गौरादहमा ओलीलाई नागरिक अभिनन्दन

गौरादहमा ओलीलाई नागरिक अभिनन्दन


प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज झापामा नागरिक अभिनन्दन गरिएको छ । झापाको गौरादह नगरपालिकामा आज आयोजित कार्यक्रममा ओलीसँगै प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई नागरिक अभिनन्दन गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी क्षेत्र नं. ५ ले आयोजना गरेको सो कार्यक्रममा गौरादह नगरपालिका र विभिन्न संघसंस्थाद्वारा प्रधानमन्त्री ओली र कार्कीलाई अभिनन्दन गरिएको हो । ओली प्रधानमन्त्री बनेपछि आज दोस्रोपटक गृहजिल्ला झापा पुगेका हुन् ।

कार्यक्रममा ओलीले आफू राजनीतिक जोगी भएको बताएका छन् । उनले आफूलाई कमाउने कुनै मनसाय नरहेको बताउँदै भने, ‘मलाई कमाउनु छैन । मौका पाएको छु काम गरेर देखाउँछु । जोगीलाई कमाउने धन्दा हुँदैन । म पनि राजनीतिक जोगी हुँ ।’

उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘नेपाललाई समृद्ध बनाउने अभियानमा म लागिपरेको छु । मैले ढाँटछलको राजनीति गर्नुपरेको छैन र गर्दिनँ पनि ।’

उक्त नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतलगायतको उपस्थिति रहेको थियो ।