इन्द्रेणी

इन्द्रेणी


indreniसाथी अब म नेता हुन् कम्मर कस्छु– केशवप्रसाद मैनाली

पढ्न नआएर के भो र, कुराले आकाश–पाताल जोड्न सक्छु
लाटा–सोझालाई झुक्याएर अघिपछि लगाउन सक्छु
साँचोलाई झुटो र झुटोलाई साँचो बनाउन सक्छु
त्यसैले साथी म अब नेता बन्न कम्मर कस्छु ।

मौका परे जनताको टाउकोमा टेक्न सक्छु
त्यस्तै परिस्थिति आए पैताला चाट्न सक्छु
माग्दा नपाए लुट्न सक्छु, मायाले नभए चुट्न सक्छु
राष्ट्रियताको गीत गाउँदै विदेशी प्रभुको पाउमा झुक्न सक्छु
त्यसैले साथी म अब नेता बन्न कम्मर कस्छु ।

भोका जनता नदेखे पनि घुम्ने मेच देख्न सक्छु
सदाचारलाई बलि दिई भ्रष्टाचार गर्न सक्छु
माथिको इसारामा भुरुङझैँ घुम्न सक्छु
त्यसैले साथी म अब नेता बन्न कम्मर कस्छु ।

झुटो आश्वासनका पोकाहरू जनतालाई बाँड्न सक्छु
अनेक जालझेल अपराध गरेर विरोधीलाई फाँड्न सक्छु
कुरैकुरामा विकासको बिउ जनतामाझ छर्न सक्छु
त्यसैले साथी म अब नेता बन्न कम्मर कस्छु ।

भित्रको कालो सफेद कपडाले छोपेर भलाद्मी बन्न सक्छु
नातावाद–कृपावाद जगाएर आफन्तलाई तार्न सक्छु
अकुत सम्पत्ति जोडेर अख्तियारको आँखा छल्न सक्छु
त्यसैले त साथी म अब नेता बन्न कम्मर कस्छु

जनतालाई मीठो सपना बेची भोट कुम्ल्याउन सक्छु
चुनाव जितेपछि अर्को चुनावसम्म मोजमस्तीमा डुब्न सक्छु
फेरि मौकामा जनताको अगाडि, रोइकराई माफी माग्न सक्छु
यिनै योग्यताको आधारले साथी म नेता बन्न कम्मर कस्छु ।
– सर्लाही, हरिवन

निष्ठा बिक्रीमा छ – हरिप्रसाद अधिकारी

पसल थापेर निष्ठाको
लामबद्ध मान्छेहरू
ग्राहक पर्खिरहेका छन्,
थुप्रै आस्था र निष्ठाहरू
बिक्री भइसकेका छन्
अरू धेरै निष्ठाको
मोलतोल भइरहेको छ,
महँगो मूल्य तोक्नेले
पद साट्न चाहेको छ
पैसामा बेच्न चाहेको छ
सस्ताखाले निष्ठाहरू
एकटीका अबिरमा साटिएका छन्
र हात मिलाउनुसँग भजिएका छन्
धमाधम निष्ठाका खातहरू
रित्तिँदै र सकिँदै छन्
निष्ठा गहना होला यसमा सजिएको मान्छे
कस्तो अलौकिक लाग्थ्यो
प्रत्येक शब्द र कामहरू
कति सबल लाग्थे मलाई,
तर आज
निष्ठा रित्तिँदा त्यही मान्छे
कस्तो कुरूप देखिएको
निष्ठा बेच्नेहरूको लाममा
स्वयम्भूका दुई आँखा पनि
टिठ्याइरहेका छन्
कतै निष्ठाका साना चोइटाहरू
खोजिरहेका हुन्
अथवा, आफ्नै बुद्धत्व बेच्नलाई
ग्राहक पर्खिरहेका हुन्
ठम्याउनै सक्तिनँ
तर पनि
निष्ठा महोत्सव
राम्रै चलेको छ
धेरै क्रेता र विक्रेता
मोलमोलाइमा छन्
हो, यहाँ निष्ठा बिक्रीमा छ
बिक्रीमा छ निष्ठा ।
– महारानीझोडा–१, झापा