नेकपा अर्घाखाँची हाँक्ने जिम्मेवारी भुसाल र रायमाझीको काँधमा

नेकपा अर्घाखाँची हाँक्ने जिम्मेवारी भुसाल र रायमाझीको काँधमा


– मुक्तिनाथ भुसाल, अर्घाखाँची

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँची नेतृत्वका लागि नाम सिफारिस भएको छ । प्रदेशस्तरीय कार्यदलले लामो समय लगाएर गरेको घनिभुत वहस, पूर्व एमाले र माकेका जिल्लास्थित नेता तथा कार्यकताहरूसँगको सल्लाह–परामर्श बमोजिम अध्यक्ष र सचिवको नाम सिफारिस गरिएको हो ।

बुझिएअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल र सचिव पदका लागि तोजबहादुर रायमाझी सर्वसम्मत सिफारिसमा परेका हुन् ।

जिल्लाको मालारानी गाउँपालिका–५ मा जन्मिएका पिताम्बर भुसाल १३ वर्षको उमेरदेखि कम्युनिष्ट राजनीतिमा होमिएका एक सरल, शान्त तथा सहयोगी व्यक्तित्वका रुपमा चिनिन्छन् । पारिवारिक कठिनाइका बाबजुद राजनीति र अध्ययन साथ–साथ अघि बढाउने क्रममा भुसालले समाजशास्त्रमा डिग्री उत्तीर्ण गरेका छन् । ०५४ सालको स्थानिय निर्वाचनमा जिल्लाकै कान्छो उम्मेदवारका रुपमा चर्चामा रहेका उनी अत्यधिक बहुमतका साथ गाविस अध्यक्षमा विजयी बनेर लोकप्रियताके प्रमाण प्रस्तुत गरेका थिए ।

०४८ सालतिर गाउँमा कम्युनिष्ट जोगाउन र फैलाउन उनलाई प्राप्त भएको पार्टी प्रमुखको जिम्मेवारीलाई सफलता पूर्वक निर्वाह गरेपश्चात ३ नम्बर इलाका कमिटीको सदस्य, उपसचिव र सचिव पद क्रमशः उनलाई प्राप्त भएको थियो । ०५४ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्यमा आबद्ध भएका भुसालले विगतमा क्षेत्र नम्बर एकको क्षेत्रीय कमिटी अध्यक्षमा रहँदा पार्टीलाई मजबुत तुल्याएका थिए ।

पार्टी एकीकरण हुनुपूर्व नेकपा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य एवं जिल्ला संगठन विभागको प्रमुख पदमा रहेका भुसाल पार्टीका लागि एउटा बफादार सिपाहीका रुपमा चिनिन्छन् । पैतृक सम्पत्ति र श्रीमतीको जागिरबाट परिवार धानेका उनी फुलटाईम पार्टीको काममा खटिएका एक अनुशासित तथा अनुभवी नेता हुन् । विभिन्न समयमा राजनैतिक तथा सुविधायुक्त नियुक्तिको अवसर पाउँदा पनि उपेक्षा गरेका नेता भुसालले हालसम्म धन आर्जनका लागि एनजीओको अनुभव नलिएको बुझिन्छ ।

यसैगरी, सन्धिखर्क नगरपालिका–९ मा जन्मिएका तोजबहादुर रायमाझी पार्टीको सचिव पदका लागि सिफारिशमा परेका छन् । भुसालकै व्यक्तित्वसँग मेल खाने रायमाझी ०५८ सालमा पूर्ण भूमिगत भई जनयुद्धमा सहभागी भएका एक साहसी युवा नेता हुन् । ०६० सालमा अनेरास्ववियु क्रान्तिकारीको अध्यक्ष र जिल्ला कमिटी सदस्य बनेका उनी वाईसिएल जिल्ला संयोजक, पार्टीको राज्य समिति सदस्य, केन्द्रिय सदस्य र पार्टी एकीकरण हुनुपूर्वसम्म नेकपा माओवादी केन्द्रको जिल्ला सहसंयोजकको जिम्मेवारीमा रहेका थिए ।

जनयुद्धका समय सशस्त्र प्रहरी वेसक्याम्प भालुवाङ, जिल्ला प्रहरी कार्यालय पाल्पा, कपिलवस्तु र अर्घाखाँचीलगायत स्थानमा उल्लेखनीय भूमिका निर्वाह गरेका उनी माओवादीभित्र विधान उपनामले समेत चिनिन्छन् भने एक अब्बल नेताका रूपमा प्रशंसित छन् ।

नेपालको कम्युनिष्ट आन्दोलनमा नाम कमाउन सफल टोपबहादुर रायमाझी, नजिर मियाँ, चन्द्रबहादुर खड्का उज्ज्वल, चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरे जस्ता नेता रहेका अर्घाखाँचीमा नयाँ नेतृत्वका लागि भुसाल र रायमाझीको नाम सिफारिस भएपछि नेकपाका तमाम कार्यकर्ता हर्षित बनेका छन् ।

तत्कालिन नेकपा एमालेका नेताहरु शंखर पोख्रेल, दलबहादुर राना र तत्कालिन नेकपा माओवादी केन्द्रका मणि थापा एवं गणेशमान पुन जस्ता दिग्गज नेताहरु सम्मीलित प्रदेश स्तरीय कार्यदलले सुझवुझका साथ भुसाल र रायमाझीको नाम सिफारिस गरेकाले यी दुई व्यक्तित्वको परिश्रम तथा कर्मठ अनि इमानदार नेतृत्वका कारण जिल्लामा पार्टी–संगठन मात्र सुगठित हुने नभई विकास र समृद्धिको लहर ल्याउन पनि मद्दत पुग्ने विश्वास लिइएको छ ।