ऐन जारा कारागारबाट चार सय बन्दी फरार

ऐन जारा कारागारबाट चार सय बन्दी फरार


लिबियाको राजधानी त्रिपोलीमा रहेको ऐन जारा कारागारबाट चार सयजना बन्दी फरार भएका छन् । सरकारी सुरक्षाकर्मी र लडाकुबीच भिडन्त भएपछि आइतबार उनीहरू भागेको अधिकारीहरूले जनाएका छन् ।

‘ऐन जारा कारागरको सेक्सन एमा विद्रोहीहरूले हस्तक्षेप गरेर चार सयजना कैदीलाई भगाएका छन्,’ न्यायिक प्रहरी विभागका एक अधिकारीले भने । उनका अनुसार लडाकुले बन्दुकको ठूलो आवाज सुनाएर तर्साएका थिए ।

बन्दीहरूले जेलको ढोका र सुरक्षागार्डलाई हटाएर भागेका हुन् । उनीहरूको खोजीकार्य शुरु गरिसकिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

घटनास्थल दक्षिणी त्रिपोलीमा पर्दछ । प्रत्यक्षदर्शीले आइतबार शुरु भएको झडप सोमबार बिहानसम्म चलेको बताएका छन् ।

पछिल्ला केही दिनमा त्रिपोलीमा जारी हिंसामा परी मृत्यु हुनेको संख्या ४१ पुगेको छ भने १२३ जना घाइते भएका छन् । तीमध्ये धेरै सर्वसाधारण नागरिक रहेको समाचारमा जनाइएको छ ।