प्रमुख प्रतिपक्षी दल नेपाली कांग्र्रेस पार्टीको महासमिति बैठकको तयारीमा जुटेको छ । महासमिति बैठकको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक आज (शुक्रबार) केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।
बैठकले पार्टीको महासमिति बैठक गर्ने मिति र स्थानको टुंगो लगाउनुका साथै आवश्यक तयारी सम्बन्धमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । गत वैशाख १६ गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले यही भदौमा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो ।
उक्त बैठकले स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनर्संरचनाअनुसार पार्टीको पुनर्संरचना गर्न पार्टीको विधानमा समयानुकूल परिमार्जनका लागि विधान संशोधन मस्यौदा समिति बनाउने निर्णय पनि गरेको थियो ।
सोही निर्णयअनुसार बिहीबार कांग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । केन्द्रीय समिति बैठकअघि आजै विधान संशोधन मस्यौदा समितिले पहिलो बैठक बसी विधान मस्यौदा तय गर्न लाग्ने समय र प्रक्रियाबारे छलफल गरेको थियो ।
कांग्रेसको विधानको दफा २० मा महासमितिको साधारण बैठक प्रत्येक वर्षमा एकपटक हुने भनी उल्लेख छ । तर, १३औँ महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय समिति आएको दुई वर्षभन्दा बढी समय बितिसक्दा एकपटक पनि महासमिति बैठक हुन सकेको छैन । कांग्रेसको १३औँ महाधिवेशन २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो ।
आजको बैठकले महासमिति बैठकको तयारीका लागि महाधिवेशन तयारी, राजनीतिक प्रस्ताव तयारी, पार्टीको दृष्टिकोण तय गर्ने, आर्थिक प्रतिवेदन तयारीलगायत समिति गठन गर्ने प्रवक्ता शर्माले बताए ।
बैठकले सम्भवतः पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र अनुशासन समितिसमेत गठन गर्ने बताइएको छ । यसअघि गठन गरिएको कार्यसम्पादन समितिका सम्बन्धमा विवाद देखिएपछि केन्द्रीय समिति बैठकले विघटन गरेको थियो । पार्टी विधानको दफा २९ बमोजिम कार्यसम्पादन समितिमा सभापति, उपसभापति, दुई महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ताका साथै केन्द्रीय समितिबाट बढीमा २२ जना रहने व्यवस्था छ ।
प्रतिक्रिया