विकासका योजना कार्यान्वयन गराउन छाया सरकार सक्रिय

विकासका योजना कार्यान्वयन गराउन छाया सरकार सक्रिय


– रमेश विक, गुल्मी

गुल्मीको मालिका गाउँपालिकामा गठित नेपाली कांग्रेसको छाया सरकारले जनप्रतिनिधि र उपभोक्ता समितिले गरेका विकासका योजनाको अनुगमन कार्यलाई प्राथमिकतामा साथ अघि बढाएको छ । आर्थिक वर्ष २०७४/०७५ मा कार्यन्वयन भएका विकासका योजना जनता सामु पुगेरनपुगेको र योजनाको सुशासन तथा पारदर्शिताको अवस्था जानकारी लिने र गलत काम भएको अवस्थामा कानुनी उपचारका लागि दबाब दिने उद्देश्यले छाया सरकार गठनसहितको यो अभियान शुरु गरिएको हो ।

योजना तर्जुमा लेखाजोखा गर्ने, कुनै योजना बीचैमा हराउन नदिने, भ्रष्टाचार र अनियमिततामा अनुगमन गर्ने उद्देश्यले सुरुवात गरिएको छाया सरकार प्रमुख उपेन्द्र अर्यालले मालिका गाउँपालिकामा सञ्चालित आधा दर्जन भन्दा बढि योजनाहरुको अनुगमन गरिसकेपछि सम्पूर्ण वडाको अनुगमन र छलफलपश्चात पत्रकार सम्मेलनमार्फत सबैलाई जानकारी गराइने जनाएका छन् ।

वडा कार्यालयको मात्र अनुगमन नगरी वडामा गरिएका निर्णयहरुको कार्यान्वयन भएको छ कि छैन त्यसलाई विशेष ध्यान दिने अनुगमन टोली रेखाकुमार जिसीले बताए । गुल्मी जिल्लामा स्थानीय तहमा भएका विकासका गतिविधिको रेखदेख गर्न नेपाली कांग्रेस गुल्मीले जिल्लाका सबै स्थानीय तहमा छाया सरकार गठन गरेको छ । स्थानीय तहमा सुशासन र पारदर्शिता ल्याउन, ढिलासुस्ती हटाउन जिल्लाभर नै छाया सरकारले अनुगमन गरेको नेपाली कांग्रेस गुल्मीले बताएको छ ।