नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई जिल्ला अदालत नुवाकोटले तीन दिन हिरासतमा राख्न म्याद थप गरेको छ । स्काभेटर जलाएको अभियोगमा काठमाडौंमा भदौ ७ गते प्रहरी नियन्त्रणमा लिई उनलाई भदौ ८ गते नुवाकोट लगिएको थियो ।
प्रवक्ता प्रकाण्डालाई आज (आइतबार) चौथोपटक अनुसन्धानका लागि तीन दिन म्याद थप गरिएको हो । प्रहरीले हरेक पटक एक साताको म्याद थप गर्न माग गरे पनि नुवाकोट अदालतले भने तीन-तीन दिन मात्र म्याद थप गर्दै आएको छ ।
बेलकोटगढी नपा–९ देविस्थानस्थित सडकमा राखिएको बा२क ४८९३ र बा१क ६८८८ स्काभेटरमा गत साउन ७ गते राति आगजनी गरी क्षति पुर्याएर फरार रहेको भनी नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डसहित १५ जना विरुद्ध उजुरी दर्ता भएको जिल्ला प्रशासन नुवाकोटले जनाएको छ । उनीहरुका विरुद्ध धमले–निरन्जना–नलगाउँ–दुईपीपल सडक निर्माणको काम गरिरहेको नागार्जुन कन्सट्रक्सनका ठेकेदार रामबाबु जिसीले उजुरी दर्ता गराएका थिए ।
स्काभेटर जलाएको आरोपमा परेको उजुरीमा विप्लव र प्रकाण्डका अलावा धर्मेन्द्र बास्तोला, सन्तोष बुढामगर, प्रकाश ओली, उमा भुलेज, चन्द्रबहादुर चन्द, मोहनबहादुर कार्की, मोहनलाल चन्द, अमर झाँक्री, उदय चलाउने, सविता तामाङ, सागर तिमल्सिना, विन्तोष सिलवाल र कृष्ण धमलाको नाम रहेको बताइएको छ ।
प्रतिक्रिया