प्रदेशमा प्रवेश गर्न निधिको अनुमति चाहिने ! रोकिएनन् शशाङ्क !!

प्रदेशमा प्रवेश गर्न निधिको अनुमति चाहिने ! रोकिएनन् शशाङ्क !!


काङ्ग्रेस महामन्त्री डा. शशाङ्क कोइरालालाई तराई प्रवेशमा रोक लगाउन विमलेन्द्र निधिबाट भएको सम्पूर्ण प्रयास असफल भएको छ । भदौ १२ गते मंगलबार सर्लाहीको मलंगलामा पार्टीका अगुवा कार्यकर्ताको भेला राखिएको थाहा पाएपछि निधि दुई नम्बर प्रदेशभित्र आफ्नो स्वीकृति नलिईकन कार्यक्रम राखिएको भन्दै क्रूद्ध बनेका थिए । उनले भदौ ७ गते बिहीबार बिहान महामन्त्री कोइरालालाई टेलिफोन गरी सर्लाहीमा मेरो जानकारीबिना किन भेला राखिएको भन्दै उक्त कार्यक्रममा सहभागी नहुन कोइरालालाई चेतावनी दिएका थिए ।

निधिका कुरा सुनेर स्तब्ध भएका डा. कोइरालाले साथीहरूलाई वचन दिइसकेकोले आफू रोकिन नमिल्ने जवाफ दिएको र, कोइरालाले त्यसरी आफू कार्यक्रममा सहभागी हुन प्रतिबद्ध रहेको बताएपछि निधिले जिल्लाको पार्टी सभापति नै सहभागी नहुने ठाउँमा तपाईं नजानु राम्रो हुन्छ भनी ‘सुझाव’ दिएका थिए । तर, शशाङ्कले निधिको सुझावलाई टेरपुच्छर लगाएनन् । यसरी शशाङ्क सर्लाहीको कार्यक्रममा नगइनछोड्ने भएपछि निधिले बिहीबार (७ गते) बेलुका साढे ६ बजे सर्लाहीका सभापति नागेन्द्र रायसहितको एउटा टोलीलाई शशाङ्क कोइरालाको निवासमा पठाए र उनलाई रोक्नका लागि अन्तिम प्रयास गरे ।

विमलेन्द्रको इच्छा र षड्यन्त्रलाई राम्ररी बुझेका शशाङ्कले नागेन्द्रको टोलीलाई उल्टै सम्झाएर पठाइदिए । त्यसपछि विमलेन्द्रले रणनीति बदले, उनले शशाङ्क जाने कार्यक्रममा सर्लाहीका कोही पनि अगुवा कार्यकर्तालाई सहभागी हुनबाट रोक लगाउने निर्देशन नागेन्द्र रायलाई दिए । निधिको आदेशलगत्तै नागेन्द्रले ललितपुरको सानेपास्थित वासस्थानमा भदौ ८ गते बिहान एक बैठक आयोजना गरे । बैठकमा सर्लाही काङ्ग्रेसका नेताहरू हरिश महतो, जंगीलाल राय, शम्भुलाल श्रेष्ठ, उपेन्द्र कुसवाह र वीरेन्द्रप्रसाद सिंहको उपस्थिति रहेको बताइन्छ । निजहरूलाई विमलेन्द्र निधि आफैँले टेलिफोन गरी काठमाडौं बोलाएका थिए ।

नागेन्द्रको घरमा आयोजित बैठकमा शशाङ्कको कार्यक्रममा सर्लाहीका चारवटै निर्वाचन क्षेत्रबाट आउने मानिसलाई रोक्नका लागि जिम्मेवारी बाँडफाँड गरिएको थियो । जसअनुसार एक नम्बर निर्वाचन क्षेत्रबाट आउनेहरूलाई रोक्ने जिम्मेवारी शम्भुलाल श्रेष्ठ, दुई नम्बर क्षेत्रकालाई नागेन्द्र स्वयम् र जंगीलाल राय, तीनबाट हरिश महतो र चार नम्बरबाट आउने कार्यकर्ता रोक्ने जिम्मेवारी वीरेन्द्रप्रसाद सिंह र उपेन्द्र कुसवाहलाई दिइएको थियो ।

यसरी कार्यक्रममा सहभागी शून्य बनाइदिएर शशाङ्कको बेइज्जत गर्ने र दुई नम्बर प्रदेशमा जान चाहनेहरूले आफ्नो अनुमति लिएर मात्र जानुपर्ने बाध्यात्मक अवस्था सिर्जना गराउने प्रयोजनसहित विमलेन्द्र निधिद्वारा खटाइएका नेताहरू सबै जिल्ला पुगे र पार्टीका अगुवा कार्यकर्ताहरूलाई कार्यक्रममा सहभागी नहुन भित्रभित्रै ‘सुर्कलर’ पनि गरे । तर, विमलेन्द्रको योजना पूर्ण रूपमा असफल भयो । जिल्लाका अधिकांश कार्यकर्ताले मंगलबार (भदौ १२ गते) आयोजित कार्यक्रममा उत्साहजनक सहभागिता जनाए । भेलाको सफलतालाई विमलेन्द्र निधिको ठूलो पराजयको रूपमा लिइएको छ ।