वडा तहदेखि केन्द्रसम्म ३३ प्रतिशत अधिकार दिनुपर्छ :महिला संघ

वडा तहदेखि केन्द्रसम्म ३३ प्रतिशत अधिकार दिनुपर्छ :महिला संघ


नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घले पार्टीले महिलालाई वडा तहदेखि केन्द्रसम्म ३३ प्रतिशत अधिकार दिन माग गरेको छ ।

नेपाल महिला सङ्घले संस्थापक अध्यक्ष स्व मङ्गलादेवी सिंहको २२औँ स्मृति दिवसका अवसरमा आइतबार साँझ आयोजना गरेको ‘दीपप्रज्वलन तथा अन्तक्र्रिया’का वक्ताले ३३ प्रतिशत महिला अधिकार सुनिश्चित गर्नुपर्ने माग गरेका हुन् ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले विधान संशोधनमा महिलाको अधिकारलाई सम्बोधन गर्न दबाब दिनुपर्ने बताए । ‘महिलाको हकअधिकारका लागि तपाईहरु सङ्गठित भएर अगाडि बढ्नुहोस् म तपाईहरुको साथमा छु’, उनले भने ।

नेता सिंहले नेपालका महिलालाई पुरुषसरह पु¥याउनका लागि स्व मङ्गलादेवीको ठूलो योगदान रहेको उल्लेख गरे ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अम्बिका बस्नेतले नेपालको महिला अझसम्म पनि सुरक्षित हुन नसकेको भन्दै महिला अधिकारका लागि अझै लड्नुपर्ने बेला आएको बताइन् । ‘दिनदिनै मुलुकका विभिन्न भागहरुमा महिला बलात्कार भइरहेका छन् त्यसका विरुद्धमा महिला सङ्घ एक भएर लड्नुपर्छ’, उनले भनिन् ।

नेपाल महिला सङ्घ अध्यक्ष उमा रेग्मीले काङ्ग्रेसले महिलालाई वडादेखि केन्द्रसम्म ३३ प्रतिशत अधिकार सुनिश्चित गर्ने गरी विधान संशोधन गर्न माग गर्नुभयो । ‘नेपाली महिलाको हकअधिकारका लागि आवाज उठाउने महिला मङ्गलादेवी हुनुहुन्थ्यो’, उनले भनिन् ।

महिला सङ्घ उपाध्यक्ष सरस्वती तिवारीले नेपालमा एकतन्त्रीय राणाशासन फालेर प्रजातन्त्र ल्याउन मङ्गलादेवी सिंहको महत्वपूर्ण योगदान रहेको बताइन् ।

महिला सङ्घ महासचिव धना खतिवडा, मञ्जु खाँण, प्रदेश नं ३ का सांसद कल्पना नेपाली, पूर्वसांसद कल्याणी रिजाल, रमा गुरागाईं, महिला सङ्घ अध्यक्ष विष्णुदेवी पुडासैनी लगायतले महिला सङ्घको संस्थापक अध्यक्षलाई पार्टीले सम्झन नसकेको भन्दै गुनासो व्यक्त गरे ।

महिलाको हकअधिकारलाई सुरक्षित बनाउनका लागि विसं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला सङ्घको स्थापना गरेका थिए ।