नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच वर्षभत्रि समृद्ध नेपाल बनाउने अभियानलाई ध्यानमा राखेर सरकार अघि बढेको बताए । उनले भने, “हामीलाई चुनाव जित्नु र हार्नुभन्दा पनि देश र जनतालाई समृद्ध बनाउने लक्ष्यका साथ अघि बढेको पाँच वर्षभित्र जनताको समृद्धको सपना पूरा गर्ने छौं ।”
प्रदेश नं २ अन्य प्रदेशभन्दा उत्कृष्ट र समृद्ध प्रदेश नभएसम्म मुलुक सम्बद्ध हुन नसक्ने जिकिर गर्नुहुँदै उनले प्रदेश नं २ अर्थात् मधेशमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायत सबै कुरा समेटेर विशेष ‘प्याकेज’ ल्याइएको स्पष्ट पारे ।
मधेशकै लाइफलाइनका रुपमा रहेको हुलाकी राजमार्गको स्तरोन्नतिको योजना आफू प्रधानमन्त्री भएकै बेलामा अघि बढेको जानकारी दिदै अब कुनै पनि बहानामा हुलाकी राजमार्गको काम नरोकिने दाबी गरे ।
आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने सहमतिअनुरुप सङ्घीय समाजवादी फोरम सरकारमा आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले उक्त सहमतिमा टेकेर राजपा पनि सरकारमा सहभागी भई देशलाई समृद्ध बनाउन अभियानमा जुट्नुपर्ने बताए ।
सरकारमा सहभागिताबारे राजपाका नेतासँग निरन्तर छलफल भइरहेकाले जानकारी दिँदै उनले राजपा पनि सरकारमा सहभागी भई समृद्धिको अभियानमा जुट्ने विश्वाससमेत व्यक्त गरे ।
तराई–मधेश, पहाड र हिमाललाई जोड्ने तथा नयाँ सन्दर्भमा त्यसलाई सुदृढ गरी राजनीतिक उद्देश्यका निम्ति लामबद्ध हुने र देश निर्माणको महान् अभियानमा फेरि एकचोटी सबैलाई एकताबद्ध गर्ने आजको ऐतिहासिक आवश्यकता रहेकोसमेत अध्यक्ष प्रचण्डले बताए ।
वर्तमान सरकार जनताप्रति समर्पित भएको र जनतालाई विश्वास दिलाउने ऐतिहासिक जिम्मेवारीमा रहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, “जनताको आकाङ्क्षा सम्बोधन गर्न सरकारका कामकारबाहीे सच्याउने आँट गर्नुपर्छ ।”
धेरै अप्ठ्यारा र जटिलताका बीचबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको, कार्यान्वयनमा आएको संविधानले समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गरेको उल्लेख गर्दै उहाँले आर्थिक विकास र समृद्धितर्फ मुलुक अघि बढाउने उद्देश्यले वर्तमान सरकार गठन गरिएको बताए ।
सभामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले समृद्धिको मुद्दालाई कार्यान्वयन गर्न प्रतिवद्ध भएर अघि बढेको दावी गरे ।
प्रतिक्रिया