पाठक मञ्च

पाठक मञ्च


pathakmanchसबै समेट्ने कि फेरि द्वन्द्व चर्काउने ?
बाहिरबाट हेर्दा सद्दे, राम्रो, चिल्लो र सोझो देखिने तर भित्रभित्रै कुहिएको अवस्थामा रहेको लौकालाई विभिन्न सन्दर्भमा उपमा बनाएर बोलीचालीमा प्रयोग गरिने प्रचलन छ । नेपालका राजनीतिक दलहरूको चरित्र पनि त्यस्तै धेरै लामो भएर कुहिएको लौकाजस्तो देखिन्छ । बाहिरबाट हेर्दा सबै ठिकठाक छ, राम्रा नेता छन्, जागरुक कमिटीहरू छन्, तिनका पदाधिकारी छन्, कार्यकर्ता र सदस्यहरू छन् । नेताका वरपर लाग्ने बिहान–बेलुका घरमा दर्शनभेट गर्न आउने, क्लबहरूमा, बार र दोहोरीजस्ता ठाउँमा दलाली गर्नेहरू छन् । कोसेलीपात टत्र्mयाउनेहरू र चाकडी गर्ने नोकरशाहहरू पनि छन् । यस्तैलाई ठिकठाक मान्ने हो भने बेग्लै कुरा, हैन भने पार्टीहरूको चाल हैरान पार्ने खालको देखिएको छ । यतिबेला यस्तो चालको सिकार नेपाली काङ्ग्रेसमा देखिएको छ । संसदको सबैभन्दा ठूलो दल भएकाले उसको अस्पष्टताले देशलाई नै अलमलमा फसाउने देखिन थालेको छ ।
यसको अर्थ अरु दलहरू राम्रा छन् भन्ने आशय अवश्य हैन । एमाओवादीको दोहोरो मापदण्ड र अवसरवाद मानिसको स्वास्थ्यका लागि लागुऔषध र धुमपान हानीकारक भएजस्तो देशको राजनीतिक स्वास्थ्यका लागि हानिकारक रहेको कुरामा कसको मत बाझिएला र ? यसमाथि पछिल्लो समय एमालेको अलमल पनि कम रोचक छैन । तर, काङ्ग्रेसका अलमलका कुराहरूले नै देशलाई मुख्य प्रभाव पार्ने भएकाले चर्चाको विषय भएको देखिन्छ । संविधानसभाको निर्वाचन भएको डेढ महिना पुगिसकेको छ । हाम्रो संविधान र निर्वाचन प्रणालीमा रहेका कतिपय कमजोरी वा सीमाका कारण यसै पनि लामो समय लिने निर्वाचन प्रक्रियालाई दलहरू बीचको विवाद, कानुन र संविधानलाई हातले मिच्ने परम्पराले गर्दा अहिलेसम्म पनि संविधानसभाले पूर्णता पाएको छैन ।
यसबीच काङ्ग्रेसले सबैभन्दा ठूलो दलका रुपमा देशको नेतृत्वको दाबी गरेर निकै शब्द खर्च गरेको छ । स्वाभाविक पनि हो, संसदीय राजनीतिक प्रणाली भएको देशमा निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेर आउने पार्टीले देशको नेतृत्व दावी गर्ने पनि हो । र, संविधानसभाका झन्डै एक तिहाई सिट जितेको दलका रूपमा उसले नेतृत्वको दाबी गर्ने नै भयो । तर, देश केवल कसले आगामी सरकारको नेतृत्व गर्ने भन्ने प्रश्नको निरुपण गरेर पुग्ने सामान्य अवस्थामा छैन । ०६२ साल मङ्सिरमा भएको १२ बुँदे सहमति र त्यसको एक वर्षपछि भएको वृहत शान्ति सम्झौताका मातहतमा संचालित शान्ति तथा संविधान निर्माण प्रक्रियामा छ । यसमा एमाओवादी एटा पक्ष हो भने उसबाट विभाजित वैद्य समूह पनि एउटा हिस्सा हो । उनीहरूलाई बाहिर राखेर समस्याको समाधान पनि हुँदैन, शान्ति र संविधान निर्माणको प्रक्रिया पनि सकिन्न । तर, अहिले निर्वाचनले गरिदिएको नयाँ शक्ति सन्तुलनको सिर्जनालाई आधार बनाएर अन्य साना दलहरूलाई निषेध गर्ने स्वरहरू घन्किन थालेका छन् । यस्तो स्वरलाई केही अति काङ्ग्रेसवादीहरू र मुख्य भनिएका दुई–तीन दलहरूले हावाको संज्ञा दिएका छन् । अघिल्लो संविधानको असफलता पनि यस्तै अतिवादको शिकार भएर भएको हो । अहिले पनि सबैलाई समेटेर हिँड्ने र संविधान बनाउने वा फेरि द्वन्द्व बढाएर असफल हुने दुईवटा विकल्प मात्र तपाईंहाम्रा सामु छन् । यसलाई नेतृत्व गर्ने र पार लगाउने जिम्मेवारी जनमतले नेपाली काङ्ग्रेसलाई दिएको छ । तर, काङ्ग्रेसले यसलाई बुझ्न अलमल गरिरहेको छ र बेला घर्काइरहेको छ । कतै ०५१ को जस्तो गरेर गैरजिम्मेवार र अतिवादीहरूको शिकार हुने त हैन ?
– दामोदर पौडेल, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज,