कांग्रेसको महासमिति बैठक आगामी मंसिरका लागि तय

कांग्रेसको महासमिति बैठक आगामी मंसिरका लागि तय


असन्तुष्ट पक्षले छिटो गराउन दबाब दिँदै आए पनि नेपाली कांग्रेसको महासमिति बैठक अन्ततः आगामी मंसिरमा मात्र हुने भएको छ । आज बसेको कांग्रेस केन्द्रिय समितिको बैठकले मंसिरको पहिलो हप्ता काठमाडौंमा महासमिति बैठक बस्ने टुंगो लगाएको हो । बैठकले मंसिर ५ देखि ९ गतेसम्म महासमिति बैठक आयोजना गर्ने निर्णय गरेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले जतिसक्यो छिटो महासमिति बैठक बोलाउन माग गरेका र भदौमै महासमितिको बैठक बोलाउने भनिए पनि अन्तिम समयमा आएर मंसिरमा बैठक बोलाउने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

केन्द्रीय समितिको बैठक बस्नुअघि सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता पौडेलसँग पार्टी कार्यालयमा विभिन्न चरणमा छलफल गरेका थिए । दुई नेताबीच सहमति भएपछि कन्द्रीय समितिको औपचारिक बैठक सुरु गरिएको थियो । बैठकले सभापति देउवाको नेतृत्वमा महासमिति मूल आयोजनक समिति गठन गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका जिल्लासभापति समेत आयोजक समितिमा रहनेछन् ।

बैठकले राजनीतिक प्रतिवेदन लेखनको जिम्मा उपसभापति विमलेन्द्र निधी, संगठनात्मक प्रतिवेदन तयार पार्न महामन्त्री शशांक कोइराला, आर्थिक प्रतिवेदन पेश गर्न कोषाअध्यक्ष सीतादेवी यादवलाई जिम्मा दिएको छ भने पौडेल पक्षको दबाबका कारण विधान मस्यौदा समितिमा दुई जना जिल्ला सभापति थप गर्न सभापति देउवा सहमत भएका बताइएको छ ।