म्याद थप गराउन माओवादीको नीति

म्याद थप गराउन माओवादीको नीति


-फकाउने र तर्साउने
संविधानसभाको म्याद थप गराउनका लागि माओवादीले अनेकौँ हथकण्डा अपनाउने भएको छ । जनविद्रोहको तयारीमा रहेको माओवादी नेतृत्व संविधानसभाको कार्यकाल समाप्त हुनुभन्दा ठीक एक महिनाअघि अचानक ‘परिवर्तन’ भएर शान्ति र संविधानको ‘पक्षमा’ आउनुलाई माओवादीको रणनीतिक चालबाजीका रूपमा लिइएको छ । जेठ १४ गते संविधानसभाको कार्यकाल थप नभएमा ‘कडा सङ्घर्ष’ गर्ने सार्वजनिक चेतावनी प्रचण्डले दिनुभएको छ । एकातिर शान्ति र संविधानको कुरा गर्दै ‘लचकता’ प्रदर्शन गर्ने र अर्कोतिर म्याद नथपिए कडा सङ्घर्ष गर्ने चेतावनी दिँदै त्रास पैदा गर्ने काम माओवादीले गरेको छ । माओवादीले संविधानसभाको स्वाभाविक मृत्युलाई पनि धेरै ठूलो दुर्घटनाको रूपमा प्रचार गर्न चाहेको छ । संविधानसभाको मृत्यु भएमा आफूमाथि उत्पन्न हुन सक्ने अनिष्ट र प्रतिकूलतालाई मुलुकमाथिकै अनिष्ट र प्रतिकूलताका रूपमा व्याख्या गर्न खोजेको छ । संविधानसभाको म्याद थप गराउनको निम्ति सडकबाट दबाब सिर्जना गर्न आफ्ना कार्यकर्ताहरूको व्यापक परिचालन गर्ने योजना बनाएको छ । यसलाई माओवादीले शान्ति र संविधानका लागि दबाबमूलक कार्यक्रमको नाम दिएको छ । संविधान निर्माणमा केही जटिल तथा महत्वपूर्ण विषयहरूमा सहमति बन्न निकै कठिनाइ देखिन्छ । राज्य पुनर्संरचना र राज्यको शासकीय स्वरूपजस्ता विषयहरूमा प्रजातन्त्र पक्षधर र जनवादी क्रान्ति पक्षधर शक्तिका बीचमा दार्शनिक एवम् वैचारिक भिन्नता छ । काङ्ग्रेसलगायत प्रजातन्त्र पक्षधर शक्तिहरू जनवादी क्रान्तिको पक्षमा नजाने जति निश्चित छ, माओवादीहरूले जनवादी क्रान्तिको लक्ष्य परित्याग नगर्ने पनि त्यति नै निश्चित मानिन्छ । संविधान निर्माणका क्रममा धेरै विषयमा सहमति भयो भनिए तापनि सहमति भएको भनिएका विषय मानव शरीरका हात, गोडा, औंला, छाला आदि भनेजस्ता सामान्य छन्, अब बाँकी विषय भनेका सङ्ख्यामा थोरै भए पनि अत्यन्त जटिल छन् । आँखा, मुटु, फोक्सो र प्राणजस्ता संवेदनशील अङ्गबिना कुनै मानिसको जीवित अस्तित्व कायम रहन नसकेजस्तै संविधानमा राज्यको शासकीय स्वरूप र संरचनालाई मानिन्छ । आफूले चाहेजस्तो स्वरूप र संरचना खडा गर्न माओवादीले विभिन्न रूप र आकारका सङ्घर्ष र दबाबको स्थिति सिर्जना गर्दै आएको छ । माओवादीको वर्चस्व कायम रहेको संविधानसभाको अस्तित्व कायम रहेसम्म त्यसले लोकतान्त्रिक मूल्य र मान्यतासहितको संविधान निर्माण गर्ने विश्वास घट्दै गएको छ । ताजा जनादेशमा जाँदा आफ्नो विद्यमान हैसियतको पुनर्वहाली हुन्छ भन्ने कुरामा माओवादीले विश्वास गर्न सकेको छैन । चुनावी मैदानमा नै आफू एक्लिने र पुन: निर्वाचन भए पार्टीले राजनीतिक रूपमा क्षति व्यहोर्नुपर्ने अवस्था देखेकोले माओवादी कुनै पनि हालतमा संविधानसभाको कार्यकाल थप गराइछाड्ने निचोडमा पुगेको छ । कार्यकाल थप गराउने विषयमा माओवादीभित्र कुनै प्रकारको मतभिन्नता पनि देखिएको छैन । दुई वर्षका लागि निर्वाचित संविधानसभाले थप गरिएको एक वर्षसहित तीनवर्षे कार्यकाल पूरा गर्दा पनि यसले लोकतान्त्रिक संविधान निर्माण गर्नसक्ने सामर्थ्य र विश्वास दर्शाउन सकेको छैन । जनसाधारणसमेत विद्यमान संविधानसभाको विकल्प खोजिनुपर्छ भन्ने धारणा बनाउँदै छन् । यस्तो अवस्थामा संविधानसभाको म्याद थप गर्ने ढिपी माओवादीले गर्नुलाई गैरमाओवादी कित्ताले सकारात्मक रूपमा लिन सकेको छैन र लिन खोजिरहेको पनि देखिँदैन । काङ्ग्रेससहित प्रजातन्त्र पक्षधर शक्तिहरूले पहिले शान्ति त्यसपछि मात्र संविधान भनेर माओवादीमाथि निर्ण्ाायक दबाब सिर्जना गर्ने प्रयास गरिरहेका छन् । माओवादीले तत्कालका लागि ‘शान्ति र संविधान’ भने पनि उनीहरू मानसिक रूपमा परिवर्तन नभई मुलुकमा शान्ति र लोकतान्त्रिक संविधान उपलब्ध हुने विश्वास गर्न सकिँदैन । अहिलेसम्म उनीहरू राजनीतिक चालबाजीकै चरणमा छन्, मानसिक परिवर्तनका निम्ति दबाब पैदा भएको माओवादी नेतृत्वले महसुस नै गरेको छैन । त्यसैले संविधानसभाको कार्यकाल थप गर्दै आफ्नो वैधानिक हैसियत जोगाउने र अन्य पक्षमाथि जबर्जस्ती दबाब सिर्जना गरी आफ्ना सर्तहरू मान्न बाध्य तुल्याउने रणनीति माओवादीले अवलम्बन गरेको छ । संविधानसभाको कार्यकाल थप नभएमा माओवादी मात्र होइन सबै राजनीतिक दलहरू सडकमा पुग्नेछन् । संविधानसभाले स्वाभाविक मृत्युवरण गरेपछि अन्तरिम संविधानको धारा ३८-१) अनुसार राष्ट्रपतिले सर्वपक्षीय सरकार गठनको पहल गर्नुको अर्को वैधानिक विकल्प सामान्यत: देखिँदैन । माओवादी सर्वदलीय सरकार गठन प्रक्रियामा सहभागी हुन चाहँदैन भने सडक-सङ्घर्ष उसको एकमात्र विकल्प हुनेछ, जुन कुराको घोषणा माओवादी अध्यक्ष प्रचण्डले अहिले नै गरिसक्नुभएको छ । अन्य दलहरूलाई तर्साउने र फकाउने रणनीतिक चालबाजी जुन माओवादीले अपनाइरहेको छ यसलाई सबैले बुझेका छन्, तर झलनाथ खनाल र उहाँका समर्थकहरूबाहेक अन्य कसैले पनि माओवादीको चाहनामुताविक म्याद थप गर्ने इच्छा दर्शाएका छैनन् । तर, संविधानसभाका सदस्यहरूलाई आफ्नो हैसियतको मृत्यु स्वीकार गर्न निकै मुस्किल परिरहेको छ । तराईकेन्दि्रत दलहरूको संयुक्त मोर्चा मात्र एउटा त्यस्तो राजनीतिक शक्तिका रूपमा प्रकट भएको छ, जसले संविधानसभाको कार्यकाल थप नगरी ताजा जनादेशमा जाने निर्णय सार्वजनिक गरेको छ । मोर्चाले जबर्जस्ती म्याद थप गरिए संविधानसभाबाट सामूहिक राजीनामा दिने बताएर आफ्नो दृढताको खुलासा गरेको छ । काङ्ग्रेस पार्टीले यस सम्बन्धमा अहिलेसम्म कुनै ठोस निर्णय लिन सकिरहेको छैन । माओवादीमाथि दबाब सिर्जना गर्न भने काङ्ग्रेसले ‘पहिले शान्ति’को नीति अवलम्बन गरेको छ । लडाकु व्यवस्थापनका निम्ति माओवादी तत्काल तयार नभएमा काङ्ग्रेस पनि संविधानसभाको म्याद थप गर्ने पक्षमा जाने विश्वास गर्न सकिँदैन । पार्टी सभापति सुशील कोइराला र विमलेन्द्र निधिलगायतका नेताहरूले ताजा जनादेशका पक्षमा आफ्नो अभिमत जाहेर गरिसकेका छन् । शेरबहादुर देउवा र रामचन्द्र पौडेललगायतका केही नेता भने अझै पनि माओवादीको चाहनाबमोजिम संविधानसभाको कार्यकाल थप गर्न भित्री रूपमा प्रयासरत रहेको बताइन्छ । तर, माओवादी हतियार र लडाकु परित्याग गर्न तयार भएन भने देउवा या पौडेललगायतका नेताहरूको चाहना जे भए पनि अन्तत: काङ्ग्रेस पार्टीसमेत ताजा जनादेशका पक्षमा उभिने सम्भावना छ । काङ्ग्रेस नयाँ निर्वाचनको पक्षमा उभियो भने संविधानसभाको कार्यकाल थप नहुने निश्चित छ । त्यस्तो अवस्थामा माओवादीका अघिल्तिर दुईवटा विकल्प खडा हुनेछन्- बदलिने या सङ्घर्षमा उत्रने । सङ्घर्ष पनि शान्तिपूर्ण या सशस्त्र कुन मार्ग माओवादीको रोजाइमा पर्ने हो त्यसैले यो मुलुकको राजनीतिक भविष्य निर्धारण गर्ने देखिएको छ । अहिले सरकार आफूअनुकूलको रहेको हुँदा माओवादीलाई केही राहत त भएको देखिन्छ, तर संविधानसभामा दुईतिहाई मत जुट्न सकेन भने सबैभन्दा प्रतिकूल अवस्थाको सामना माओवादीले गर्नुपर्ने अवस्था टड्कारो हुँदै गएको छ । माओवादीलाई दुईतिहाई पुग्ने सम्भावना अहिलेसम्म देखापरेको छैन ।

मच्चिए-मच्चिए थच्चिए किरण
माओवादी पार्टीभित्र प्रचण्ड जे चाहनुहुन्छ त्यही मात्र हुन्छ भन्ने कुराको फेरि एकपटक पुष्टि भएको छ । पार्टीमा सर्वाधिक बलियो र सम्मानित मानिएका नेता मोहन वैद्य किरणलाई समेत आफ्नो हैसियत देखाइदिएपछि माओवादीमा प्रचण्डबाहेक अन्य कुनै नेताको प्रभावकारी हैसियत नरहेको पुष्टि भएको हो । प्रचण्डलाई मौका दिने, लाइन दिने र संरक्षकत्व दिने नेताका रूपमा परिचित मोहन वैद्य किरण चुनवाङ बैठक ? २०६२) पश्चात् पहिलोपटक पुन: नराम्रोसँग पराजित हुनुभएको छ । उहाँको क्रान्तिकारी लाइन प्रचण्डको पारित प्रतिवेदनको एउटा कुनामा ‘नोट अफ डिसेन्ट’ बनेर थन्किएको छ । तथापि वैद्य र उहाँका समर्थकहरूले प्रचण्डद्वारा कार्यक्रमचाहिँ आफूहरूकै स्वीकार गरिएको दाबी गरेका छन् । जनविद्रोहमा जाने कुरालाई पूर्णत: इन्कार नगरिएको र भारतसँगको प्रधान अन्तरविरोधलाई प्रचण्डले स्वीकार गरेको हुँदा वैद्यपक्षले आफ्नो प्रतिवेदन पारित नभए पनि चित्त बुझाएको छ । संविधानसभाको कार्यकाल थप गर्ने विषयमा माओवादीभित्र कुनै प्रकारको मतभिन्नता नरहेको तर कदाचित म्याद थप नभएमा प्रचण्डले सङ्घर्षभन्दा सम्झौता र विसर्जन रोज्ने हुन् कि भन्ने चिन्ता भएर मात्र वैद्यले नोट अफ डिसेन्ट लेख्नुपरेको वैद्यका निकटवर्तीहरूको भनाइ छ । केन्द्रीय समितिबाट आफ्नो प्रतिवेदन पारित नभए पनि संविधानसभाका एक सयभन्दा बढी सदस्य आफ्नो पक्षमा रहेको विश्वास वैद्यमा छ । माओवादीका कुल दुई सय सैंतीस सभासद् रहेका छन् । प्रचण्डले एकलौटी ढंगले अघि बढ्न खोजेमा समर्थक सभासद्हरू लिएर बाहिर निस्कने सोचमा वैद्य रहनुभएको बताइएको छ ।

माओवादीभित्र झगडा, गृहमा गुरुङ कि महरा
वैचारिक मतभेदको अस्थायी व्यवस्थापन गरेर क्षणिक राहत महसुस गरिरहेको माओवादीभित्र गृह मन्त्रालयको विषयलाई लिएर फेरि ‘झडप’ सुरु भएको छ । अध्यक्ष प्रचण्डले एकाएक कृष्णबहादुर महरालाई गृहको जिम्मेवारी दिनुपर्ने अडान राखेपछि पार्टीभित्र नयाँ विवाद देखिएको हो । पार्टीबाट सरकारमा सहभागी हुने थप मन्त्री छनोट गर्न मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले पनि गृहको जिम्मेवारी कसलाई दिने भन्ने विवादका कारण मन्त्री छान्न सकेन । बरु बैठकले जनपरिचालन गर्ने निर्णय गरेको छ । स्रोतका अनुसार बैठकमा गृहको जिम्मेवारी कसलाई दिने हो भन्नेबारेमा टुङ्गो नलागेसम्म थप मन्त्री छनोट गर्न नसकिने उपाध्यक्ष वैद्यले अडान लिएपछि बैठकले मन्त्री छान्न नसकेको हो । यसअघि नै पार्टीले गृह मन्त्रालय गुरुङलाई दिने निर्णय गरेको जिकिर गर्दै त्यसलाई बदल्न नहुने अडानमा वैद्य हुनुहुन्छ ।
‘पार्टी नेतृत्व आफ्ना मान्छेलाई राम्रा मन्त्रालयको मन्त्री बनाउन चाहने रोगले ग्रसित छन्,’ माओवादीका एक पोलिटब्युरो सदस्यले भन्नुभयो, ‘पछिल्लो समयमा त झन् गृहको कुरा आएको छ, यस्तो अवस्थामा पार्टीले सजिलै मन्त्री छान्न सक्ने अवस्था देखिँदैन । यदि यस्तै अवस्थामा मन्त्री छानिहाले धेरैको मुख रातो बन्ने पक्का छ ।’ ती नेताका अनुसार पछिल्लो समयमा प्रचण्ड र वैद्यले गृहलाई आफ्नो प्रतिष्ठाको विषय बनाउनुभएको छ । प्रचण्ड बाबुरामको सहयोगमा महरालाई गृहको जिम्मेवारी दिनुपर्ने अडानमा हुनुहुन्छ भने वैद्य गुरुङको पक्षमा । सुरुमा आफूले सबैभन्दा धेरै विश्वास गरे पनि पछिल्लो समयमा आफूले निकै धोखा पाएकोले महरालाई कुनै पनि हालतम गृहको जिम्मेवारी दिनु नहुने अडानमा वैद्य रहनुभएको बताइन्छ । उहाँले आफूनिकटस्थहरूसँग पनि महराबाट पटकपटक धोखा पाएको गुनासो गर्न थाल्नुभएको छ ।
गोर्खामा सम्पन्न विस्तारित बैठकबाट प्रचण्डले वैद्यसँग विलीन भई जनविद्रोहको कायनीति पारित गराउनुभएको प्रचण्डले वैद्यसँगको सहकार्यलाई बलियो बनाउन उहाँकै सिफारिसमा गुरुङलाई गृहको जिम्मेवारी दिन तयार हुनुभएको थियो । तर, हालै बसेको स्थायी समिति बैठकबाट बाबुरामसँग विलीन भई विस्तारित भेलाले तय गरेको कार्यनीतिलाई परिवर्तन गरी शान्ति र संविधानको गोरेटोमा आउनुभएका प्रचण्ड बाबुरामको सिफारिसमा नेता महरालाई गृहको जिम्मेवारी दिने निर्णयमा पुग्नुभएको हो । बाबुरामले यसअघि एक सार्वजनिक कार्यक्रममा गृह मन्त्रालय महरालाई दिनुपर्ने बताउनुभएको थियो ।

एउटै सन्दर्भका दुई समाचार
एमाले अध्यक्षसमेत रहनुभएका झलनाथ खनालसँग एमालेका वरिष्ठ नेताहरू केपी शर्मा ओली र माधवकुमार नेपालबीचको अन्तरविरोध चर्किँदै गएको बेला एउटै सन्दर्भमा दुई अलग-अलग व्यहोराका समाचार घटना र विचारलाई प्राप्त भएका छन् । खनालसँग नेपाल र ओलीको भेटवार्ता भएको विषयमा यसरी दुई किसिमका समाचार आएका हुन् । खनालनिकटको सूत्रले दिएको समाचार र ओली-नेपालनिकटबाट प्राप्त समाचार पाठकहरूको जानकारीका लागि जस्ताको त्यस्तै यहाँ प्रकाशित गरिएको छ ।

ओलीका निम्ति पद मागे माधवले
संविधानसभाको कार्यकाल सकिन तेइस दिन मात्र बाँकी रहे पनि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललेे पार्टीका प्रभावशाली नेता केपी शर्मा ओलीलाई संविधानसभाको सदस्य बनाउनुपर्ने प्रस्ताव राख्न छोड्नुभएन । आफ्ना सहयोगीहरूमार्फत पार्टी अध्यक्ष झलनाथ खनालसमक्ष पटकपटक ओलीलाई सभासद् बनाउनुपर्ने प्रस्ताव राख्दै आउनुभएका नेपालले हिजो मंगलबार खनालसँगको भेटमा पनि घुमारो ढङ्गबाट सोही प्रस्ताव अघि सार्नुभएको खनालनिकट स्रोतले बतायो । आफ्नै निवास कोटेश्वरमा भएको एक घन्टा लामो भेटमा नेपालले ओलीका लागि निर्वाचित सभासद्ले आफ्नो पद छाड्न तयार रहेको जानकारी गराउँदै संविधानसभाको म्याद थप्नुअगावै त्यसखाले व्यवस्था मिलाउन सुझाव दिनुभएको थियो । ‘ओली कमरेडलाई सभासद् बनाउँदा संविधान निर्माणमा पार्टीले थप प्रभावकारी भूमिका निर्वाह सक्ने नेपालको कथन थियो,’ स्रोतले भन्यो । स्रोतका अनुसार जवाफमा खनालले यस विषयमा आफू सकारात्मक रहेको प्रतिक्रिया दिनुहुँदै पार्टी र संसदीय दलमा छलफल गरेर उपयुक्त निकास निकाल्ने बताउनुभएको थियो । भेटमा संविधानसभाको म्याद कति समयसम्मका लागि थप गर्ने भन्ने विषयमा समेत छलफल भएको थियो । स्रोतका अनुसार खनालले कम्तीमा ६ महिना र बढीमा एक वर्षसम्मका लागि म्याद थप गर्नुपर्ने प्रस्ताव राख्नुभएको थियो । खनालले संविधानसभाको म्याद नथप्ने हो भने, देशमा अराजकता बढ्ने र तानाशाहीहरूले टाउको उठाउने मौका पाउने भन्दै मुलुकलाई जोगाउन पनि म्याद थपेर अघि जानुको विकल्प नभएको दाबी गर्नुभएको थियो । ‘अहिलेकै अवस्थालाई नियाल्दा १४ जेठभित्र संविधानको प्रारम्भिक खाका प्रस्तुत गर्न सकिने सम्भावना क्षीण हुँदै गएको खनालको निष्कर्ष थियो,’ स्रोतले भन्यो । खनालको भनाइ उद्धृत गर्दै समाचार स्रोतले भन्यो, ‘१४ जेठभित्र नयाँ संविधानको खाका प्रस्तुत गर्न सकिन्छ-सकिँदैन त्यो काङ्ग्रेस र माओवादीको हातमा छ, तर, संविधानसभाको म्याद थप्नुको विकल्प छैन, यस विषयमा तपाईंले ओली कमरेडलाई पनि सम्झाउनुपर्‍यो ।’
खनालले आफ्नो नेतृत्वको सरकार ढले काङ्ग्रेस र माओवादीलगायत अन्य दलको गठबन्धनमा सरकार बन्ने खतरा औंल्याउँदै आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । माओवादी र काङ्ग्रेसको गठबन्धनको सरकार बन्दा सबैभन्दा बढी घाटा एमालेलाई नै हुने भएकोले पनि त्यसखाले विपत्तिबाट जोगाउन पार्टीले दिलोज्यान दिएर यसलाई सघाउनुपनर्ेर्ेे खनालको जोड थियो । समसामयिक विषयमा पार्टीका वरिष्ठ नेतासँग परामर्श गरिएको भनिए पनि भेटमा खनालले सरकार र पार्टी सञ्चालनमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । खनालको भनाइ थियो, ‘हामी आफैं एक-अर्कालाई सिध्याउन लाग्यौँ भने हाम्रो अवस्था के होला, त्यसलाई विचार गरेर पनि हामी एक भएर अघि जानुको विकल्प छैन ।’
‘काम गर्ने क्रममा कमी-कमजोरी हुन्छ, त्यसलाई स्वाभाविकै रूपले लिनुपर्छ,’ खनालको भनाइ थियो, ‘आगामी दिनमा मबाट त्यस्ता गल्ती दोहोरिने छैनन्, म प्रतिबद्धता व्यक्त गर्छर्ुुर, मलाई पूर्ण सहयोग गर्नुपर्‍यो ।’ जवाफमा नेपालले पार्टीको निर्णयअनुसार अघि बढ्नुभयो भने हाम्रो सहयोग रहन्छ भन्नुभएको थियो । खनालले यसअघि १५ वैशाखमा अर्का नेता केपी शर्मा ओलीसँग पनि भेट गरी आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । रात्रिभोजसहित आफ्नै निवासमा भएको भेटमा नेता ओलीले पार्टी निर्णयअनुसार अघि बढे सहयोग रहने आश्वासन दिनुभएको थियो । यसअघि नेपाल-ओलीसहितको एक बेग्लै भेलाले प्रधानमन्त्री खनाल पार्टी निर्णयविपरीत गएको, तीन महिना पुग्दा पनि सरकारलाई पूर्णता दिन नसकेको, राष्ट्रिय सहमति कायम गर्न नसकेकोलगायतका आरोप लगाउँदै राजीनामा माग्नेबारेमा छलफल गरेका थिए ।
स्मरणीय छ, केही दिनअघिसम्म संविधानसभाको कार्यकाल थप गर्न नहुने पक्षमा अभिव्यक्ति दिँदै आउनुभएका माधव नेपाल गत सातादेखि अचानक पीपलको पातझैं पल्टिनुभएको छ । केपी ओलीलाई सभासद् बनाउँदा म्याद थप गर्ने विषयमा एमालेभित्र मत विभाजन नहुने विश्वास माधव नेपालको रहेको बताइन्छ ।

झलनाथलाई फिर्ता बोलाइने चेतावनी
प्रधानमन्त्री झलनाथ खनालले पार्टी निर्णयविपरीत नजाने र यसअघि भए/गरेका कार्यलाई सच्याउने लिखित प्रतिबद्धता आए मात्र आगामी दिनमा सहयोग गर्न सकिने नत्र सरकारबाट फिर्ता बोलाउने चेतावनी एमाले वरिष्ठ नेता माधव नेपाल तथा प्रभावशाली नेता केपी ओलीले दिनुभएको छ । ‘तपाईंले गरेका पछिल्ला कार्यबाट गम्भीर शङ्का उत्पन्न भएको छ, त्यसैले हामीबाट तपाईं सहयोगको अपेक्षा गर्नुहुन्छ भने तपाईं सुध्रनुपर्ने हुन्छ,’ नेपाल-ओलीको भनाइ छ । पार्टी अध्यक्षसमेत रहनुभएका खनाललाई चेतावनी दिँदै नेताद्वयले भनेका छन्, ‘पार्टी नियमविपरीत जाँदा कुनै पनि बेला र जो-कोहीलाई पनि पार्टीले कारबाही गर्न सक्ने भएकोले पार्टीको निर्णयअनुसार चल्नुमा नै सबैको भलाइ हुन्छ, त्यसैले तपाईं पनि पार्टी निर्णयअनुसार चल्नुभयो भने सबैको सहयोग पक्कै हुन्छ ।’

नेपालनिकट स्रोतका अनुसार
पार्टीलाई आफूखुसी चलाउन खोजेको र सरकार बनेको तीन महिना बितिसक्दा पनि उद्देश्यअनुसार काम नगरेकोले तपाईंलाई केको आधारमा सहयोग गर्ने भन्दै नेपालले खनाललाई प्रश्न गर्नुभएको थियो । जवाफमा खनालले काम गर्न खोजिरहेको र काम गर्दा भएका सामान्य कमजोरीलाई ठूलो विषय बनाउनु नहुने तर्क गर्नुहुँदै सहयोग गर्न आग्रह गर्नुभएको थियो । तर, नेपालले ‘तपाईंले मलाई होइन पार्टीलाई कन्भिन्स गर्नुस्, म सहयोग गर्न तयार छु, तर मौखिक होइन लिखित प्रतिबद्धताको खाँचो छ भन्नुभएको थियो,’ नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । ‘पार्टीमा बहुमत साथीहरू तपार्इंबाट भएको एकलौटी निर्णय र कार्यप्रति असहमत भएकोले आगामी दिनमा तपाईंबाट त्यसखाले कार्य नगर्ने लिखित प्रतिबद्धता आए एमाले नेताले मौका दिन सक्छन्, नेपालको भनाइ थियो,’ स्रोतले भन्यो । सरकारले गरेको कामले खनालको मात्र होइन, एमालेकै छवि धुमिल भएको नेपालको कथन थियो । पार्टी निर्णयलाई आफूअनुकूल व्याख्या गर्दै एकलौटी ढङ्गले अघि बढेको आरोप लगाउँदै पार्टी निर्णय कार्यान्वयन गरेमा पार्टीको समर्थन रहने नेपालको सुझाव थियो ।
त्यस्तै खनालले नेता केपी शर्मा ओलीसँग भेट गरी आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । ओलीले पनि पार्टी निर्णयअनुसार चल्ने लिखित प्रतिबद्धता जनाए एकपटकलाई सहयोग गर्न सकिने बताउनुभएको ओली निकट स्रोतको भनाइ छ । ओलीले तपाईंले गर्नुभएको कामले तपाईं पार्टीमा एक्लँदै जानुभएको हो, त्यसैले पहिले आफ्ना गलत कार्य सच्याउनुस् भन्नुभएको थियो । उहाँले गृह मन्त्रालयमा विशेष चासो देखाउँदै ‘गृह मन्त्रालय माओवादीलाई दिने कार्य तपाईंबाट भए त्यसै दिन पार्टीले सरकारबाट फिर्ता बोलाउनेछ, यस विषयमा सचेत हुनु आग्रहसमेत गर्छर्ुुभन्नुभएको थियो । अप्रत्यासित ढङ्गबाट केन्द्रीय कमिटीको बैठक स्थगित गरेकोमा आपत्ति जनाउँदै यसले पार्टी अध्यक्ष तानाशाही बन्न खोजेको पुष्टि हुने नेता ओलीको भनाइ थियो । नेता ओलीले तत्काल पार्टीको केन्द्रीय वा पोलिटब्युरो बैठक बोलाई त्यसबारे स्पष्ट पार्न पनि आग्रह गर्नुभएको थियो । स्रोतका अनुसार नेता ओलीकै आग्रहमा खनालले भोलि बिहीबार पोलिटब्युरो बैठक बोलाउनुभएको छ । बैठकमा सरकारको कामकारबाही, सरकारको नीति तथा कार्यक्रम, संविधान निर्माणमा देखिएका समस्या र तिनका समाधान, संविधानसभाको म्याद थपलगायतका विषयमा छलफल हुने बताइएको छ । खनालले गत बिहीबार ओली र मंगलबार खनालसँग भेट गरी आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

खुल्यो रहस्य भुवनकी गर्लफ्रेन्डको
‘यो अधबैंसे उमेरमा पनि तिमी के भएकी ? जे-जे हुनु भयो-भयो, अब हामीले भनेको मान, छोरीको उमेर हेर, आफ्नो लोग्नेको अवस्था पनि विचार गर… ।’
एकजना पाको उमेरका मानिस हालसालै चालीस पार गरेकी महिलातर्फ फर्केर उपरोक्त भाषामा सम्झाउन प्रयत्न गर्दै थिए । सँगै रहेकी अन्दाजी पच्चीस वर्षकी युवती पनि उनै महिलालाई अंगालो हाली-हाली भन्दै थिइन्, ‘ममी, तपाईं यसो नगर्नुस्, प्लिज मेरो उमेर पनि हर्ेर्नुस्, सबै कुरा विचार गर्नुस् र उचित निर्णय गर्नुस्, परिवार बचाउनुहोस्…।’
उपस्थित सबैको तारो बनेकी महिलाचाहिँ यसरी आफ्नो बचाउ गर्दै थिइन्, ‘होइन, मलाई तिमीहरू कसैले पनि अब सम्झाइरहनुपर्दैन, मेरो नाम उससँग जोडिएर आइसक्यो, सारा मिडियामा छाइसक्यो, बद्नाम भइसक्यो, अब मलाई मेरै निर्णयमा रहन दिनु नै उचित हुन्छ…।’
उपरोक्त संवाद हिजो मंगलबार महानगरीय प्रहरी परिसर जाउलाखेलमा जिल्ला प्रहरी प्रमुखको कार्यकक्षबाहिर केही सङ्ख्यामा जम्मा भएका महिला र पुरुषबीच हुँदा सुनिएको हो । उनीहरूबीचको छलफलतिर ध्यान दिएपछि थाहा भयो- ती महिला अरू कोही नभएर नेकपा एमालेका नयाँ नेता तथा नेपाली सिने उद्योगका पुराना नायक भुवन केसीले हालै सगर्व सार्वजनिक गर्दै आएकी आफ्नी ‘गर्लफ्रेन्ड’ रहिछिन् । उनलाई भुवन केसीले राम्रैसँग लठ्याइसकेकोले केसीकी श्रीमती बनेर जाने निर्णय उनले आफ्नो प्ररिवारसमक्ष नै सुनिएपछि त्यसो नगर्न उनका श्रीमान्, छोरी र आमा-बुबालेसमेत सम्झाइरहेका थिए ।
यसरी भुवनले आफ्नी गर्लफ्रेन्डकी रूपमा प्रचार गर्दै नयाँ घरजम बसाउने सुर कसेकी महिला ललितपुर सानेपा घर भई कुपण्डोलमा बुटिक सञ्चालन गर्दै आएकी शरि्मला डङ्गोल भएको रहस्योद्घाटन भएको छ । ४३ वर्षीया शरि्मलाका नाममा सारा घर-सम्पत्ति रहेको र त्यो सबै लट्पट्याएर उनी भुवनसँग जान लागेपछि उनका श्रीमान् रत्नसिंह डङ्गोल अत्तालिन पुगेका छन् । आफूले ०४० साल अर्थात् २८ वर्षअघि बिहे गरेकी पत्नी बिहे गर्ने उमेर र्घर्किन लागेकी २५ वर्षीया छोरीलाईसमेत अलपत्र पारेर हिँड्न लाग्दा सम्झाई-बुझाई गर्दा पनि नमानेपछि रत्नसिंह भुवनविरुद्ध प्रहरीमा उजुरी दिन पुगेका रहेछन् ।
बुझिएअनुसार सकभर भुवनसँग जानबाट रोक्ने, नसके सम्पत्ति छोडेर जानुपर्ने सर्त रत्नले तेर्स्याएका छन् । भुवनजस्ता बहुचरि्चत सिने नायक तथा मजदुरको हित गर्ने नीति लिएको एमाले पार्टीका नेताले अरू कोही नपाएर वर्कशपमा काम गरी गुजारा चलाउँदै आएको आफूजस्तो मजदुरकी पत्नीलाई ताकेकोमा क्षुब्ध बनेका रत्नसिंहले आफ्नो परिवार र सम्पत्ति बचाइदिन भुवनसँग आग्रह गरेको पनि बुझिएको छ । तर, सुष्मिताले छोडेर गएपछि एक्लिएर विक्षिप्त बन्न पुगेका भुवन शरि्मलालाई छोड्न नसक्ने मनस्थितिमा रहेको भुवननिकट स्रोतको दाबी छ ।

महासङ्घमा प्रजातान्त्रिक खेमा अगाडि
पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको निर्वाचन आज बुधबार राजधानीमा हुँदै छ । निर्वाचनका लागि विभिन्न पदमा गरी १०८ जना पत्रकारले उम्मेदवारी दिएका छन् । अध्यक्षका निम्ति मात्रै पाँचजना पत्रकारको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा तीन, सचिवमा तीन र कोषाध्यक्षमा पाँचजनाबीच प्रतिस्पर्धा हुँदै छ । अधिवेशन चलिरहेको प्रज्ञा भवन परिसर अहिले पत्रकारका बडेमानका तस्बिरहरूले भरिएको छ । सम्मेलन स्थललाई हेर्दा पत्रकारको भन्दा पनि राजनीतिक दलको चुनाव भएको भइरहेझैं देखिएको छ । उम्मेदवारहरू राजनीतिक रूपमै विभिन्न गुट-उपगुटमा विभाजित भएर चुनाव लडिरहेका छन् । जसअनुसार प्रजातान्त्रिक विचारधाराका दुई चरि्चत पत्रकारहरूले सभापतिमा उम्मेदवारी दिएका छन् । मुलुक वाममय हुँदै गएको यस घडीमा प्रजातान्त्रिक खेमाकै मानिसले महासङ्घको नेतृत्व लिनुपर्छ भन्ने पक्षमा अधिकांश पत्रकार रहेका छन् । महासङ्घमा मूल प्रतिस्पर्धा पनि प्रजातान्त्रिक खेमाकै उम्मेदवारहरूबीच हुने विश्वास गरिएको छ । नेपाल प्रेस युनियनले महासङ्घका महासचिव पोषण केसीलाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ भने प्रजातान्त्रिक तर स्वतन्त्र उम्मेदवारका रूपमा केदार कोइराला मैदानमा उत्रिएका छन् । कोइरालाले निकै अगाडि आफ्नो उम्मेद्वारी घोषणा गरेका थिए । पोषण केसीले महासङ्घको संरचनामा सदस्यदेखिकै अनुभव संगालेका छन । उता प्रेस चौतारी र क्रान्तिकारी पत्रकार महासङ्घले भने संयुक्त रूपमा शिव गाउँलेलाई अध्यक्षको रूपमा अगाडि सारेका छन् । स्मरणीय छ, महासङ्घमा प्रजातन्त्रवादी मतदाताको सङ्ख्या बढी छ । अध्यक्षकै लागि चन्द्रदेव कामती र डम्बर गिरीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । पाँचजना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भए पनि प्रेस स्वतन्त्रताको मुद्दामा प्रजातन्त्रवादीहरू सधैं अगाडि रहने गरेको हुँदा यसपटक पनि प्रजातन्त्रवादी खेमाकै विजय हुने विश्वास गरिएको छ । नेपाल पत्रकार महासङ्घमा वामपन्थी खेमाबाट अहिलेसम्म अध्यक्ष पद जितेको इतिहास छैन । यस्तै, उपाध्यक्षमा यशोदा तिम्सिना, रमेश विष्ट र विजयकुमार बर्माबीच प्रतिस्पर्धा हुँदै छ । रमेश यसअघि महासङ्घका कोषाध्यक्ष थिए भने यशोदा सदस्य थिइन् । महासचिवमा ओम शर्मा, रामजी दाहाल र दीपक पाठकले उम्मेदवारी दिएका छन् । रामजी महासङ्घमा सचिव थिए भने ओम शर्मा माओवादीभित्र अत्यन्त भद्र पत्रकार मानिन्छन् । दीपक मार्गदर्शन पत्रिकाका सम्पादक हुन् । सचिवमा जगत नेपाल, तिलक कोइराला, रामप्रसाद दाहाल, चन्द्रमान श्रेष्ठ र दिनेश्वर गुप्ताको उम्मेदवारी परेको छ । यस्तै कोषाध्यक्षमा वृजकुमार यादव, वीरमान शर्ेपा, नारायण अमृत, शीतल साह, उजिर मगर र गजेन्द्र बुढाथोकीको उम्मेदवारी परेको छ ।
यसपटकको चुनावमा सदाझैं राजनीतिक रूपमै प्यानल विभाजन गरेर पत्रकारहरूको उम्मेदवारी परेको भए पनि भोट भने त्यसरी पर्ने देखिँदैन । पत्रकारहरूले पत्रकारितामा उम्मेदवारको योगदान, अनुभव र आफ्नो व्यक्तिगत सम्बन्धका आधारमा भोट गर्ने सम्भावना बढी देखिएको छ ।
पूर्वाञ्चल, मध्यमाञ्चल, उपत्यका, पश्मिाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, कर्ण्ााली क्षेत्र, महिला, दलित, आदिवासी जनजाति, मधेसी, प्रतिष्ठान, एसोसिएट्स गरी सदस्यमा धेरैको उम्मेदवारी परेको छ । उपत्यकामा दीपक पाण्डे, कमल गुरुङ, युवराज विद्रोही, नवराज चालिसे, फणीन्द्र दाहाल र दामोदर तिम्सिना गरी ६ जना एक से एक सक्रिय पत्रकारको उम्मेदवारी परेको छ । प्रतिष्ठानका तर्फबाट सदस्यका लागि उम्मेदवारी दिनेहरूमा चरि्चत पत्रकारहरू मातृका पौडेल, मधुसूदन पन्थी अदि छन् । पन्थी विद्युतीय माध्यममा कार्यरत भए पनि उनी नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालमा आबद्ध पत्रकार हुन् । यस्तै महिलामा तृष्णा कुँवर, शान्ता बस्नेत, रीता गुरुङ, लीला शाह, संगीता खड्का, गौरी कठायत, दर्ुगा भण्डारी, रेणु झा र भावना विद्रोही गरी नौजना पत्रकारको उम्मेदवारी परेको छ । यी नौजनामध्ये तीनजना विजयी हुने प्रावधान छ ।
कुल तेह्र सय मतदातामा करिब ६ सय मतदाता प्रजातान्त्रिक खेमाको मात्र रहेको र स्वतन्त्र पत्रकारहरूले समेत प्रजातान्त्रिक खेमालाई नै मतदान गर्ने अवस्था रहेको हुँदा शिव गाउँले राम्रो उम्मेदवार भए पनि चुनावी मैदानमा प्रजातान्त्रिक खेमा अगाडि देखिएको हो ।

जानकी उमाविलाई अर्ढाई करोड अनुदान
कपिलवस्तु महाराजगञ्जस्थित जानकी उमाविको नयाँ तीनतले भवन निर्माणको लागि भारत-नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत मित्रराष्ट्र भारतले दुई करोड पचास लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा गत साता भारतीय राजदूतावास, जिविस कपिलवस्तु र जानकी उमाविबीच हस्ताक्षर भएको छ । साना विकास परियोजनाअन्तर्गत भारत सरकारको सहयोगमा कपिलवस्तुमा सुचारु यो तेस्रो विकास परियोजना हो ।
सन् १९५० मा प्राथमिक विद्यालयको रूपमा स्थापित भई सन् २००४ मा उमाविमा स्तरोन्नति भएको जानकी उमावि कपिलवस्तुको दक्षिण क्षेत्रका १२ गाविसको एकमात्र उमावि हो । भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने नयाँ पूर्वाधारले विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थीको शैक्षिक आवश्यकतालाई पूरा गर्नुका साथै सिक्न-सिकाउनका लागि समुन्नत वातावरण सिर्जना गरी त्यस क्षेत्रको शिक्षाको विकासमा सहयोग पुर्‍याउने स्थानीयवासीको कथन छ ।
नेपालको विकास र आर्थिक पुनर्स्थापनालाई द्रुत गतिमा अघि बढाउनुपर्ने महत्वलाई मित्रराष्ट्र भारतले आत्मसात् गरेको र सो का लागि सम्भाव्य सम्पूर्ण सहयोग प्रदान गर्न प्रतिबद्ध रहेको सो अवसरमा दोहोर्‍याइएको थियो । भारत-नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत सञ्चालन हुनेे परियोजना नेपालका सबै जिल्लालाई समेट्ने गरी शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका लागि हालै कार्यान्वयनमा रहेका तथा पूरा भएका ठूला तथा साना ३ सय ९० भन्दा धेरै परियोजनाको लागत ५८ अर्ब रहेको बताइएको छ ।

क्याम्पस तोडफोड
लमजुङ/ क्याम्पसको सिसा तोडफोड गरेको भन्दै कृषि विज्ञान तथा अध्ययन संस्थान, लमजुङ कृषि क्याम्पसका दुईजना विद्यार्थीलाई क्याम्पस प्रशासनले कारबाही गरेको छ । लमजुङको सुन्दरबजारस्थित कृषि क्याम्पसमा बीएस्सी एग्रिकल्चर दोस्रो वर्षमा अध्ययनरत प्रदीप थापा र निर्मल अधिकारीलाई जनही चार हजार आठ सय रुपैयाँ तिर्न लगाएको हो ।
क्याम्पसको छात्रावास र विभिन्न ल्याब रहेको कोठाका गरी २७ वटा सिसा फुटाएकोमा त्यसको क्षतिपूरि्तस्वरूप विद्यार्थीलाई पैसा तिर्न लगाएको क्याम्पसका प्रमुख डाक्टर यमबहादुर गुरुङले जानकारी दिनुभयो । थापा र अधिकारीले मदिरापान गरेर क्याम्पसको सिसा तोडफोड गरेका क्याम्पस प्रशासनले जनाएका छ ।

दस वर्षको क्षतिपूरि्त माओवादीले भर्नुपर्छ
लमजुङ/ नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान बन्दैमा जनताका अधिकार सुनिश्चित नहुने धारणा अघि सार्नुभएको छ ।
नेपाल तरुण दल लमजुङले पश्चिमी लमजुङको भोर्लेटारमा आयोजना गरेको बृहत् तरुण भेलाको उद्घाटन गर्दै नेता पौडेलले संविधान निर्माण भए पनि शान्तिप्रक्रिया टुङ्गोमा नपुगेसम्म जनताका अधिकारहरू सुनिश्चित हुन नसक्ने बताउनुभयो । शान्तिप्रक्रिया टुङ्गिनका लागि माओवादी हतियारविहीन हुनुपर्नेमा उहाँको जोड थियो । संविधान निर्माण प्रक्रियामा माओवादीले पटक-पटक भाँजो हालेको आरोप लगाउँदै नेता पौडेलले नेपाली काङ्ग्रेसले लोकतान्त्रिक संविधानका लागि अनुकूल हुने सुझाव दिएको र त्यसका आधारमा काम भएको भए एक वर्षअघि नै संविधान बनिसक्ने दाबी गर्नुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कमला पन्तले २००३ सालदेखि नेपाली काङ्ग्रेसले लडेर लोकतन्त्र ल्याएको दाबी गर्दै अहिले लोकतन्त्र धरापमा परेकोले लोकतन्त्र जोगाउनका लागि नेपाली काङ्ग्रेस गाउँ-गाउँमा आएको बताउनुभयो । माओवादीले सञ्चालन गरेको जनयुद्धले देशलाई १० वर्ष पछाडि पारेको भन्दै नेतृ पन्तले माओवादीले सोकोे क्षतिपूरि्त जनतालाई दिनुपर्ने बताउनुभयो ।
नेपाल तरुण दल लमजुङका सभापति रमेश पाण्डेको अध्यक्षतामा सम्पन्न बृहत् तरुण भेलामा नेपाली काङ्ग्रेसका स्थानीयस्तरका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता थियो ।
-छविलाल बगाले

शोकसभामा प्रतिष्ठान स्थापनाको घोषणा
दावाँली मिलन क्लब, काठमाडौंका सल्लाहकार एवम् संरक्षक माधवप्रसाद श्रेष्ठकी धर्मपत्नी लक्ष्मी श्रेष्ठको तेह्रौँ दिनको पुण्यतिथिमा नीराजनविक्रम मार्गस्थित कृष्णलक्ष्मी स्मृति कुञ्जमा गत वैशाख १५ गते उल्लेख्य उपस्थितिबीच दावाँली समाजका अध्यक्ष नारायणप्रसाद श्रेष्ठको अध्यक्षतामा शोकसभा सम्पन्न भयो । सभास्थलमा सजाएर राखिएको स्वर्गीय लक्ष्मी श्रेष्ठको तस्बिरलाई फूलमाला अर्पण र दुई मिनेटको मौनधारणपछि सभाको सञ्चालन दावाँली मिलन क्लबका अध्यक्ष वीरेन्द्रप्रकाश श्रेष्ठले गर्नुभएको थियो । क्लबका महासचिव रोशन श्रेष्ठले आफ्ना ममतामयी माताश्रीको शोकसभामा उपस्थित सबैको स्वागत गर्नुहुँदै धन्यवाद ज्ञापन गर्नुभयो ।
सो सभाबीच साप्ताहिक घटना र विचारका स्तम्भकारसमेत रहनुभएका माधवप्रसाद श्रेष्ठले आफ्ना स्वर्गीय माताश्री एवम् धर्मपत्नीको नाममा काठमाडौंमा ‘कृष्णलक्ष्मी तथा लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान’ स्थापना गर्ने र सो प्रतिष्ठानको शाखा भोजपुर दावाँमा समेत रहने जानकारी दिनुभयो । स्व. कृष्णलक्ष्मी र लक्ष्मी श्रेष्ठको संयुक्त नाममा वा छुट्टाछुट्टै रूपमा सम्मानपत्रसहित पुरस्कार दिने व्यवस्था गरिने बताइएको सो अवसरमा प्रतिष्ठानका संस्थापक स्वयम् माधवप्रसाद श्रेष्ठका नाममा पनि पुरस्कार स्थापना गरिने अवधारणा रहेको जानकारी दिइयो । जनपयोगी बचत तथा ऋण सहकारी संस्थामा सुरुमा पाँच लाख जम्मा गरी त्यसबाट प्राप्त हुने ब्याजबाट कार्य सञ्चालन गर्ने, कोषलाई वृद्धि गर्दै लगिने, २००७ सालको जनक्रान्तिमा अग्रणी भूमिका खेल्ने भोजपुर जिल्ला र सिद्धेश्वर तथा गुप्तेश्वर गाउँ विकास समितिको हावापानी तथा माटोबाट मौलाई उठेको कला, साहित्य, सङ्गीत, शैक्षिक, सामाजिक, स्वास्थ्य, सांस्कृतिक तथा आर्थिक क्षेत्रसमेतका विद्वान् लब्धप्रतिष्ठित व्यक्तित्वहरूलाई प्राथमिक क्रममा राखी यसै विधाका अग्रणी भूमिका खेल्ने राष्ट्रव्यापी रूपमा चामत्कारिक कार्य गर्ने व्यक्तित्वहरू र नागरिक उड्डयन, खेलकुद तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूलाईसमेत पुरस्कृत गरिने संस्थापक माधव श्रेष्ठले बताउनुभयो । प्रतिष्ठानलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि कम्तीमा सातजनाको विद्वान् समूहले एकेडेमीको रूपमा काम गर्ने र सुरुमा स्व. लक्ष्मी श्रेष्ठको प्रथम पुण्यतिथिको अवसर पारी स्रष्टा-सर्जकहरूलाई पुरस्कृत गर्ने कार्यनीति अख्तियार गरिने बताउँदै श्रेष्ठले त्यसपछि दुई वर्षको समय निर्धारण गर्न उपयुक्त ठानिएको पनि बताउनुभयो ।

तेजको तेजिलो पदचाप
मान्छे सरल हुनु एउटा गुण हो, विचारको अभिव्यक्ति पनि सरल हुनु अझ सुनमा सुगन्ध नै हो । साहित्यकार तेजप्रकाश श्रेष्ठको नवीनतम् नियात्रा कृतिलाई यस्तै कोटिमा राख्न सकिन्छ ।
तेजप्रकाश श्रेष्ठ साहित्यका विभिन्न विधामा चाहार्न रुचाउने व्यक्ति हुन् । कुनै एक विधामा केन्दि्रत रही सिर्जनारत रहँदा सिरि्जत रचनाहरूमा न्याय हुनसक्छ भन्ने मान्यता एकातिर सही र मान्य देखिन्छ भने तेजप्रकाशको सन्दर्भमा यो ठ्याक्कै नमिलेको पनि देखिन्छ । तेज एउटै विधामा बन्धित छैनन् । तर पनि उनका कुनै पनि रचनामाथि अन्याय भएको पनि देखिँदैन । प्रौढ कथासङ्ग्रह, कवितासङ्ग्रह, लोकसाहित्य, संस्कृतिलगायत बालसाहित्यका लगभग सबै विधामा उनको कलम सक्रिय रहेको छ । तर यी सबैमध्ये नियात्रामा तेजको रुचि विशेष रहेको देख्न भने सकिन्छ । अझ बालबालिकाका लागि नियात्रा लेख्ने असाध्यै कम सर्जकहरूमा उनी पनि पर्दछन् । उनको हालै सार्वजनिक भएको नियात्रा सङ्ग्रह ‘स्वप्नलोका पदचाप’ बालबालिकाका लागि भने होइन ।
सारा संसारको बौद्धिक दृष्टिले केन्द्र मानेको अमेरिकालाई तेजले स्वप्नलोक मानेका छन् । अमेरिका अन्य लाखौँका लागि पनि स्वप्नभूमि हो । ‘स्वप्नलोकका पदचाप’मा समेटिएका २१ नियात्रा तेजका अमेरिका बसाइका साबिती बयान हुन् । तेजको अमेरिका बसाइ लामो थिएन तर अनुभूतिको शृङ्खला भने नाप्न नसकिने खालको रहेछ । छोटो बसाइमा पनि तेजको पदचापले लामो दूरी नापेको रहेछ- यस नियात्रा सङ्ग्रहमा यही देख्न सकिन्छ ।
नियात्रा-सङ्ग्रह प्रत्येक नियात्रा कुनै कवितांशबाट सुरु गरिएका छन् । धेरैजसो कवितांश लेखकका स्वरचित हुन् भने केही सापटी लिइएका र बाँकी अन्य कविद्वारा उनीमाथि कृपा गरिएका हुन् । त्यहाँ एउटा गजबको तालमेल भने अवश्य छ, प्रत्येक कवितांश सरल छन्, नियात्रा अनि तेज स्वयम्झैं ।
२१ नियात्रामा थुप्रै ठाउँमा स्थान दोहोरिएका छन् तर प्रसङ्ग बेग्लै, भेटघाट बेग्लै, रौनक बेग्लै, वातावरण बेग्लै, घटना बेग्लै । ठाउँ, परिवेश फरक भए पनि तेजले सादापनलाई छाडेका छैनन् त्यसैले त प्रत्येक ठाउँमा उनले न्यानो स्वागत पाउँछन्- चाहे त्यो सेन्ट लुइस् होस् वा वासिङ्टन डीसी । वा पश्चिमी भरि्जनिया होस् वा इन्डियानापोलिस होस्-तेज प्रवासी नेपालीमाझ आफूलाई सहज बनाउँछन् ।
तेजको यो भ्रमण नितान्त पारिवारिक तथा व्यक्तिगत थियो । त्यसैले यो पुस्तकलाई उनको व्यक्तिगत वा पारिवारिक यात्राको दस्तावेज हो भन्न सकिएला तर स्वप्नलोकका यी पदचापले व्यक्तिगत स्थान मात्रै नापेका छैनन् । प्रत्येक पदचाप सार्वजनिक स्थलका साक्षी बन्न आतुर भएका देखिन्छन् । उनको गतिले अमेरिका निर्वासनको नेपाली समाजलाई छामेको छ, नेपालीपन गुमाउँदै गएको अमेरिकाको नेपाली जनजीवनलाई निहालेको छ । त्यति मात्रै होइन नेपाली अस्तित्वलाई सङ्कटापन्न पार्न खोज्ने अवस्थाहरूप्रति नेपाली आँसु रोएको छ । त्यसैले ‘स्वप्नलोकको पदचाप’लाई अब तेजको व्यक्तिगत निधिमात्रै मान्न नमिल्ने अवस्था सिर्जना भएको छ ।
-कृष्णदीप सिग्देल

माइन्ड म्यानेजमेन्ट कार्यशाला
बेलाबेलामा अर्काका लागि माइन्ड म्यानेजमेन्ट कार्यशाला सञ्चालन गर्दै आएको म्यानेजमेन्ट एसोसिएसन अफ नेपालले हालै आफ्नै स्टाफहरूका लागि सोसम्बन्धी शिविर सञ्चालन गर्‍यो । चालीसजनाको सहभागिता रहेको कार्यक्रममा स्पाउस म्यानेजमेन्टबारे प्रवचन दिइएको थियो । आचार्य स्वामी ध्रुवका सहयोगी सहआचार्य स्वामी रामसङ्गीतले माइन्ड म्यानेजमेन्टका लागि ध्यान पनि सिकाउनुभएको थियो ।

पोखरामा ओशोको उपवन
ध्यानलाई बहुआयामिक साधनाको मार्ग भनी सिद्ध गर्ने गुरु ओशो रजनिशका अनुयायीहरू विश्वभर नै रहेका छन् । रजनिशका अनेकौँ विचारमध्ये ‘सम्भोगबाट समाधितिर’ बाट उनले विश्वभर नै आफूलाई थप चर्चामा ल्याउन सफल भएका थिए । साथसाथै उनले आफ्नो दार्शनिक क्षमता प्रवचनहरूमार्फत विश्वभरि नै फैलाएका हुन् । विश्वका अनेकौँ देशमा उनका ध्यान केन्द्रहरू रहेका छन् । ती ध्यान केन्द्रहरूमा ध्यानगुरुहरूले ध्यान कसरी गर्ने भन्नेबारेमा प्रशिक्षण दिने गरेको स्वामी योगानन्द बताउँछन् । नेपालको एक मात्र ओशो ध्यान केन्द्र ? काठमाडौंस्थित) ‘तपोवन’ नामले सुप्रिसिद्ध छ । तपोवनमा ध्यान शिविरमार्फत ओशोपे्रमीहरू दीक्षित हुँदै आएको बताइन्छ । ओशो केन्द्रले आफ्ना अनुयायीहरूलाई अझ सहज होस् भनी देशका विभिन्न ठाउँहरूमा ध्यान केन्द्रको स्थापना गर्ने बुझिएको छ । यसै सिलसिलामा नेपालको सुन्दर नगरी पोखरामा ‘ओशो उपवन’को निर्माण भइरहेको छ । तपोवनमा जस्तै उपवनमा हाल दुई आश्रम ? ध्यान केन्द्र र अतिथिगृह) को निर्माण भइसकेको छ । करिब ३५ रोपनी क्षेत्रफलमा फैलिएको उपवन पोखरा नगरपालिकाअन्तर्गत दोबिल्ला गाउँमा पर्छ । प्राकृतिक छटाले भरपूर सेती नदी र फेवातालबाट बग्ने पानीबाट बनेको फुर्केखोलाको संगमस्थलमा निर्माणाधीन उपवनले जीवन परिवर्तनमा ठूलो महत्व राख्ने बताउँछन् रामस्वामी । उनी थप्छन्, ‘साधनाद्वारा जीवन परिवरि्तत गर्नमा प्राकृतिक वरदान हुन् ।’ उपवन क्षेत्रमा पूर्ण साकाहारी एवम् लागूपदार्थरहित रहनुपर्ने अनिवार्यता छ । अर्को उपवनसँग भक्तहरूले केन्द्रभित्र पनि जमिन किनेर आश्रमको निर्माण गर्न एवम् बसोबास गर्न सकिने प्रावधान रहेको छ । तर, माथि भनिएझैं शुद्धता हुनुपर्नेलगायत दैनिक कुण्डलिनी जागरणलगायतका ध्यान अनिवार्य गरेकै हुनुपर्ने रहेछ । हाल व्यक्तिगत तवरले दस आश्रम बन्ने तयारीमा छन् । ‘आनन्दगृह स्वामी योगानन्दको । ‘सारीपुत्र गृह’ स्वामी तन्मयको, उहाँ स्वामी आनन्द अरुणको ‘केयरटेकर’ ? सहयोगी) का रूपमा हुनुहुन्छ । ‘महाकास्यप’ स्वामी प्रा. देवदर्शनको रहेका छन् । निरि्मत आश्रमका कक्षहरूको समेत मौन, आत्मबोध, साधना, समाधनीजस्ता नामहरूले नामकरण गरिएको छ । उपवन विभिन्न मूल्यवान फूल एवम् वनस्पतिद्वारा सुसज्जित गरिने भएको छ । त्यसमा मूरि्तकलाले विशेष स्थान लिने कुरा कलाकार एवम् मूरि्तकार अशेष तिम्सिना बताउँछन् । उपवनको शोभा भनेकै यहाँ स्थापित गर्न लागिएको गुरु ओशो रजनिश र चेला स्वामी आनन्द अरुणको गुरुलाई नमन गरिएको मुद्राको प्रतिमा हुने कुरा मूरि्तकार अशेषले पङ्क्तिकारलाई बताए । उपवन आफ्नो क्षमताले भ्याएसम्म लोककल्याणकारी त हुने नै छ सँगसँगै राष्ट्रले पर्यटन वर्ष मनाइरहेको यस घडीमा आन्तरिक पर्यटनमा समेत टेवा पुर्‍याउने विश्वास लिन सकिन्छ ।-टंकमणि निरौला

वनकालीमा फेरि कालीबाबा
सनातन हिन्दूराष्ट्र नेपाल कायम गर्ने लक्ष्यका साथ विश्वशान्तिसमेतको कामना गर्दै कालीदास बाबाले पशुपतिनाथ वनकालीमा अखण्ड महायज्ञ सुरु गरेका छन् । ‘श्री सहस्र रुद्रचण्डी अखण्ड महायज्ञ’ नाम दिइएको महायज्ञ आज बुधबारदेखि आरम्भ भई आगामी २९ गतेसम्म अहोरात्र जारी रहनेछ ।
आदिकालदेखि नेपालको गौरवका रूपमा रहेको ‘सनातन हिन्दूराष्ट्र नेपाल’ पहिचान कायम गराउन स्वाभिमानी सबै नेपाली तथा संसारका हिन्दूदर्शनप्रेमीहरू एकत्रित हुनुपर्ने बेला आएकोले कालीबाबाको सत्सङ्कल्पमा महायज्ञ आयोजना गरिएको महायज्ञ पालन मूल समितिका सभापति हरिबोल भट्टराईले जानकारी दिनुभयो । हिन्दूराष्ट्र कायम रहँदा नेपाली समाजमा सद्भाव, एकता र सहिष्णुताले व्यापकता पाएको परिवेशमा तथाकथित रूपमा घोषणा गरिएको धर्मनिरपेक्षताले भद्रगोल अवस्था निम्त्याएको दाबी गर्दै भट्टराईले महायज्ञमा दसमहाविद्याका दस कुण्ड र भैरवनाथको पूजा उपासनाका निम्ति अर्को एक गरी एघार कुण्डमा नौ दिनसम्म अखण्ड हवनपूजा गरिनेसमेत बताउनुभयो ।

फेरि नोटको हाहाकार हुने
बेलायती कम्पनी डेलारूबाट भएको टेन्डर नियमविपरीत देखिने एउटा सानो त्रुटिले गर्दा सन् २०११ पेब्रुअरी २१ तारिखमा खुलेको रु. १००० दरको १० करोड थान नोटको टेन्डर हालसम्म नेपाल राष्ट्र बैकले निर्णय गर्न सकेको छैन । डेलारूले राष्ट्र बैंकको सर्तभन्दा फरक कोटिको कागज प्रयोग गर्ने व्यहोरा टेन्डर फारममा उल्लेख गरेको थियो । राष्ट्र बैंकका केही उच्च कर्मचारी डेलारूलाई दिन व्यग्र देखिन्छन् । तर, फेरि पनि डेलारूको पक्षमा निर्णय गर्नचाहिँ हच्किएका छन् । खाइनपाई अख्तियार धाई नहोस् भन्ने सोच उपल्लो तहका हाकिमहरूको रहेको छ ।
आउँदो दशैंका लागि पाँच सयको नोटको कमी हुनसक्ने देखिएपछि हजारका नोटले मागको चाप थेग्ने मनसायले यो टेन्डर खुलेको थियो । निर्णय लिन दुई महिनाभन्दा बढी ढिलो भएको कारण अब दशैंअघि कुनै हालतमा यो टेन्डरमार्फत रु. १००० को नोट आउन सम्भव ठानिएको छैन । बैंकहरूलाई आउँदो दशैंमा पनि हजार र पाँच सयका नोटहरूको हाहाकार हुने सम्भावना बढेको छ ।
अर्कोतर्फ डेलारूका हालसालै नियुक्त स्थानीय प्रतिनिधि सन्नी श्रेष्ठ र दोस्रो कम मूल्य तोक्ने ओबरथरका प्रतिनिधि अर्जुन थापा आफूले पाउनुपर्ने जिकिर गर्दै दौडाहा चलाएका छन् । नेपालमा ओबरथर एमआरपी छाप्ने शक्तिशाली कम्पनी मानिन्छ । पहिलो र दोस्रो कम मूल्य तोक्नेबीच प्रति रु. १००० नोटमा ६ पैसाको फरक छ । तेस्रो कम मूल्य तोक्ने इन्डोनेसियाको कम्पनीका रवि सिंहचाहिँ विवादित टेन्डर खारेज गरेर नयाँ टेन्डर खोल्नुपर्छ भन्नेमा लागिपरेको बताइन्छ । ने.रा.बैं. का तल्लो तहका कर्मचारीहरू भन्छन्- विगतमा टेन्डर खुलेको ढिलोमा सात दिनभित्र स्वच्छ निर्णय गरिन्थ्यो । यसअघि कहिल्यै यस्तो विलम्ब भएको थिएन ।
-किरण बुढाथोकी

कुँवर अमेरिकामा पुरस्कृत
दक्षिणपूर्वी एसियामा ड्रग्सविरुद्ध योगदान दिएबापत नार्कोनन् नेपालका प्रमुख वसन्तराज कुँवर अमेरिकाको लसएन्जलसमा सम्मानित हुनुभएको छ । गत शनिबार लसएन्जलसको एम्बेसी स्विट होटलको कन्पेन्स हलमा अन्तर्राष्ट्रिय एबल सङ्गठनका प्रमुखले उहाँलाई कदरपत्र प्रदान गर्नुभयो । यसप्रकारले सम्मानित हुने उहाँ एक्लो व्यक्ति हुनुहुन्छ । नार्कोनन् सङ्गठनमा काम गर्ने देश तथा क्षेत्रका प्रमुखहरूको अमेरिकामा भएको अन्तर्राष्ट्रिय भेलामा करिब १२७ जना नार्कोनन् अन्तर्राष्ट्रिय प्रमुख तथा कर्मचारीको समुपस्थितिमा कुँवरलाई सो सम्मान गरिएको थियो ।
अमेरिकाबाट सम्मानित भएको अवसरमा प्रतिक्रिया दिँदै कुँवरले भन्नुभयो, ‘यो कदरपत्रले मलाई दक्षिणपूर्वी एसियालाई दुर्व्यसनमुक्त बनाउन अझै सशक्त ढङ्गले काम गर्ने प्रेरणा मिलेको छ ।’

माछापुच्छ्रेद्वारा सहयोग
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समयमा बाढीपहिरो तथा आगलागीपीडितहरूको राहतको लागि सहयोग उपलब्ध गराउनुका साथै नेपाल अधिराज्यभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरूमार्फत सामाजिक, आथ्ािर्क, शैक्षिक तथा खेलकुदलगायतका क्षेत्रको विकासमा उल्लेख्य योगदान गर्दै आएको माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल नेत्रज्योति सङ्घ मातहत भरतपुर चितवनमा सञ्चालित ‘भरतपुर आँखा अस्पताल’का लागि करिब २ लाख एक हजारबराबरको कम्प्युटर तथा प्रिन्टर सहयोग उपलब्ध गराएको छ । एक समारोहको आयोजना गरी बैंकका प्रमुख कार्यकारी अधिकृत भाइकाजी श्रेष्ठले ती उपकरण अस्पताल सञ्चालन समितिका अध्यक्षलाई हस्तान्तरण गर्नुभएको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखराको प्रसिद्ध धारि्मकस्थल विन्ध्यवासिनी मन्दिरमा एक भव्य पार्कको निर्माण गर्ने तथा ललितपुर नगरपालिका- ३ मा त्रिपुरासुन्दरी मन्दिर निर्माण कार्यमा समेत उल्लेख्य आर्थिक सहयोग गरेको छ ।
हाल उक्त बैंकले नेपाल अधिराज्यभर छरिएर रहेको आफ्नो ३९ वटा फुल फ्लेज बैंकिङ सेवा दिने शाखाहरू र ५७ वटा एटीएमहरूबाट आफ्ना करिब एक लाख ५० हजार ग्राहकहरूलाई आधुनिक तथा भरपर्दो बैकिङ सेवा उपलब्ध गराउँदै आएको दाबी गरेको छ ।

ठगिँदै छन् जनकपुरका रिक्सायात्री
जनकपुर नगपालिकामा अव्यवस्थित रूपमा रिक्सा व्यवसाय सञ्चालन भएका कारण नगरमा मनपरी भाडादरले रिक्सा यात्रुहरू ठगिँदै आएका छन् ।
अव्यवस्थित रिक्सा व्यवसायको विषयमा पटकपटक जनकपुर नगरपालिकाले पहल गरे पनि त्यसमा सुधार भने आएको छैन । जनकपुर नगरपालिका कार्यालयले निश्चित भाडादर निर्धारण गरे पनि त्यसको कार्यान्वयन नहुँदा सेवाग्राही समस्यामा परेका हुन् । जनकपुर नगरपालिका एक कर्मचारीहरूका अनुसार रिक्साको लागि दररेट कायमसमेत गरिए पनि त्यसको कार्यान्वयनका लागि जनपाद्वारा खासै काम नभएको बताए । यता आफूहरूले रिक्साको भाडादर कायम गर्न पटकपटक छलफल गर्ने गरेको तर रिक्साचालक सङ्घ धनुषाले यसप्रति कुनै खासै चासो नलिएको जनपाका लेखा प्रमुख जयचन्द्र मिश्रको कथन छ ।
जनकपुर नगरपालिकामा कतिपय रिक्सा त बिनादर्ता पनि सञ्चालनमा रहेको छ । बिनादर्ताको रिक्सा सञ्चालन रहेको कारणले गर्दा पनि यात्रुहरू ठगिँदै आएको छ ।
जनकपुर विमानस्थलबाट शिवचोक आएका रामप्रसाद साहका अनुसार रिक्सामा चढ्दा आफूहरूसँग दुई सय रुपैयाँ भाडाबापत माग गरिएको बताए । उनका अनुसार आफूले अत्यधिक भाडा भएको बताएपछि रिक्साचालकले किचकिच गर्न थालेपछि आफूले दुई सय रुपैयाँ दिएको बताए । रिक्सा पार्किङको व्यवस्था एवम् भाडादर कायम गर्ने जिम्मेवारी जनकपुर नगरपालिकाको रहे पनि यसतर्फ नगरपालिका उदासीन रहेको
स्थानीयहरू बताउँछन् ।-निरञ्जन साह

यसरी जिते मैनालीले मृत्यु
सय मिटरभन्दा अग्लो भीरबाट चिप्लँदा टाउकोमा गहिरो चोट लागेर दुई दिन लगातार बेहोस भई होस खुलेपछि पनि थप चार दिन पानीसम्म पिउन नपाउँदासमेत मानिस जीवित नै रहेको सुन्दा पत्याउन गाह्रै पर्छ । तर, पत्याउनै नसकिने यस्तै दुर्घटनाको भुक्तभोगी साक्षी बनेका छन् र्सलाही जानकीनगरका इन्द्रप्रसाद मैनाली ।
सिन्धुलीको क्यानेश्वर गाविसस्थित झनझने निमाविका शिक्षक ३९ वर्षीय मैनाली गत चैत ८ गतेका दिन स्कुल छुट्टीको मौकामा आफन्त भेट्न एक्लै हिँडेका थिए । मनमा अनेक तर्कना बोकेर बाटो काट्दै गर्दा कालिलेक भन्ने स्थानको एकान्त जङ्गलबीच मोक्तानभीरमाथिको बाटोमा असरल्ल परेका सालको सुकेको पातमा चिप्लिएर मैनाली छङ्गाछुर भीरमा खस्न पुगे । भीरमा धसारिँदै गर्दा आफूलाई तल खस्नबाट जोगाउने प्रयत्न उनले नगरेका होइनन्, तर र्व्यर्थ भयो । बीचमा एकपटक रोकिए पनि समात्ने आधार केही नपाउँदा उनी पुन: तल्तिर खसे ।
यतिबेला वीर अस्पतालमा उपचाररत मैनाली भन्छन्, ‘दिउँसो ३ बजेतिर त्यस्तो घटना भएपछि भोलिपल्ट दस-एघार बजेतिर हुनुपर्छ- धमिलो गरी मेरा आँखा खुले । बिछट्टै तिर्खा लागिरहेको थियो । नजिकै अगाडि एउटा गाउँ देखेँ, मानिसहरू घैंटोमा पानी बोकिरहेका थिए । मैले पानी खान मागेँ, तर कसैले वास्तै गरेनन् । अचम्म लाग्यो । उठ्न खोजेँ, सकिनँ । टाउको उठाउन खोज्दा पछिल्तिरबाट कसैले तानेजस्तो लाग्यो । एउटा खुट्टा सुन्निएर बडेमाको भएको पछिमात्र चाल पाएँ । शरीर पूरै दुखेको थियो, टाउकोको दु:खाइ असैह्य थियो । अनि पो मलाई लाग्यो- होइन म त लडेँछु कि कसो हो ? बुझेँ मैले कि अगाडि देखिएको गाउँ, पानी बोकेको मान्छे, सबै मेरो भ्रम रहेछ, त्यो अनकन्टार ठाउँमा कताको मान्छे, कताको पानी ? त्यसपछि म लत्रक्क भई त्यत्तिकै उत्तानो परिरहेँ ।’
यसरी होस खुलेपछि पनि इन्द्रप्रसादको तीन दिन त्यत्तिकै बित्यो । दिउँसो घाम लाग्दा उनी निदाउँथे, राति चिसोले गर्दा जागै रहन्थे । हलचल गर्न सक्दैनथे, भोकभन्दा पनि तिर्खाले चौपट्टै सताउँथ्यो उनलाई । यसैबीच फेरि एकपटक तन्द्रामा परेछन् उनी । नजिकै कसैले भाँडोमा पानी भरेको आभास भएछ र त्यहाँ पुग्न भनी जोड लगाएर घ्रि्रने प्रयत्न गर्दा अड्किएको स्थानबाट पनि थप पचास फिटजति उनी खस्न पुगेछन् । यसरी झन् घाइते बनेपछिचाहिँ बाँच्ने आशा मार्न थाले उनले । छैटौँ दिनका दिन फेरि बल गरेर अलिकता घस्रिएपछि गौलेतो भन्ने झार भेटेर उनले उखेले र त्यसको डाँठहरू चुसेछन् । त्यो रात पानी पनि परेछ । यसले उनको शरीर केही बौरिएछ र आँखाले पनि छ्याङ्ग देखेछन् । अनि पो उनलाई पूर्ण ज्ञान भयो त्यहाँ नजिकै कुनै घर छैनन्, मानिस छैनन्, पानी छैन, केवल अनकन्टार पहरो र वरपर जङ्गल मात्र छ भन्ने ।
त्यही दिन दिउँसो दुईजना तामाङ गीत गाउँदै घाँस काट्न आएछन् । त्यसले मैनालीको मरेतुल्य हृदयमा आश जगायो । उनले सकेजति शक्ति लगाएर उनीहरूलाई ‘दाइ’ सम्बोधन गरेर बोलाए । उनीहरू नजिक आए । त्यसरी अनकन्टारमा घाइते मानिस देखेर ती गाउँले एकछिन् त अक्क न बक्क परेछन् । मैनालीले सर्वप्रथम पानी खान मागे, तर नजिक कतै पानी नभएको र गाउँ पुग्न दुई घन्टाजति लाग्ने जवाफ सुन्दा उनलाई बितेको ६ दिनभन्दा पनि गाह्रो भएछ । उनको पीडा महसुस गर्दै ती दुई ‘देवदूत’ले नजिकको बाँसको घना काटी त्यसभित्रको पानी निकालेर खुवाएछन् । मैनालीको शब्दमा ६ मानाजति पानी निलेपछि उनी जुरुक्क उठे र तत्काल फेरि थचारिए ।
भीरमा बाटो बनाएर उनै दुईले उद्धार गरी गाउँ पुर्‍याइएका मैनालीलाई आफन्तहरूले काठमाडौं वीर अस्पताल ल्याए भने यतिबेला ‘मैनाली सेवा समाज’को सहयोगमा उपचार चलिरहेको छ । ६ हप्तासम्म टाउको नचलाईकन एउटै बेडमा बस्नुपर्ने चिकित्सकीय अवधि पार हुन अझै साता दिन ? आज बुधबार पैंतीसौँ दिन) उनले कुर्नुपर्नेछ । त्यसपछि उपचारको दोस्रो चरण आरम्भ हुने जानकारी डाक्टरहरूबाट पाएका छन् मैनालीले । आफूले मृत्युलाई नजिकबाट देख्न-बुझ्न पाएको र देवदूतका रूपमा प्रकट भएका दुई तामाङ गाउँलेकै कारण पुनर्जीवन प्राप्त भएको अभिव्यक्ति दिने इन्द्रप्रसाद उपचारका क्रममा सभासद् केशवप्रसाद मैनालीले ठूलो उपकार गर्नुभएको बताउँछन् । आफू दुर्घटनामा परेको भीरमा केही वर्षअघि कुनै मोक्तान थरका प्रहरी हवल्दारले ज्यान गुमाएकोले त्यसको नाम नै मोक्तानभीर रहेको र युद्धकालमा थुप्रै माओवादी कार्यकर्ता पनि त्यहाँबाट लडेर मरेका यतिबेला इन्द्रप्रसादले जानकारी पाएका छन् । यस्तो घटना भएर पनि आफू बाँच्न पाउनुलाई उनी यसरी अर्थ्याउँछन्, ‘मर्न त म मरिसकेकै मानिस हुँ, सायद पृथ्वीमा मेरो कुनै खास काम बाँकी नै छ होला, त्यसैले यतिबेला आफूलाई जीवित नै पाएको छु ।’ तन्दुरुस्त भएपछि आफूलाई उद्धार गर्नेहरूको गाउँमा गएर ठूलै भोज लगाउने इच्छा पनि मैनालीले सुनाए ।

राजनीतिपीडित राष्ट्रसेवक
निजामती कर्मचारीमा सचिव, सहसचिव वा अन्य कुनै पदमा बढुवा हुने सोचाइमा लाग्नुभएको छ ? यदि छ र तपाईं आफूलाई बढुवाका लागि उपयुक्त पात्र ठान्नुहुन्छ भने सबैभन्दा पहिले राजनीतिक दलको सक्रिय कार्यकर्ता बन्नूस् र नेताका घरघरमा पुगेर चाकडी बजाउनुस्, सके दाम पनि चढाउनुस् । तपाईं यति गर्न सक्नुहुन्न भने ठान्नुहोस् कि तपाईंको बढुवा हुने योग्यता पुग्दैन । सचिव वा कुनै निकायको प्रमुखमा राजनीतिक भागवन्डाको आधारमा नियुक्ति गरिन्छ । यति मात्र होइन, कुनै मन्त्रीलाई आफूमातहतका सचिवले आफूअनुकूलकै काम गर्न आनाकानी गर्‍यो भने गलहत्याइहाल्छन् । त्यसका लागि टाढा जानुपर्दैन अर्थसचिव रामेश्वर खनालको उदाहरण लिए पुग्छ । केही दिनअघि निर्वाचन आयोगका प्रवक्ता श्यामसुन्दर शर्माले आफू राजनीतिक दलका कार्यकर्ता नभएकाले सचिवमा बढुवा हुन नसकेको सार्वजनिक अभिव्यक्ति दिनुभयो । उहाँको कथन छ, ‘नेपालमा लोकतन्त्र प्राप्ति हुनु पहिले सरकारको उच्च पदमा बढुवा हुन राजाका वरिपरिकालाई चाकडी गर्नुपथ्र्यो, अहिले माओवादी, काङ्ग्रेस र एमालेका नेतालाई चाकडी गर्नुपर्ने अवस्था छ । मैले पनि उनीहरूलाई चाकडी गरेको भए दुई वर्षअघि नै सचिवमा बढुवा हुने थिएँ ।’ त्यसो त सचिवमा बढुवा हुन योग्य भनी पाँचपटकभन्दा बढी उहाँको नाम आयो तर सचिव हुन सक्नुभएन । शर्माको नाम हालै बढुवा भएका चार सचिवमध्ये प्रस्तावित लिष्टमा अग्रपङ्क्तिमा नै थियो ।
खनाल र शर्माजस्तै थुप्रै पीडितमध्येका एक स्थानेश्वर देवकोटा पनि हुनुहुन्छ । उहाँ पनि राजनीतिपीडित कर्मचारीमध्ये एक हुन् भन्दा फरक पर्दैन । ‘साथमा पैसा र कुनै राजनीतिक दलको कार्यकर्ता बन्न सकेको भए म सजिलै सचिवमा बढुवा हुन्थेँ, यी दुवै कुरा नभएकाले सहसचिवबाटै अवकाश लिनुपर्‍यो,’ देवकोटाको कथन हो यो । सरकारी सेवाबाट अवकाश पाएपछि उहाँ यतिबेला अढाइ वर्षदेखि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा कार्यकारी निर्देशक हुनुहुन्छ । सेवाकालमा विभिन्न नौ जिल्लामा जिल्ला प्रशासन प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका स्थानेश्वरले सरकारी सेवामा ३८ वर्ष बिताएर अवकाश लिनुभएको हो ।
०२६ सालबाट सरकारी सेवामा प्रवेश गर्नुभएका देवकोटाले ०४९ सालमा पहिलोपटक खोटाङबाट जिल्ला प्रशासन प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको हो । उहाँले बैतडी, रौतहट, कञ्चनपुर, र्सलाही, रूपन्देही, सुनसरी, ललितपुर र काठमाडौंमा सीडीओको भूमिका कुशलतापूर्वक निर्वाह गर्नुभयो भने कारागार व्यवस्थापन विभागको निर्देशक भएर सरकारी सेवाबाट बिदा लिनुभयो । ‘जुन जिल्लामा सीडीओ भएर पुगेँ सम्भवत: त्यहाँ मैले राम्रो काम गर्न सकेँ, जनताको अपेक्षाअनुसार हिँड्न सकँे, त्यसैले हुनसक्छ म सीडीओ भएर काम गर्न गएको जिल्लाका जिल्लावासीको मनमस्तिष्कमा बस्न सफल भएको छु’ भन्नुहुने उहाँ आफ्नो कामप्रति गर्व लागे पनि सरकारी सेवाको अन्त्यमा सरकारले देखाएको व्यवहारले केही विचलित र दु:खी तुल्याएको लुकाउनुहुन्न । इमान्दारिताका साथ राम्रो काम गर्दागर्दै पनि सरकारले अन्यायपूर्वक बढुवा नदिएपछि केही हीनताबोध हुनु स्वाभाविकै पनि हो । उहाँ थप्नुहुन्छ, ‘आफैंलाई भन्दा पनि साथीहरूले त किन बढुवामा परिनस्, के गल्ती गरेको थिइस् भनेर सोध्दा पीडा हँदोरहेछ ।’
सरकारी सेवामा रहेसम्म कुनै पनि राजनीतिक दलका कार्यकर्ता नबन्ने ढृढ सङ्कल्प गरेका देवकोटालाई केही समकक्षीहरूले बढुवाका लागि कुनै राजनीतिक दलको कार्यकर्ता बन्न सुझाएका पनि थिए, केहीले त सामान्य खर्च गर्नसमेत भनेका थिए । तर, सरकारी सेवामा रहेर दलको कार्यकर्ता हुने, खर्च गरेर बढुवा हुने मोह उहाँमा कहिल्यै जागेन । ‘कुनै राजनीतिक दलप्रति निकटता नभएकाले नै म सीडीओ भएर गएका जिल्लाका मानिसले अझै सम्भिmरहेका छन्, जिल्लामा पुगेका नयाँ सीडीओलाई मेरो रिफ्रेन्स दिँदै फलानालेजस्तो काम गर्नुस् भन्ने गरेको मैले पाएको छु, यो नै मेरा लागि सबैभन्दा महत्वको कुरा हो, यदि म राजनीतिक दलमा लागेको भए जनताबाट त्यस्तो सम्मान पाउने थिइनँ,’ देवकोटाको कथन छ । सादा जीवन जिउन मन पराउनुहुने देवकोटा कठिन विषयलाई पनि सजिलै किनारा लगाउने तथा नागरिकको सेवामा समरि्पत भइरहे पनि राजनीतिक दबाबको सामना गर्नुपरेको छ । उहाँ भन्नुहुन्छ, ‘उपत्यकाबाहिरभन्दा काठमाडांैमा बढी राजनीतिक दबाबको सामना गर्नुपरेको थियो, यहाँ राम्रो काम गर्न खोज्दाखोज्दै विभिन्न दलको दबाबको सामना गर्नुपर्दो रहेछ, त्यसैले काममा केही असहजता पैदा भएको थियो ।’ कस्ताखाले दबाब आउँदोरहेछ त भन्ने सवालमा उहाँले विभिन्नखाले सार्वजनिक अपराधमा संलग्न व्यक्तिलाई छुटाउनुपर्‍यो भन्ने दबाब बढ्ता आउने गरेको जानकारी दिनुभयो । तर, जस्तोसुकै दबाब आउँदा पनि नियमसङ्गत रूपमा सबै विषय टुङ्ग्याउने गरेका स्थानेश्वरले आफूलाई बढी नै दबाब आयो भने उल्टै झन् बढी सजाय तोक्ने गरेका थिए । ‘त्यसैले हुनसक्छ, पछिल्लो समयमा त्यति धेरै दबाब आएन,’ देवकोटाको अनुभव छ ।
काठमाडौं जिल्लामा रहँदा बढुवा पनि नभएको र शरीरलाई बढी आरामको जरुरत देखेकाले कुनै विभाग वा मन्त्रालयमा सरुवा गर्न सरकारसँग आग्रह गरे पनि आफूलाई झन् बढी सक्रिय हुनुपर्ने निकाय कारागार व्यवस्थापन विभागमा सरुवा गरिदिएको देवकोटाको भनाइ छ । सुरुमा मलाई केही अप्ठ्यारो र असहज लागे पनि सरकारले तोकेको स्थानमा गएर काम गर्नुपर्छ भन्ने सोचका साथ विभागमा हाजिर भएर आफूले झन् राम्रो काम गरेको उहाँको ठम्याइ छ । ‘सुरुमा म कुनै एक जिल्लामा मात्र केन्दि्रत रहेर काम गर्थें तर कारागार व्यवस्थापन विभागमा गएर ७५ वटै जिल्लाका अधिकारी तथा कैदी बन्दीहरूसँगको सम्पर्कमा रहेर काम गर्ने मौका पाएँ’ भन्ने उल्लेख गर्दै विभागमा हुन नसकेका र अधुरा थुप्रै काम सकुशल सम्पन्न गरेको जानकारी उहाँले गराउनुभयो । देवकोटा थप्नुहुन्छ, ‘मेरै पहलमा भिमफेदीमा नयाँ कारागार बनाउने कार्य सुरु गरेँ, त्यो अहिले निर्माणकै चरणमा छ, जीर्ण अवस्थामा पुगेका थुप्रै कारगार मर्मतसम्भार भए भने कैदीबन्दीको सेवा-सुविधा बढाउने काम मेलै सफलतापूर्वक गरेँ ।’
नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा काम गर्दै आउनुभएका देवकोटाले अमेरिका, इटली, युरोपियन तथा अन्य धेरै मुलुकको भ्रमण गरिसक्नुभएको छ । उहाँले एक वर्ष बेलायतमा अध्ययनसमेत गर्नुभएको छ । थुप्रै विकसित देशको भ्रमण गर्नुभएका देवकोटाले विदेशी मुलुक जतिसुकै धनी र सुसभ्य भए पनि नेपालीका लागि नेपाल प्यारो रहेको अनुभव सुनाउनुहुन्छ । सिन्धुलीगढीको चपौली गाउँमा स्थायी घर भएका देवकोटाका आठ दाजुभाइ र चार दिदीबहिनी छन् । परिवारको माइलो सन्तानका रूपमा जन्मनुभएका देवकोटा भने श्रीमती र दुई छोराका साथ धुम्बाराहीमा अस्थायी बसोबास गर्दै आउनुभएको छ ।
-रामहरि पाण्डे