के प्रमाणित गर्‍यो सिटौलाको नियुक्तिले ? -वसन्तराज कुँवर

के प्रमाणित गर्‍यो सिटौलाको नियुक्तिले ? -वसन्तराज कुँवर


एक मित्रले हालै मलाई टेलिफोनबाट खबर दिँदै भने, ‘कृष्णप्रसाद सिटौला काङ्ग्रेसका सभापतिबाट मनोनीत महामन्त्री बनेछन् नि ।’ मैले भने, ‘संसारमा बद्मासहरू पनि माथि पुग्छन् । हिटलरलाई ६० लाख मान्छे मार्नु थियो र जर्मनको प्रमुख शासक बन्न सफल भए, कम्बोडियाका लाखौँ निर्दोष जनता मारिनु थियो र पोलपोट सत्तामा पुगे, बिहारलाई अपराधीको अखडा बनाउनु थियो र लालुप्रसाद यादव त्यहाँका मुख्यमन्त्री बन्न पुगे । काङ्ग्रेस र नेपाललाई शायद केही अनिष्ट आउनेवाला छ, त्यसैले कृष्णप्रसाद सिटौलाको उन्नति भएको हुनुपर्छ । काङ्ग्रेसलाई ध्वस्त पार्न कोही चाहियो होला नि त †’
मेरो यस्तो जवाफ सुनेर उनी खुब हाँसे । सिटौलाको महामन्त्रीमा छनोट ९९ प्रतिशत नेपालीलाई चित्त बुझेको छैन तर पनि उनी त्यहाँ छानिन पुगे । कोइराला परिवार काङ्ग्रेस पार्टीलाई परिवारको पेवाजस्तै बनाउन चाहन्छ, जसका लागि तिनको ढोकामा गएर जयजयकार गाउने चाकडीबाजहरूको आवश्यकता पर्छ । त्यस ढोकामा मुलुकको विकासको कुनै योजना छैन, राष्ट्रियता र स्वाभिमान रक्षाको कुनै एजेण्डा छैन, कर्मचारीतन्त्रको स्थायित्वका लागि कुनै सोच छैन, देशमा बढ्दो गरिबी र बेरोजगारीको कुनै चिन्ता छैन । त्यहाँ केवल काङ्ग्रेस पार्टीलाई मुठ्ठीभित्र राखेर मुलुकको शक्तिबाट प्राप्त हुन सक्ने फाइदाको हिसाबकिताब मात्र छ । प्रजातन्त्र भन्ने एउटा शब्द जप्नेबाहेक त्यो ढोकामा नेपाल र नेपालीहरूको जीवनस्तर बढाउने कुनै गुरुयोजना छैन । त्यस्तो ढोकामा गएर जयजयकारको स्तुति गाउनु पनि त कम गाह्रो काम होइन नि । सिटौलाको क्षमता यही थियो कि उनले त्यहाँ निरन्तर जयजयकार लगाइरहन सके । जब माओवादी विद्रोह सुरु भयो र गाउँगाउँमा प्रजातान्त्रिक पार्टीका मानिसहरू काटिन थाले, त्यतिबेला त्यो भयानक र दर्दनाक घटना देख्दादेख्दै पनि माओवादीको जयजयकार गाउनेहरू गाउँमा बस्न सफल भएझैं कोइराला परिवारले यो मुलुकलाई क्षतविक्षतको स्थितिमा पुर्‍याइसक्दा पनि र पार्टीलाई टुक्राटुक्रामा विभाजन गरी परिवारवादभित्र समेटिसक्दा पनि सिटौलाजस्ता व्यक्तिले तिनका सबै अपराध अनदेखा गरी जयजयकार गरी नै रहे । त्यसबापत प्राप्त महामन्त्रीको पद उनले नपाए कसले पाउने त ? के नरहरि आचार्यलाई दिन मिल्छ, जसले कोइराला परिवारविरुद्ध चुनावमा उठ्ने आँट गरे ? के यो पद प्रदीप गिरीलाई दिन मिल्छ, जसले कोइराला परिवारका कामकाजको आलोचना गरे ? के यो पद गगन थापालाई दिन मिल्छ, जसले कोइराला परिवारवादको विरोध गरे ? कदापि मिल्दैन । त्यसैले ढोकामा जयजयकार गर्ने सिटौला नै त यस पदका लागि शतप्रतिशत सही व्यक्ति थिए । रह्यो कुरा देश र पार्टीभलाइको, त्यो त आशा नगरे हुन्छ । बोया पेड बबुरका तो आम कहाँ से होए ?
नेपालको विकास र राजनीतिक स्थायित्वलाई र्सर्रर मूल्याङ्कन गर्ने हो भने कोइराला परिवारलाई मुलुकको दुर्भाग्यसँग कुनै सरोकार भएको देखिँदैन । उनीहरू आफ्नो राजनीतिक स्वार्थका लागि मुलुकलाई जस्तोसुकै खाडलमा हाल्न पनि तयार रहेको देखिन्छ । आफ्ना व्यक्तिगत स्वार्थका लागि उनीहरू राजासँग पनि मिलेका, माओवादीसँग पनि मिलेका, पार्टी फुटाउन पनि तयार रहेका, राप्रपालाई पनि प्रधानमन्त्री दिन तयार रहेका र राष्ट्रपति पद आउने हो भने गणतन्त्र ल्याउन पनि तयार भएका देखिन्छन् । त्यस परिवारलाई गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईभन्दा कृष्णप्रसाद सिटौला प्यारा छन्, किनकि उनी त्यस परिवारको अपराध कहिल्यै केलाउँदैनन् बल्की त्यस अपराधमा सहयोग गर्दछन् । जसरी बवहारका बाहुबलिहरूलाई चुनाव जित्न डाँकाहरू चाहिन्छन् त्यसैगरी कोइराला परिवारको राजनीतिक महत्त्वाकाङ्क्षा पूरा गर्न पनि सिटौलाजस्ता अनैतिक व्यक्तिहरू आवश्यकता पर्दछ । त्यसैको उपज हो उनले दानमा पाएको महामन्त्रीको पद । वृद्ध सुशील कोइरालापछि सिटौला सुजाताको ढोकामा गएर जयजयकार गाउने छन् । उनले जयजयकार गाएर आफ्नो उचाइ जति बढाए पनि वास्तवमा हामीजस्ता नेपालीका लागि उनको हैसियत बाघको खोरभित्र बसेर चितुवालाई लड्न आइज भन्ने बाँदरभन्दा बढी अरू केही छैन । पार्टीमा कोइराला परिवारको आशीर्वाद र बाध्यताले उनको उचाइ जति बढे पनि यथार्थमा जनताको नजरमा सिटौलाजी भनेको यो मुलुकलाई द्वन्द्वमा लैजाने, विदेशी-स्वार्थका लागि काम गर्ने, सुडान, रक्तचन्दनको तस्करी र भ्रष्टाचारमा संलग्न हुने, आफ्नै क्षेत्रमा चुनाव हार्ने, प्रहरी सङ्गठनलाई ध्वस्त बनाउने, चाकडी चाप्लुसी र षड्यन्त्रमा विश्वास राख्ने एक खुराफाती सोचका असफल गृहमन्त्रीबाहेक अरू केही होइन । नेपालमा सबैभन्दा मन नपराइएका नेता कहलाउँदोमा पङ्क्तिकारको विचारमा सिटौलाजी पर्छन् ।
रावणलाई खुवै घमण्ड थियो । उसले सीतालाई अपहरण गरे । त्यसपछि मात्र रावणको बद्मासीहरूको खुलासा हुन थाल्यो । हालै भएको रातो पासपोर्ट काण्ड पनि कसैलाई पक्रेपछि खुलासा भयो । माहात्मा गान्धीलाई दक्षिण अफि्रकामा रेल चढ्दा गोराद्वारा अपमान हुनु नपरेको भए उनलाई पनि भारतका जनतामाथि भएको शोषण थाहा हुने थिएन होला । त्यही झिल्कोले भारतबाट गोराहरू सदाका लागि समाप्त भए । मैले भन्न खोजेको के हो भने यदि मेरो जीवनमा दख्खल दिन सिटौला नआएका भए उनको बाहिरी अनुहारबाट म ठगिने रहेछु । जब वास्तवमै एउटा उच्च प्रहरी अधिकृत र गृहमन्त्रीको हैसियतले मैले उनलाई चिन्ने अवसर पाएँ तब नै मैले यो पनि बुझ्ने अवसर पाएँ कि यी व्यक्ति त षड्यन्त्रकारी र चिप्लो कुरा गर्ने भ्रष्टाचारीबाहेक अरू केही रहेनछन् । मुलुकमा यस्ता व्यक्ति नेता हुनु भनेको विकास, कर्मचारीतन्त्रको स्थायित्व, सुशासन र लोककल्याणका लागि घातकबाहेक अरू केही हुन सक्दैन ।
म कामको सिलसिलामा एकपटक उनलाई जनताले चुनावमा हराएको झापा जिल्लामा पुगेँ । त्यहाँ मलाई एक पत्रकारले सोधे, ‘तपाईंलाई सिटौलाले जागिरमा अवकाश गराए ? ‘ मैले भने, ‘उनले सके त्यो गरे तर म यो जिल्लाको नागरिक भएको भए उनलाई वडाध्यक्षमा पनि जित्न नदिन प्रयास गर्थेँ, किनकि मेरो विचारमा ती वडाध्यक्षका लागि पनि काविल छैनन् । कोइरालाका गुफामा बसेर अरूलाई फूर्ति हाँक्ने हैसियत सिटौलाले जति बढाए पनि आमजनतामा उनको उचाइ कतै बढेको छैन ।’
कुनै पनि रचनात्मक व्यक्तिहरू माथिल्लो पदमा पुगे भने तिनले मुलुकलाई केही दिन्छन् । सिटौला न रचनात्मक न राष्ट्रवाद न विद्वान् नै छन् । हामीले उनको गृहमन्त्रीकाल हेर्‍यौँ भने गृह प्रशासनले त्यसबखत गरेको कुनै पनि असल काम देख्न पाउँदैनौँ । कर्मचारीतन्त्रमा यी व्यक्ति अलोकप्रिय छन् भने काङ्ग्रेस पार्टीमा पनि । जब सिटौला भन्ने व्यक्तिले राज्य र आफ्नो चुनाव क्षेत्रका लागि समेत केही गरेको उदाहरण छैन र उनको उपलब्धिलाई रक्तचन्दन र सुडान काण्डले नै चिनाउँछ भने फेरि त्यस्ता व्यक्ति महामन्त्री भए भनेर हल्ला गर्नुपर्ने र नेपालीले खुसी हुनुपर्ने अर्थ के रहन्छ त ?
यो पनि सुने कि देउवाले आफूलाई प्रधानमन्त्री दिने र्सतमा सिटौलालाई महामन्त्री बनाए रे । यदि त्यो सत्य हो भने देउवा यो मुलुकका लागि दर्ुभाग्यबाहेक अरू केही हुन सक्दैनन् । आफू प्रधानमन्त्री बन्न उनी अख्तियारमा मुद्दा परिरहेका र रक्तचन्दनका ठेकेदार सिटौलालाई महामन्त्री बनाउन सक्छन् भने त्यस्ता नेताबाट देशले के अपेक्षा गर्ने ?
बिस्तारै समाजमा काङ्ग्रेसकोे शाख गिर्दै छ र काङ्ग्रेस भनेको कोइराला परिवारको भान्साको पार्टी हो भन्ने कुरा सिटौलाको नयाँ नियुक्तिबाट पनि प्रमाणित भएको छ । कोइरालाले आफूले चाहेका गराए, उनलाई व्यक्तिगत रूपमा बधाई छ । तर, देशका लागि सिटौला महामन्त्री हुनु भनेको दु:खद् घटनाबाहेक केही होइन ।