भोली १० बजे अदालतमा उपस्थित हुन प्रकाण्डलाई सर्वोच्चको आदेश

भोली १० बजे अदालतमा उपस्थित हुन प्रकाण्डलाई सर्वोच्चको आदेश


चन्दा अुलीको आरोप लगाउँदै केही दिनअघि गिरफ्तार गरिएका ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता ‘प्रकाण्ड’लाई बिहीबार १० बजे अदालतमा उपस्थित हुन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । उनी आज बुधबार ढिला गरी सर्वोच्च अदालतमा उपस्थित भएको हुँदा इजलास तोकेर बहस गर्ने समय नभएका कारण बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुन भनिएको सर्वोच्च अदालतका मुद्दा महाशाखा प्रमुख नारायणप्रसाद पन्थीले जानकारी दिएका छन् ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सोमबार विश्वकर्मालाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन आदेश जारी गरेको थियो । सोही आदेशअनुसार आज उनी अदालतमा उपस्थित भएका थिए ।

गैरकानूनीरूपमा पक्राउ गरी थुनामा राखेको उल्लेख गर्दै थुनामुक्त गर्न आइतबार वीरेन्द्र विश्वकर्माले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

विश्वकर्मालाई यही भदौ १ गते न्यायाधीश चोलेन्द्रशम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न आदेशसमेत दिएको थियो ।