सरकारसँग वार्ताको गुन्जायस नरहेको नेकपाको प्रष्टोक्ति

सरकारसँग वार्ताको गुन्जायस नरहेको नेकपाको प्रष्टोक्ति


नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँँग वार्ताको सम्भावना नरहेको जनाएका छन् । आज मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले वर्तमान सरकार ‘वामको खोल ओढेको सामाजिक फासिवादी सरकार’ भएको आरोप लगाएका छन् भने सरकारले गरेको वार्ताको आह्वानलाई उनले ‘मिठाइ लेपन गरिएको विषको चक्की’ को संज्ञा दिएका छन् ।

पार्टी पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलु’लाई सरकारले आज गिरफ्तार गरेपछि आक्रोशित भएका विप्लवले विज्ञप्तिमार्फत उक्त गिरफ्तारीको विरोध गर्दै सबै मानवअधिकारवादी, सञ्चारकर्मी, कानुन व्यवसायी तथा अन्य राजनीतिक दलहरूलाई सरकारको यस्तो रवैयाको भण्डाफोर गर्न र न्यायका पक्षमा उभिन आह्वान समेत गरेका छन् ।

विज्ञप्तिको आरम्भमा उनले भनेका छन्– ‘केपी र पीकेको गठबन्धनमा बनेको र वामको खोल ओढेको सामाजिक फासिवादी सरकारले हाम्रो पार्टीमाथि दिनानुदिन षड्यन्त्र, दमन र गिरफ्तारीको शृङ्खला नै चलाएको छ । हाम्रो पार्टीलाई उनीहरूले नै भन्दै आएको संविधानप्रदत्त अधिकारभित्रको शान्तिपूर्ण कार्यक्रममा पूर्ण रुपले प्रतिबन्ध लगाएको छ । दिनदिनै हामो पार्टीका नेता र कार्यकर्ताहरूलाई गिरफ्तार गरी बेपत्ता पार्ने काम गरेको छ ।’

सो विज्ञप्तिमा अगाडि भनिएको छ– ‘यही क्रममा आज बिहान ११ः३० बजे हाम्रो पार्टीका पोलिटब्युरो सदस्य तथा जनप्रतिनिधिसभाकी अध्यक्ष, पूर्वसभासद् तथा जनयुद्धकालमा गोरखा जेलब्रेकको नेतृत्व गरेको स्थापित महिलानेतृ उमा भुजेल ‘शिलु’लाई आफ्नै निवासबाट गिरफ्तार गरी बेपत्ता पारेको छ । केपी सरकारको यो घृणित कार्यको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । साथै कमरेड शिलु, सर्वोच्च अदालतको रिहाइको आदेशलाई पनि लत्याउँदै विभिन्न भुट्टा मुद्दा लगाई छानबिनका नाममा कस्टडीमा राखिनुभएका प्रवक्ता कमरेड प्रकाण्ड, पीबीएम र सीसीएम कमरेडलगायत सबै बन्दी कमरेडहरूलाई तुरुन्त रिहा गर्न पनि जोडदार माग गर्दछौँ ।’

‘हाम्रो पार्टीका नेता–कार्यकर्ताहरूलाई विनाकारण यो सरकारले गिरफ्तार गर्ने, यातना दिने गरेर हामीलाई अनावश्यक उत्तेजनामा ल्याउन खोजिरहेको छ । यिनीहरूको यो हर्कतले हामीलाई अनावश्यक उत्तेजित मात्र पारेको छैन, आमजनताको नजरमा दिनप्रतिदिन यो सरकार नाङ्गिदै गएको छ । हामी स्वाभाविक रूपमा आक्रोशित भएका छौँ । हामीलाई देश र जनताप्रति अझ गम्भीर भएर सोच्न र क्रान्तिलाई केन्द्रबिन्दुमा राखेर आमनेपाली जनता र देशको मुक्तिका खातिर अझ जिम्मेवार हुनलाई जागरुक र सचेत बनाएको छ । हामी वैज्ञानिक समाजवाद स्थापनाको क्रान्तिमा दृढ रहेका छौँ । केपी सरकारले हाम्रो पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार गरेर क्रान्ति रोकिन्छ भन्ने नेपालका पुरानै शासक र प्रशासकहरूको सोचाइ राखेको होला । गिरफ्तारी, यातना र दमनले क्रान्ति रोकिँदैन, बरु त्यसले अझ उर्वर बनाउँछ । यस्ता गिरफ्तारी, दमन र यातनाले उसको सरकार मात्र नभएर सिङ्गो संसदीय व्यवस्थाको अन्त्यको सुनिश्चितता गरिराखेको छ ।’

महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिको अन्त्यमा भनिएको छ– ‘केपी सरकारले शुक्रबार मात्र वार्ताको आह्वान गरेको नाटक रच्यो । हामीले बुझिसकेका थियौं– यो वार्ताको आह्वान मिठाइ लेपन गरिएको विषको चक्की मात्र हो । हाम्रो उक्त विश्लेषणलाई कमरेड शिलुको गिरफ्तारीले पुष्टि गरेको छ । त्यसैले यो सामाजिक फासिवादी सरकारका यिनै षड्यन्त्र, हर्कत र रवैयाका बीचमा वार्ताको कुनै गुन्जायस छैन ।’