करवृद्धिविरुद्ध काङ्ग्रेसको प्रदर्शन, उपमहानगरपालिका भन्छ- ‘वृद्धि गरिएको छैन’

करवृद्धिविरुद्ध काङ्ग्रेसको प्रदर्शन, उपमहानगरपालिका भन्छ- ‘वृद्धि गरिएको छैन’


– चन्द्रकान्त खनाल, रुपन्देही

नेपाली काङ्ग्रेस रुपन्देहीले केन्द्र, प्रदेश र स्थानीय तहमा बढाइएको करको विरोधमा सडकमा उत्रिएको छ । सडकमा विरोध प्रदर्शन गर्दै काङ्ग्रेसले बढाएको कर फिर्ता गर्न माग गरेको हो । बुटवलमा जुलुस प्रर्दशन गर्दै तत्काल स्थानीय निकायले बढाएको कर फिर्ता नगरे कडा आन्दोलन गर्ने काङ्ग्रेस नेताहरूले चेतावनी दिएका छन् ।

बुटवलको अस्पताल लाइनमा शुक्रबार भेला भएका काङ्ग्रेस नेता कार्यकर्ता र शुभेच्छुकहरु नारा जुलुस गर्दै बुटवल उपमहानगरपालिका पुगेका थिए । उपमहानगरपालिकाको गेटमा केहीबेर प्रर्दशन गरेपछि नेताहरूले उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई कार्यकक्षमा गएर ज्ञापन पत्र बुझाए ।

विरोधसभामा उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरेन्द्र श्रेष्ठले जनप्रतिनिधिलाई तलब–भत्ता खुवाउन र सुविधा बढाउन कर बढाएको आरोप लगाए । उनले जनप्रतिनिधिको नाममा कर्मचारी भएर तलब खानु गलत भएको तर्क पनि गरे । उद्योगी ब्यापारीलाई ढाड सेक्ने तरिकाले कर बढाएकोले तत्काल फिर्ता गर्नुपर्ने उनको माग थियो ।

नगरप्रमुख सुवेदीलाई ज्ञापनपत्र बुझाउदै काङ्ग्रेस नगर सभापति खेलराज पाण्डेले बहुमतको नाममा सहमति, सहकार्य र सरसल्लाहको सस्कृति त्यागेर उपमहानगरपालिका एकलौटी रुपमा अघि बढेको र जनताले थेग्नै नसक्ने गरी कर बढाएकाले बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । उनले नगरपालिकाले कर सम्बन्धमा गरेका निर्णय र करपुस्तिका समेत सार्वजनिक नगरी वेवसाइडमा छ भनि गैरजिम्मेवार जवाफ दिने गरेको गुनासो गरे ।

३५ सय प्रतिशतसम्म कर वृद्धि भएको उल्लेख गर्दै पाण्डेले तत्काल समयसापेक्ष १० प्रतिशत कर बृद्धि गरी बाकीँको निर्णय फिर्ता लिन आग्रह गरे । माग सम्बोधन नगरे आन्दोलनका थप कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी उनले दिए ।