रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन् : राष्ट्रपति पुटिन

रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन् : राष्ट्रपति पुटिन


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी र चिनियाँबीच ‘सदाका लागि भाइचारा’ रहेको अभिव्यक्ति दिएका रुसी समाचार एजेन्सी तासले जनाएको छ ।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्षउत्सव र अन्तर-सांस्कृतिक वर्ष प्रारम्भका अवसरमा आयोजित समारोहमा पुटिनले दुई देशबीच सौहार्दपूर्ण सम्बन्ध जारी रहने विश्वास व्यक्त गरेका छन् ।

‘यो कार्यक्रम कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सवलाई समर्पित छ । पचहत्तर वर्षअघि सिर्जना गरिएको त्यस समयको एउटा प्रसिद्ध गीत जुन प्रायजसो आजसम्म गाइन्छ । यसमा एक प्रसिद्ध पङ्क्ति छ : ‘रूसी र चिनियाँ सदाका लागि भाइहरू हुन्’, पुटिनले भनेका छन् ।

तासले जनाएअनुसार उनले रुस-चीन साझेदारीको भ्रातृभावलाई बढावा दिने विश्वास व्यक्त गरेका छन् । ‘म विश्वस्त छु कि हामी सौहार्दपूर्ण रूसी-चिनियाँ साझेदारीको भ्रातृ भावनालाई बलियो बनाउने पहल जारी राख्नेछौँ’, रुसी राष्ट्रपतिको भनाइ छ ।

राष्ट्रपति पुटिन आफ्नो चीनको राजकीय भ्रमणका क्रममा शुक्रबार हार्बिन आइपुगेका हुन् । रूसी राष्ट्रपतिले हार्बिनमा आठौँ रूसी-चिनियाँ प्रदर्शनी र अन्तरक्षेत्रीय सहकार्यको चौथो रूस–चीन फोरमको उद्घाटन पनि गरेका छन् ।

तासका अनुसार चीन र रुसबीचको सीमा तनावले ऐतिहासिकरूपमा ग्रस्त यस क्षेत्रले हालैका वर्षहरूमा कनेक्टिभिटी बढेको देखेको छ, जसले दुई छिमेकीबीच घनिष्ठ आर्थिक र सांस्कृतिक सम्बन्धलाई बढावा दिएको पाइन्छ ।