पाँच वर्षभित्र सुकुम्बासी समस्या समाधान गरिने : ओली

पाँच वर्षभित्र सुकुम्बासी समस्या समाधान गरिने : ओली


प्रधानमन्त्री केपी ओलीको कुरा पत्याउने हो भने अबको पाँच वर्षभित्र मुलुकले सुकुम्बासी समस्याबाट मुक्ति पाउनेछ । प्रधानमन्त्री ओलीले आज मोरङको पथरी शनिश्चरे–१ मा नेकपा पथरी शनिश्चरे नगरसमितिद्वारा आयोजित बधाई, शुभकामना तथा बृहत् कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

उनले कार्यक्रममा सुकुम्बासी समस्या राष्ट्रिय समस्या भएकाले यसको दिगो समाधान गरिने बताए । उनले माध्यमिक शिक्षा अनिवार्य र निःशुल्क बनाउन सरकार दृढसंकल्पित रहेको पनि सो अवसरमा बताए । लोपोन्मुख, गरिब र पछाडि परेका सबै जातजातिका लागि उच्च शिक्षा निःशुल्क गरिने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘न्यूनतम मापदण्ड पूरा गर्नुप¥यो, मिहिनेत गरेर प्रतिस्र्धामा आउन सक्नुप¥यो ।’

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पनि रहेका प्रधानमन्त्री ओलीले सानातिना समस्या सुनाउन प्रधानमन्त्रीलाई कुर्नु नपर्ने बताउँदै गाउँपालिका र नगरपालिकाबाट समस्या समाधान हुने स्पष्ट गरे ।

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले नेपाली जनताका समस्याको स्थायी समाधान गर्ने बताए । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पथरी शनिश्चरे नगरपालिका–१० स्थित १०८ बिघा जग्गामा सांस्कृतिक संग्रहालय बनाउने सरकारको कार्यक्रम रहेको जानकारी दिए ।

मन्त्री भएपछि पहिलोपटक गृहनगर आएका मन्त्री ढकालले डाँस र बक्राहा खोलाको कटानको समस्या स्थायी रूपमा समाधानका लागि आफू क्रियाशील रहेको पनि बताए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अबको कार्यसूची विरोध, द्वन्द्व र अराजकता नभई विकास मात्र भएको उल्लेख गरे ।