नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले दुईतिहाईको सरकारले जनताको समस्या समाधान गर्न नसकेको आरोप लगाएका छन् । नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष स्व मङ्गलादेवी सिंहको २२ औँ स्मृति दिवसको अवसरमा आज विहान शोभा भगवतीमा आयोजित एक कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुुन् ।
वर्तमान सरकार पूर्णरुपमा असफल भएको दाबी गर्दै हावाका भरमा बहकिएर सम्बृद्धि नआउने भन्दै नेता सिंहले पानीजहाज चलाउने सपना देखाउनेले सडकका खाल्डाखुल्डीसमेत पुर्न नसकेको आरोप लगाए ।
‘दुई तिहाइ बल भएको सरकारले उल्लेख्य, क्रान्तिकारी र जनताको मन छुने खालको कुनै कार्यक्रम नल्याएको भन्दै उनले दुई तिहाइको सरकार आएदेखि बढेको मूल्य हेर्दा पनि जनतालाई मार परेको बताए । उनले कञ्चनपुरको निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सरकारले नै राजनीतिक रंग दिन खाजेको र अपराधीलाई उन्मुक्ति दिन खोजेको आरोप उनले लगाए ।
नेता सिंहले नेपाली महिलाको हक, अधिकारका लागि सधै आवाज उठाउने नेतृ मङ्गलादेवीले एकतन्त्रीय राणा शासन फाल्ने देखि प्रजातान्त्रिक आन्दोलनमासमेत महत्वपूर्ण योगदान गरेको चर्चा गरे । उनले संविधानले महिलाहरुलाई धेरै अधिकार दिएको भन्दै अधिकार सुनिश्चित गर्नका लागि महिलाहरु लड्नुपर्ने बेला आएको बताए ।
प्रतिक्रिया