मात्र विकल्प हुनेछ । जसका लागि खेलाडीहरू शारीरिक, मानसिक, सांगठनिक र प्रयोगात्मक रूपमा तयार हुन जरुरी छ । अन्यथा नेपालका लागि योे प्रतियोगिता सहभागितामै सीमित रहने पक्का छ ।
क्रिकेट अनिश्चिताको खेल हो, खेलमा जे पनि हुनसक्छ । क्रिकेटको इतिहासमा महारथीलाई नवप्रवेशी टिमले हराएर सनसनी फैलाएका थुप्रै घटना छन् । नेपाल पनि छनोट प्रतियोगितामा अपराजित रहेर समूह विजेता पनि बन्न सक्छ । तर, त्यसका लागि नेपालको तयारीको मापडण्डलाई अनदेखि र अनसुनी भने कदापि गर्न मिल्दैन । विश्वस्तरको प्रतियोगिताका लागि नेपालले गरेको तयारी कस्तो छ ? त्यसको मूल्याङ्कन र विश्लेषण हुनुपर्छ । खेलाडी, प्रशिक्षक सन्तुष्ट छन् कि छैनन्, उनीहरूको राय के छ ? त्यो कुराको सार्वजनिक रूपमा जानकारी हुनैपर्छ । भोलि सफलता र असफलताको भागीदारको रूपमा एक–अर्कालाई प्रस्तुत गर्नुभन्दा हाम्रो गन्तव्य कहाँसम्मको हो त्यसबारे सम्बन्धित निकाय नेपाल क्रिकेट सङ्घ, खेलाडी र प्रशिक्षक प्रस्ट भइदिए सबैलाई राम्रो हुन्छ । आमखेलप्रेमीलाई विश्वकपमा पुग्ने आधार र विश्वास के हो त्यसलाई प्रस्ट पार्न सक्नुपर्छ । अन्यथा झुटो आश्वासन सम्बन्धित निकाय, खेलाडी र प्रशिक्षकको स्वास्थ्यका लागि हानिकारक नहोला भन्न सकिँदैन ।
विश्वकप छनोट प्रतियोगितालाई दृष्टिगत गरी नेपालले भारत भ्रमणका क्रममा सातवटा अभ्यास खेल खेलेको थियो । त्यहाँ नेपालको प्रदर्शन मिश्रित रह्यो भने अन्तिमका खेल नाम मात्रकै अभ्यास खेल बन्न पुगे । सो कुरा स्वयम् कप्तान पारस खड्काले स्वीकारेका मात्रै छैनन् सार्वजनिक रूपमै यो भ्रमणको विरुद्धमा बोलेका छन् । यसर्थमा भारत भ्रमण क्रिकेट खेलाडीका लागि ‘नहुनु मामाभन्दा कानो मामा’ मात्र भएको प्रस्ट रूपमा थाहा पाउन सकिन्छ । यो आमखेलप्रेमीको आँखामा छारो हाल्न क्यानद्वारा रचिएको गैरजिम्मेवारी नाटक मात्रै थियो । यसको प्रभाव विश्वकप छनोट प्रतियोगितामा देखिए अन्यथा मान्नुपर्ने छैन । त्यसबेला खेलाडी दोषी हुन्छन् कि क्यान त्यो गम्भीर प्रश्न बनेको छ । स्मरण रहोस्, नेपाली टोलीले भारत भ्रमण गर्नुअघि क्यानका अध्यक्ष टंक आङबुहाङले भारतका चर्चित क्लबहरूसँग अभ्यास खेल खेल्ने बताएका थिए । तर, अहिले त्यो कुरा हात्तीको देखाउने दाँतजस्तै भएको छ । यो भ्रमणप्रति खेलाडीहरूले असन्तुष्टि जाहेर गरिसकेका छन् । अब प्रश्न उठछ, विश्वस्तरीय खेलको तयारीका लागि त क्यानले यस्तो हचुवा र गैरजिम्मेवारी कार्य गर्छ भने अन्य प्रतियोगिताका लागि कस्तो प्रयत्न गरेको होला सोझै अनुमान लगाउन सकिन्छ ।
कप्तान पारस खड्काले तयारी निराशाजनक भएको सार्वजनिक अभिव्यक्ति दिएका छन् । खड्काले खेलाडीहरूले दुई महिनादेखि निकै मिहिनेत गरे पनि यो प्रतियोगिताका लागि जुन तरिकाले तयारी गरिनुपर्ने थियो त्यस्तो नभएको खुलासा गरेका छन् । खड्का यो अभिव्यक्तिसँगै यूएईमा नेपालले कस्तो प्रदर्शन गर्नेछ भन्ने कुरामा सीधै अड्कल काट्न सकिन्छ । र पनि खड्काले विश्वकपमा छनोट हुन खेलाडीहरूले दिनरात नभनी प्रशिक्षण गरेको र उनीहरूले आफ्नो सतप्रतिशत योगदान दिनेमा आफू ढुक्क भएको बताएका छन् । ‘हाम्रो लक्ष्य विश्वकप नै हो, तसर्थ सोही किसिमको तयारी पनि गरेका छौँ, हरौँ भाग्यले कति साथ दिन्छ,’ खड्काले भने । त्यस्तै प्रशिक्षक पुदुबु दासानायके पनि यो प्रतियोगितामा नेपाली टोलीको सफलताका लागि त्यति विश्वस्त देखिएका छैनन् । पुदुबुले नेपाली टोली विश्वकपमा सीधै छनोट हुने बताए पनि भित्री कमजोरीबारे कुनै प्रतिक्रिया दिएका छैनन् । १६ वटा टिममध्य ६ वटा विश्वकपमा छनोट हुने भए पनि नेपाल छनोट हुने कुरामा उनले कुनै ठोकुवा र दृढता व्यक्त गर्न सकेका छैनन् । साँचोरूपमा भन्नुपर्दा उनले मौनता साँधेका छन् । जसले गर्दा आगामी विश्वकपमा नेपाल छनोट हुने कुरामा शङ्का उत्पन्न भएको छ ।
क्यानका अध्यक्ष निर्वाचनमा व्यस्त छन्, आईसीसीलाई आर्थिक प्रतिवेदन बुझाउन नसकेर महासचिव अशोक प्याकुरेल गुप्तवास छन् । अन्य पदाधिकारीहरू एक–अर्कालाई दोषारोपण गर्नमै व्यस्त छन् । कोही विदेश जाने चक्करमा छन् भने कोही टोलीसँग जान नपाएको झोंकमा गुटबन्दी गर्न लागेका छन् । क्यानको यस्तो लथालिङ्ग र भताथुङ्ग अवस्थामा नेपाली टोली विश्वकपको सपना देख्दै विश्वको छनोटमा उत्रिँदै छ । यतिबेला उनीहरूको मानसिक अवस्था कस्तो होला, के यस्तो अवस्थामा पनि नेपालले सफलता हासिल गर्न सक्ला, नेपाल विश्वकपमा छनोट होला ? प्रश्नमाथि प्रश्न उठेका छन् । तर, सम्बन्धित निकायका पदाधिकारी भने गाँड कोराकोर गर्दै आफ्नो व्यक्तिगत र राजनीतिक स्वार्थ पूरा गर्न लागिपरेका छन् । क्रिकेटका लागि योभन्दा दुर्भाग्य अरू केही होला र ?
बक्समा राख्ने
अक्षमतासँगै क्यानलाई ८३ लाख जरिवाना
सन् २०१२ को अन्तिम चौमासिक र सन् २०१३ को पहिलो आर्थिक प्रतिवेदन समयमा नबुझाउँदा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसीले) नेपाल क्रिकेट सङ्घ (क्यान)लाई ८३ लाख रुपैयाँ जरिवाना गरेको छ । आईसीसीले दुई महिनाअघि नै प्रतिवेदन बुझाउन क्यानलाई पत्राचार गरे पनि क्यानले आर्थिक प्रतिवेदन बुझाउनुको सट्टा आईसीसी र एसीसीलाई कारबाही रोक्न पत्राचार मात्र गरेको थियो । क्यानले आर्थिक प्रतिवेदन बुझाउन आलटाल र ढिलो गरेपछि आईसीसीले कारबाही गरेको हो ।
नियमअनुसार २०१२ सम्म बुझाउनुपर्नेमा क्यानले चार महिना ढिलो गरी मेमा मात्र पठाएको थियो । २०१३ को पहिलो चौमासिक प्रतिवेदनसमेत बुझाउनुपर्ने बेलामा क्यानले नबुझाएपछि आईसीसीले कारबाही गरेको हो । यो कारबाहीपछि अब आईसीसीले क्यानलाई प्रशासनिक खर्च र विकास खर्चबापत प्रदान गर्दै आएको रकमबाट उक्त रकम कट्टा गर्नेछ । स्मरण रहोस्, आईसीसीले प्रशासनिक खर्च र विकास खर्चबापत क्यानलाई वर्षेनी तीन लाख ३५ हजार डलर प्रदान गर्दै आएको छ ।
गत साता क्यानलाई आईसीसीले कारबाही गरेपछि क्यानका पदाधिकारी एक–अर्कालाई दोषारोपण गरिरहेका छन् । उनीहरूले यो घटनाको सम्पूर्ण दोषी क्यानका महासचिव अशोकनाथ प्याकु¥याल भएको बताएका छन् । समस्या आएपछि समस्याको समाधानका लागि महासचिव प्याकु¥याललाई बोर्ड बैठकले सम्पूर्ण जिम्मेवारी दिएको बताउँदै ती पदाधिकारीहरूले महासचिव लापरबाही र गैरजिम्मेवारीले गर्दा आईसीसीले कारबाही गरेको बताएका छन् । आवरणमा यस्तो चर्चा चले पनि राजनीतिक शक्तिको आडमा क्यानको वागडोर सम्हालेका अध्यक्ष टंक आङबुहाङको अक्षमता नै प्रमुख कारण हो । क्रिकेटको विकासभन्दा पनि व्यक्तिगत र राजनीतिक विकासलाई बढी प्राथमिकता दिँदै आएका आङबुहाङलाई यो कारबाहीले त्यति फरक नपारे पनि क्रिकेटलाई भने निकै फरक पार्ने पक्का छ । भर्खरै वामे सर्न लागेको क्रिकेटमाथि क्यानका पदाधिकारीहरूको देखाएको यो रवैयाले भोलि अन्य सुविधामा पनि कटौती नहोला भन्न सकिँदैन ।
लेखको तल राख्ने
अन्तर्राष्ट्रिय पदक विजेता नगद पुरस्कारसहित सम्मानित
युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई हालै नगद पुरस्कारसहित सम्मान गरेको छ । सो अवसरमा तीन एसियाली र एक विश्व च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई पुरस्कृत गरिएको थियो । त्यसमा करातेका १८, ट्रायथलनका २ र पारा तेक्वान्दोका १ गरी २१ खेलाडी रहेका थिए । करातेका नौ दोहोरो पदक विजेता खेलाडीसहित पुरस्कृत हुने कुल खेलाडी सङ्ख्या भने ३० रह्यो । कुल ४४ लाख ३० हजार नगद पुरस्कार वितरण गरिएको थियो ।
राखेपले युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष सिफारिस गरेको पुरस्कार राशि वितरण गरिएको हो । बाँँडिएको नगद पुरस्कारमा कुनै कर काटिएको छैन । चालू आर्थिक वर्षको बजेटमा पाँच लाखसम्मको पुरस्कार रकममा कर नलाग्ने व्यवस्था छ । त्रिपुरेश्वरस्थित राखेपको ओलम्पियन सेमी कभर्डहलमा युवा तथा खेलकुद मन्त्रालय र राखेपद्वारा संयुक्त आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठ, राखेप सदस्यसचिव युवराज लामा, कोषाध्यक्ष इन्द्रबहादुर थिङ, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव शान्तिराम शर्मा, पदक जित्ने खेल सङ्घका पदाधिकारीले खेलाडीलाई टीका, फूलमाला र खादा लगाइदिनुका साथै प्रशंसापत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।
करातेका सबै खेलाडी सन् २०१२ को डिसेम्बर १२ देखि १६ तारिखसम्म हङकङमा भएको १३औँ एसियाली प्यासिफिक कराते च्याम्पियनसिपको एकल र समूहगत विधामा पदक जितेका खेलाडी हुन् । करातेका सुनिल लामाले सर्वाधिक पाँच लाख ६५ हजार नगद पुरस्कार प्राप्त गरे । सुनिलले पुरुषको ५५ केजीमा स्वर्ण जितेबापत पाँच लाख र टिम कुमुतेमा रजतका लागि ६५ हजार नगद पाएका थिए । दोस्रो सर्वाधिक नगद पुरस्कार पाउनेमा पनि करातेकै गंगा अधिकारी रहिन् । गंगाले महिलाको ६८ केजीमाथि स्वर्णका लागि पाँच लाख र टिम कुमुतेमा कास्यका लागि ३५ हजार नगद पाएकी थिइन् ।
विनोद महर्जनले पुरुषको ६० केजीमा रजतका लागि दुई लाख ५० हजार र टिम कुमुतेमा पनि रजतकै लागि ६५ हजार प्राप्त गरे । महिलाको ५५ केजीमा रजत र टिम कुमुतेमा कास्य जितेकी रोजी नगरकोटीले क्रमश: दुई लाख ५० हजार र ३५ हजार नगद हात पारिन् । महिलाको ६१ केजीमा रजत जितेकी सपना लामाले दुई लाख ५० हजार नगद बुझिन् । टिम कुमुतेमा कास्य जितेबापत सपनाले थप ३५ हजार पनि पाएकी थिइन् । पुरुषको टिम कुमुतेमा रजत जितेका अन्यमा मुकुन्द महर्जन, पर्शुराम बास्तोला, भीमबहादुर तामाङ, मण्डेकाजी श्रेष्ठ र गणेशबहादुर थिङले जनही ६५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए । टिम कातामा कास्य पनि जितेकाले मण्डे र गणेशलाई छुट्टै ३५ हजारका दरले नगद पुरस्कार दिइएको थियो । त्यस्तै ८४ केजीमाथि कास्य जितेका भीमले एक लाख २५ हजार नगद प्राप्त गरेका थिए ।
पुरुषको ८४ केजीमुनि कास्य जितेका दिगम्बर पन्त, महिलाको ५० केजीमा कास्य जितेकी अनु अधिकारी तथा महिलाको ६१ केजीमाथि कास्य हात पारेकी कल्पना बस्नेतले समान एक लाख २५ हजार नगद पुरस्कार हासिल गरेका थिए । टिम कुमुतेको कास्यका लागि अनुलाई ३५ हजार पनि दिइएको थियो । महिला एकल काताकी कास्य विजेता चञ्चला दनुवारले एक लाख २५ हजार तथा महिला टिम काताका कास्य विजेता संगीता डङ्गोल, सुमन लामा र सुभद्रा श्रेष्ठले समान ३५ हजार नगद हात पारे । पुरुष टिम काताका कास्य विजेता केदारबहादुर सिम्खडाले पनि ३५ हजार पाएका थिए ।
त्यसैगरी, सन् २०१२ को मे १८ देखि १९ तारिखमा चीनमा भएको आईटीयू ट्रेमियम एसियन कप ट्रायथलनका स्वर्णधारी टीकाराम थापा तथा सन् २०१३ को अप्रिल २६ देखि २९ तारिखसम्म फिलिपिन्समा भएको सुविक बे एएसटीसी एसियन ट्रायथलन च्याम्पियनसिपका स्वर्ण विजेता राजीव गुरुङ समान ५–५ लाख नगदबाट पुरस्कृत भए । दुवैले २०–२९ उमेर समूहमा स्वर्ण जितेका थिए । सो अवसरमा स्विट्जरल्यान्डमा सन् २०१३ को जुन ८ तारिखमा भएको चौथो डब्लूटीएफ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपको ए–८ समूहअन्तर्गत पुरुषको ६८ केजीमा कास्य जितेका यादव कुँवरलाई २ लाख ५० हजार नगद पुरस्कार प्रदान गरिएको थियो
पुरस्कार वितरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले खेलाडीलाई आश देखाएर निराश पार्न नहुने बताउँदै जुन कुरा गर्न सकिन्छ त्यसको मात्र घोषणा गर्नुपर्ने बताए । सदस्यसचिव लामाले खेलाडीले थप मिहिनेत गर्दै जानुपर्ने बताउँदै खेलाडीले प्राप्त गरेको सफलताले उचित प्रतिफल पाउने बताए । त्यस्तै नेपाल तेक्वान्दो सङ्घका महासचिव तथा मुख्य प्रशिक्षक दीपराज गुरुङले विगतमा कति पुरस्कार बद्नाम भएको परिप्रेक्ष्यमा समयमै प्रदान गरिएको यो पुरस्कारले खेलाडीहरूको हौसला र मनोबल बढाउनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । कराते खेलाडी गंगाले सम्मानित भएकोमा आफूलाई भाग्यमानी ठानेको बताउँदै यस्तो सम्मानले अन्य खेलाडीलाई पनि प्रोत्साहन मिल्ने धारणा राखिन् । अर्का पुरस्कृत ट्रायथलन खेलाडी राजीवले पुरस्कारले खेलेरै पनि जीवनयापन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताएका थिए ।
राष्ट्रिय घोडचढीमा आर्मीको वर्चश्व
नेपाल इक्वेस्ट्रियन सङ्घद्वारा आयोजित इतिहाद दोस्रो राष्ट्रिय घोडचढी प्रतियोगिताका काठमाडौंको टुडिखेलमा सम्पन्न भएको छ । नेपालमा भर्खरै बामे सर्न लागेको घोडचडी खेलको यो दोस्रो राष्ट्रिय प्रतियोगिता हो । घोडचढी सङ्घले आयोजना गरे पनि सम्पूर्ण तारतम्य सेनाले मिलाएको यो प्रतियोगिता सेनाकै छत्रछायामा सम्पन्न भएको थियो । टुँडिखेलको खुला चौरमा आयोजित यो प्रतियोगितामा एकजना मात्र बाहिरको खेलाडीले सहभागिता जनाएका थिए । अन्य सम्पूर्ण खेलाडी सेनाका थिए । सेनाको सहयोगबिना आयोजना गर्न नसकिने यो प्रतियोगितामा सेनाका घोडा र घोडचढीले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रतियोगिताको शुभारम्भ प्रधानसेनापति गौरवशमशेर राणाले गरेका थिए ।
इतिहाद दोस्रो राष्ट्रिय घोडचढी प्रतियोगिताको हाइजम्प (पुसेन्स) मा जगदीश घिसिङले स्वर्ण जितेका थिए । टुँडिखेलमा भएको प्रतियोगितामा रामहरि खड्का दोस्रो र रवि केसी तेस्रो भएका थिए । शीर्ष तीन स्थान हात पार्नेले क्रमश: ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पारेका थिए । प्रतियोगिताको टेन्ट पेगिङमा रुद्रबहादुर कार्की पहिलो, सुनील केसी दोस्रो र गोविन्द खड्का तेस्रो स्थानमा रहेका थिए । सो जम्पमा रामहरि खड्का, जगदीश घिसिङ र समीर थापाले क्रमश: शीर्ष तीन स्थान हात पारेका थिए ।
यसैगरी टेन्ट पेगिङ र सो जम्पका विजेताले समान नगद पुरस्कार प्राप्त गरेका थिए । पहिलोले २० हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार नगद पुरस्कार प्राप्त गरे । तीनै स्पर्धामा शीर्ष तीन स्थानमा रहने खेलाडी नेपाली सेनाका हुन् । त्यस्तै हर्स बल सो, फाउल्ट एन्ड आउट सो (महिला) तथा चिल्ड्रेन सोलाई प्रदर्शनी खेलका रूपमा राखिएको थियो । विजेतालाई आयोजकका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा र सेनाप्रमुख गौरवशमशेर जंगबहादुर राणाले पुरस्कृत गरेका थिए । प्रतियोगिताको पहिलो संस्करण गत चैतमा पोखरामा भएको थियो ।
सो अवसरमा घोडचढी सङ्घका अध्यक्ष तथा राखेपका सदस्यसचिव युवराज लामाले यो खेल सङ्घ मानवको प्राचीन सम्बन्ध रहेको जानकारी गराएका थिए । लामाले घोडचरी खेलको इतिहास पुरानो भए पनि नेपालमा भने यो खेल गत वर्षदेखि मात्र खेलको रूपमा विकास भइरहेको बताएका थिए । लामाले घोडचढी खेल ओलम्पिक खेल भएको स्मरण गराउँदै यसको विकासलाई सङ्घले सेनासँग हातेहालो गरेर अगाडि बढिरहेको जानकारी गराएका थिए । सो अवसरमा लामाले यो खेल जहीँतहीँ सञ्चालन गर्न नसकिने भएकाले आगामी दिनमा पनि सेनासँगै सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
बक्सिङलाई ब्रिटिस कलेजको साथ
नेपाल बक्सिङ सङ्घले पुस ९ देखि १३ गतेसम्म आयोजना गर्ने २५औँ पुरुष तथा चौथो महिला राष्ट्रिय बक्सिङ प्रतियोगितालाई ब्रिटिस कलेजले साथ दिने भएको छ । हालै ब्रिटिस कलेजको सभाकक्षमा नेपाल बक्सिङ सङ्घका तर्फबाट महासचिव दीपक गुरुङ र ब्रिटिस कलेजका तर्फबाट डाइरेक्टर नरेन्द्र कँडेलले प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतापत्रअनुसार कलेजले प्रतियोगिताका लागि नगद तीन लाखको सहयोग गर्ने भएको छ ।
उक्त कार्यक्रममा बोल्दै कलेजका डाइरेक्टर कँडेलले नेपालमै बेलायती मापदण्डअनुरूप सोही शैली र स्तरको शिक्षा प्रदान गरी स्वदेशमै विदेशी डिग्री हासिल गर्ने चाहनालाई पूरा गर्ने बताए । उनले नेपालबाट प्राप्त सो डिग्री विश्वको कुनै पनि कुनामा बिक्नेमा दुई मत नभएको बताएका थिए । उनले शिक्षा क्षेत्रका साथै खेलकुद क्षेत्रमा पनि हात हालेको भन्दै बास्केटबल, फुटबलमा प्रायोजना गर्दै आइरहेकोमा अन्तर्राष्ट्रिय पदक हासिल गर्न सफल खेल बक्सिङमा पनि हात हालेको बताए । सम्झौता एक प्रतियोगिताका लागि मात्र भए तापनि प्रतियोगिताको स्तर र माइलेजलाई मध्यनजर गर्दै अर्को वर्षका लागि पनि सम्झौता गर्न सक्ने बताएका थिए । सङ्घका अध्यक्ष राजीव श्रेष्ठले बक्सिङलाई प्रायोजन गरेकोमा कलेजप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरता रहने विश्वास व्यक्त गरेका थिए ।
जुनियर खुला टेनिस मङ्सिर पहिलो साता
जुनियर टेनिस खेलाडीका अभिभावक मिलेर मङ्सिर पहिलो साता प्रथम नेपाल जुनियर खुला लनटेनिस प्रतियोगिता आयोजना गर्ने भएका छन् । प्रतियोगिता सातदोबाटोस्थित टेनिस कोर्टमा मङ्सिर १ देखि ८ गतेसम्म सञ्चालन हुने आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन्छ । प्रतियोगितामा यू–८, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेरसमूहमा ब्वाइज/गल्र्सको सिंगल्स हुनेछ । यू–१८ मा भने ब्वाइज र गल्र्सको डबल्समा पनि प्रतिस्पर्धा हुने आयोजक समितिका संयोजक अजय विष्टले बताए । कुल १४ स्वर्णका लागि करिब तीन सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकको अनुमान छ । सबै विधामा नगद पुरस्कारको व्यवस्था छ । कुल नगद पुरस्कार राशि ९६ हजार रहेको छ ।
आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट तीन लाख ५० हजार रहेको छ । अखिल नेपाल लनटेनिस सङ्घको सहयोगमा हुन लागेको प्रतियोगितालाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गर्नेछ । यो प्रतियोगितालाई निकट भविष्यमा अन्तर्राष्ट्रिय स्वरूप दिइने बताइएको छ । पत्रकार सम्मेलनमा लनटेनिस सङ्घका अध्यक्ष मनोज राणा र उपाध्यक्ष ज्योति राणालगायतको उपस्थिति रहेको थियो ।
मुकेश र जनक सम्मानित
पूर्वअन्तर्राष्ट्रिय कराते खेलाडी एवम् एनआरएन आईसीसी, मकाउका सदस्य मुकेश बरुवाल र यूएस ओपन करातेका कास्य विजेता जनकसिंह खड्का सम्मानित भएका छन् । नेपाल कराते महासङ्घका अध्यक्ष दावा गुरुङले दुवैलाई खादा लगाइदिनुका साथै मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए । कार्यक्रममा अध्यक्ष गुरुङले खेलाडीहरू विदेश पलायन हुनु दु:खद् पक्ष भए पनि उनीहरू सक्षम भएको देख्दा खुसी लागेको बताए । उनले सच्चा खेलाडीले आफ्नो देशलाई कहिले बिर्सन नहुने धारणा व्यक्त गरेका थिए । सम्मानित मुकेशले महासङ्घलाई अत्याधुनिक ‘डमी प्याड’ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
पर्वतारोहणको वार्षिक साधारणसभा
सन्तोषी र दिपेश सदस्यमा मनोनीत पर्वतारोहण तथा रक क्लाइम्बिङ स्पोर्टस् एसोसिएसन (एमआरसीए) नेपालको तेस्रो वार्षिक साधारणसभा हालै सम्पन्न भएको छ । बालकुमारीस्थित माइलस्टोन कलेजमा सम्पन्न साधारणसभाले महासचिव मेघराज पौडेलले पेस गरेको भावी कार्यक्रम, वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रमेश थापाले पेस गरेको आर्थिक प्रतिवेदन पास गरेको थियो । महासचिव पौडेलले विधान संशोधनका लागि विशेष प्रस्ताव पेस गरेका थिए । केन्द्रीय कार्यसमितिको विधानमा उल्लिखित परिच्छेद ३ को दफा ३ ले व्यवस्था गरेको २५ सदस्य कार्यसमितिलाई परिमार्जित गरी १७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति बनाउने निर्णय गरेको छ । जसअनुसार दुई सदस्य सन्तोषी मानन्धर र दिपेश केसीलाई साधारणसभाले मनोनीतसमेत गरेको छ ।
भावी कार्यक्रममा महासचिव पौडेलले किट्सी स्पोर्टस् क्लाइम्बिङ, अन्तरस्कुल क्लाइम्बिङ, अन्तरकलेज क्लाइम्बिङ, स्पोर्टस् क्लाइम्बिङ लिग, व्यावसायिक स्पोर्टस् क्लाइङ, साताँै राष्ट्रिय खुला स्पोर्टस् क्लाइम्ब्ङि, रुटसेटिङ तालिम, नेपालमा रहेका कूटनीतिक नियोगबीच सञ्चालन गरिने रकक्लाइबिङलगायतका खेललाई विशेष जोड दिएको जानकारी गराएका थिए । त्यस्तै कोषाध्यक्ष थापाले आगामी वर्षका लागि ३२ लाख ४६ हजारको अनुमानित बजेट पेस गरेका थिए । ११ जिल्लाका प्रतिनिधिको सहभागिता रहेको साधारणसभाको राखेप खेलकुद विकास विभागका प्रमुख प्रकाशचन्द्र घिमिरेले उद्घाटन गरेका थिए । सो अवसरमा पर्वतीय खेलकुद महासङ्घका महासचिव गोविन्द भट्टराई, नेपाल रग्वी सङ्घका महासचिव चेतनराज गिरीलगायतले शुभकामना दिएका थिए ।
बादोरियो खेलाडीलाई ट्रयाकसुट
नेपाल बादोरियो कराते डो–सङ्घले आफ्ना खेलाडीहरूलाई ट्रयाकसुट वितरण गरेको छ । श्रीलङ्काको रत्नपुरामा नोभेम्बर १६ र १७ तारिखमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाने टिमलाई ट्रयाकसुट वितरण गरिएको हो । प्रतियोगितामा सहभागी हुने ११ सदस्यीय नेपाली टिम श्रीलंका जाने कार्यक्रम छ । प्रतियोगितामा २० राष्ट्रले भाग लिने जानकारी नेपाल बादोरियो कराते सङ्घका प्रमुख प्रशिक्षक हरिशरण केसीले गराए । त्यस्तै प्रतियोगिताकै दौरान दक्षिण एसियाली बादोरियो करातेको विशेष साधारणसभा आयोजना हुने जानकारीसमेत केसीले गराएका थिए । सङ्घका अध्यक्ष श्याम खड्काले काठमाडौंस्थित महाराजगन्जमा प्रशिक्षणका दौरान खेलाडीलाई ट्रयाकसुट वितरण गर्नुभएको हो ।
कार्यक्रममा सङ्घका उपाध्यक्ष तजेन्द्र गुरुङ, सदस्य रमेश कार्की लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया