सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठन जनसांस्कृतिक महासङ्घ नेपालको मूल नेतृत्वबाहेक सबै घटकको नेतृत्व टुङ्गिएको सम्बद्ध पक्षले जानकारी दिएको छ । महासङ्घअन्तर्गतका सात घटकको नेतृत्व टुङ्गिए पनि महासङ्घको नेतृत्वमा भने सहमति हुन नसकेको हो ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच गत जेठ ३ गते पार्टी एकता भएपछि तीन महीनाभित्र जनवर्गीय सङ्गठन एकता गर्ने भनिएको थियो ।
कार्यदलका सदस्य सरल सहयात्रीले जानकारी दिएअनुसार एकताअघि नै दुईवटै सङ्गठनको नाम एउटै भएकाले नाममा विवाद रहेन । महासङ्घको नेतृत्वमा खगेन्द्र राई र सरल सहयात्री ररहेका छन् भने राईले नेतृत्व चयन गर्ने जिम्मा पार्टीलाई दिइएको बताए ।
जनसांस्कृतिककर्मी सङ्घका अध्यक्षमा कर्णबहादुर परियार, जनसांस्कृतिक लेखक सङ्घका अध्यक्षमा राम विनय, चलचित्रकर्मी सङ्घ नेपालका अध्यक्षमा दिनेश डिसी र ललितकला परिषद्का अध्यक्षमा देवेन्द्र थुम्केली सर्वसम्मत चयन भएका छन् । लोकबाजा तथा बहुभाषा परिषद्का अध्यक्षमा डा. मधुसूदन गिरी, समाज अध्ययन परिषद्का अध्यक्षमा डा. भिक्टर प्रधान र जननाट्यकर्मी सङ्घ नेपालका अध्यक्षमा पुष्प आचार्य रहेका छन् ।
यसैगरी अखिल नेपाल महिला सङ्घ र अनेमसङ्घ (क्रान्तिकारी)बीचको एकतामा पनि नेतृत्व, नाम र केन्द्रीय कमिटीमा विवाद देखिएको छ । कार्यदलका सदस्य गोमा देवकोटाले तीन उपसमिति गठन गरेर काम भइरहेको भन्दै नेतृत्व र सङ्गठनका नाममा सहमति नभएको जानकारी दिइन् । उनकाअनुसार चाँडै सहमति गरेर प्रतिवेदन बुझाइने छ ।
एकताका लागि गठीत कार्यदलले साउन मसान्तसम्म एकताको प्रतिवेदन पार्टीलाई बुझाउने भने तापनि अहिलेसम्म केहीले मात्र बुझाएका छन् ।
प्रतिक्रिया