इन्द्रेणी

इन्द्रेणी


indreniहामी जनता– केशवप्रसाद मैनाली
मरेर नसकिने जन्मन नरोकिने
जति सोसे पनि हुने जति मोसे पनि हुने, हामी जनता
काँधमा बोके पनि हुने बुटले ठोके पनि हुने
जसो गरे पनि मौन सहने हामी निरीह जनता
भोकको लाइनमा लगाए पनि हुने
भोट लुटेर लगे पनि हुने
भोटका धनी भलाद्मी हामी सन्तोषी जनता
विदेशमा बेचे पनि हुने स्वदेशमै रेटे पनि हुने
केही नबोली भोकभोकै पछि लाग्ने हामी जनता
समर्थनमा जिन्दावाद भनाए पनि
विरोधमा मुर्दावाद बकाए पनि
क्यासेटझैँ बजिदिने हामी निर्जीव जनता
आश्वासनमै दङ्ग पर्ने नेताको भर सदा गर्ने
नेताकै भाषणमा मख्ख पर्ने
बेइमान नचिन्ने हामी इमानदार जनता
आमसभामा जुट्ने नेताको बोलीमा ताली पिट्ने
युरोपियन मापदण्डमा पुग्ने सपना ओच्छ्याएर
मस्तसँग सुत्ने हामी ढुक्कका जनता
संविधानको केन्द्रबिन्दु–नेपालको भविष्यसिन्धु हामी
आफ्नो नाउँमा आएको सहयोगको खबर अखबारमा पढेर
दरिद्रता बिर्संदै मुस्कुराउने हामी धनी मनका गरिब जनता
तैपनि, खाली पेटमा हिमाल हेरेर गर्वले मुस्काउने
नेपाल जपेर बाँच्ने नेपालीपनमै मर्ने प्रण गर्ने
बाह्य थिचोमिचो र अर्घेलो सहेर बस्ने
हामी ‘राष्ट्रवादी’ नेपाली जनता !!