असलको गिरफ्तारीपछि यस्तो आयो विप्लवको विज्ञप्ति

असलको गिरफ्तारीपछि यस्तो आयो विप्लवको विज्ञप्ति


नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको गिरफ्तारीपछि सो पार्टी र सरकारबीच तनाव बढिरहेको अवस्थामा नेकपाका अर्का नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य असल उपनामले चिनिने चन्द्रबहादुर खड्कालाई गत मंगलबार गिरफ्तार गरिएको हो । पक्राउपछि नेता असललाई बेपत्ता पारेको भन्दै नेकपाका महासचिव विप्लवले आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको प्रतिक्रिया दिएका छन् ।

नेकपा महासचिव विप्लवले आज विहिबार एक विज्ञप्ति जारी गर्दै नेकपाका नेता कार्यकर्तालाई अपहरण शैलीमा गिरफ्तार गर्ने, यातना दिने कार्यलाई ओली सरकारले तीव्रता दिएको आरोप लगाएका छन् । गिरफ्तार गरिएका नेता खड्कालार्इ तत्काल रिहा गर्न उनले विज्ञप्तिमार्फत् माग गरेका छन् ।

पछिल्लो पटक पार्टीका प्रवक्ता प्रकाण्ड, पोलिटब्युरो सदस्यहरु पदम राई, ओम पुन, कृष्ण धमला, मोहन कार्की, केन्द्रिय सदस्यहरु किरण राई, दिपेश राई, देवनारायण शाह, टेकबहादुर केसीलगायत दर्जनौ नेता कार्यकर्तालाई सरकारले गिरफ्तार गरी यातना दिएको स्मरण गराउँदै विज्ञप्तिमार्फत महासचिव विप्लवले गैरन्यायिक गिरफ्तारीको भत्सर्ना गरेका छन् ।

यस प्रकारको गिरफ्तारीको सम्पूर्ण शृङ्खलापूर्ण तुरुन्त रोकेर हालसम्म गैरन्यायिक तरिकाले थुनामा राखिएका सबै नेताकार्यकर्तालाई ससम्मान रिहा गर्न पनि सरकारसँग उनले आग्रह गरेका छन् ।

नेकपाविरुद्ध सरकारले यस्तै गिरफ्तारी र दमनको हसिलसिला जारी राखे सशक्त संघर्ष गर्न बाध्य हुने चेतावनी दिँदै विप्लवले मानवअधिकारवादी, नागरिक समाज, न्यायप्रेमी जनसमुदायलार्इ सरकारको सबै प्रकारको गैरन्यायिक हर्कतका विरुद्ध संघर्षमा उत्रिन आह्वान पनि गरेका छन् ।