पाठक मञ्च

पाठक मञ्च


pathakmanchअख्तियारभित्रै हामीलाई प-यो आपत् !
सम्पादकज्यू
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत केही कर्मचारीको अहम् र हैकमबाट कामको सिलसिलामा यहाँ आउने अन्य मन्त्रालयका कर्मचारी जति पीडित हुन पुगेका छन्, यहाँ कार्यरत प्रहरीका केही अधिकृत र स्वकीय सचिवका नाममा गएका भूपू प्रहरीबाट त्यसभन्दा बढी अख्तियारमै कार्यरत हामी महिला कर्मचारी पीडित बन्न पुगेका छौँ । छिचोलेर भन्नुपर्दा कुरा पूर्वएसएसपी श्रेष्ठको हो । उनी एसएसपीबाट रिटायर्ड भएपछि प्रमुख आयुक्तको स्वकीय सचिव बनेर अहिले हैकम चलाउँदा यहाँ कार्यरत हामी खासगरी महिला वर्ग अत्यन्त पीडित हुन पुगेका छौँ ।
महिला भनेपछि हुरुक्कै हुने स्वभावका निज श्रेष्ठले अख्तियारमा सरसफाइको काम गर्ने महिलादेखि लिएर अन्य अस्थायी एवम् ज्यालादारी महिला जो राम्रा र भर्खरका छन्, उनीहरूलाई स्थायी जागिर लगाइदिउँला भन्ने आश्वासन दिँदै आफूसँग लोभ्याउने गरेका छन् । यसैगरी अधबैंसे महिलालाई चाहिँ तिमीहरूले बढी काम गरेर देखाउनुपर्छ भन्दै काममा बढी पेलाउने गरेका छन् । यी पूर्वएसएसपीले कुनै बेला दिल्लीस्थित नेपाली राजदूतावासमा कार्यरत रहँदा एउटी भारतीय केटीको जीवन नै बर्बाद पारेर विवादमा आएपछि सोर्सफोर्सका आधारमा रातारात काठमाडौं फिर्ता भएको कुरा त्यतिबेला उनीसँगै दूतावासमा काम गर्ने खोटाङ–भोजपुरतिरका बस्नेत थरका एक पूर्वकर्मचारीको भनाइ छ ।
प्रमुख आयुक्तका स्वकीय सचिव भनिएका यी पूर्वप्रहरी वीरगञ्जमा कार्यरत रहँदा चाहिनेभन्दा बढी जथाभावी रूपले यातायातका लाइसेन्समा सही गरेर बिक्री गर्दा विवादमा आई हट्नुपरेको थियो । सुन्दरी महिला देख्नै नहुने यी सचिवका हर्कत हालै बुधबार प्रकाशित हुने एक साप्ताहिक पत्रिकाले उदाङ्गो पारेपछि अहिले अख्तियारमा हल्लीखल्ली मच्चिएको छ । आफ्नै घरमा काम गर्ने केटीलाई मोटरसाइकलमा हालेर घुमाउने र कार्यालयका महिला कर्मचारी एवम् महिला प्रहरीहरूलाई देख्नै नहुने स्वभावका यी श्रेष्ठ अख्तियारमा सचिवका बहानामा त्यसै छिरेका होइनन् भन्ने हामीलाई लागिरहेको छ । उपसचिवसरहबाट अवकाश पाएका व्यक्तिले शाखा अधिकृतस्तरको नोकरीमा गिरेर प्रवेश गरी यसरी हालिमुहाली चलाउन थालेको कुरा प्रमुख आयुक्तज्यूलाई थाहा हुन्छ कि हुँदैन, हामीले पनि बुझ्न नसकेको विषय प-यो । किनकि, हामी त प्रमुख आयुक्तज्यूसमक्ष पुग्न सक्ने हैसियत राख्दैनाँै । हामी साधारण महिला कर्मचारी मात्र नभई महिला प्रहरीहरू पनि उनको हैकमबाट अत्यन्तै पीडित बनेको कुरा हामी कसलाई गएर भन्ने ? तसर्थ, तपाईंको लोकप्रिय यस घटना र विचार पत्रिकामार्फत प्रकाशित गरिदिनुभए सम्बन्धित निकायको ध्यान तानिन्छ कि भन्ने हाम्रो उद्देश्य भएकोले हामी पीडित महिला कर्मचारीका तर्फबाट यो अनुरोधपत्र लेखेका छौँ ।
– अख्तियारमा कार्यरत पीडित महिला

सभासद बिक्री घोर भ्रष्टाचार !
दोस्रो संविधानसभा निर्वाचनमा आमनेपाली मतदाताले समानुपातिकमा पार्टीलाई आ–आफ्नो सिद्घान्तको आधारमा कसैले गणतन्त्र संस्थागत गर्न, कसैले प्रजातन्त्र र लोकतन्त्र संस्थागत गर्न, कसैले राष्ट्रियताको सवालमा हिन्दू राष्ट्रसहितको प्रजातन्त्र र पुन: राजसंस्था स्थापित गराउन, भौगोलिक, क्षेत्रीय र जातीय सवाललाई आधार बनाएर आशा एवम् विश्वासका साथ मतदान गरेका थिए । पार्टीका कार्यकर्ताहरूले पनि पार्टीको सिद्घान्त, नीतिनियम, घोषणापत्रको व्याख्या–बखान र पार्टीका नेताहरूको तारिफ गर्दै गाउँ, टोल, बस्ती र घरदैलो गरेर आफ्नो समय, श्रम र शरीर, स्वास्थ्यको क्षय गर्दै भोट माग्दै हिँडे । पार्टीले निष्ठावान, कर्मठ, समर्पित कार्यकर्ताहरूलाई उचित मूल्याङ्कन गरी समानुपातिकबाट सभासद् छनोट गर्ने विश्वासमा थिए । तर, पार्टीका ठूलाठालु शीर्ष भनाउँदा निर्णायक तहका नेताहरूले मतदाता र कार्यकर्ताको विश्वास तथा भरोसामाथि कुठाराघात गर्दै नगदनारायणको लेनदेन, फरियावाद, गुटवाद, चाकरीवाद, आफन्तवाद र व्यक्तिगत स्वार्थलाई मुख्य आधार बनाई समानुपातिक सदस्य छनोट गरेको पाइयो । जसले गर्दा ती पार्टीको सङ्गठन बलियो कसरी हुन सक्छ, कसरी वास्तविक समावेशीकरण तथा भौगोलिक सन्तुलन हुन सक्छ र समर्पित कार्यकर्ताको उचित मूल्याङ्कन गरी प्रोत्साहित गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिएको पाइएन र समानुपातिक निर्वाचन प्रणालीलाई व्यतिmगत तथा गुटगत स्वार्थसिद्घ गर्ने माध्यमको रूपमा दुरुपयोग गरियो तथा उक्त निर्वाचन प्रणालीप्रति नै वितृष्णा पैदा गर्ने काम भएको छ । योे घोर आपत्तिजनक छ ।
नेताहरूले पैसा लिएर समानुपातिक सभासद् बनाउँछन् भने यसलाई नै भ्रष्टाचार भनिन्छ र भ्रष्टाचारको सुरुवात निर्णायक तहका नेताहरूबाट नै भएको देखिन्छ । एक लाखदेखि करोडौँ रुपैयाँ खर्च गरेर प्रत्यक्षमा विजय हुने उम्मेदवार र समानुपातिकमा निर्णायक तहका नेताहरूलाई पैसा दिएर बन्ने उम्मेदवारले बुझाएको पैसा कसरी कमाउने भन्ने मात्र सोच राख्दछ । त्यसकारण संविधान निर्माण र देश विकासलाई प्राथमिकता दिनुभन्दा खर्च गरेको र बुझाएको रकम कसरी असुल गर्ने भन्नेतिर लक्ष्य रहन्छ र भ्रष्टाचार गर्न अनेकौँ हथकण्डा अपनाउने गर्दछन् । जस्तै : पहिलो संविधानसभामा संविधानसभाको अवधि बढाउन, रातो पासपोर्ट बेच्ने आदि क्रियाकलापजस्ता घटनाहरू । संविधान बनाउन जाने निर्णायक तहका नेताहरू स्वयम् पार्टीको सिद्घान्त, नीतिनियम, घोषणापत्र विपरीत, भ्रष्टाचारी र कानुन, ऐन, नियम मिच्ने गर्दछन् भने यो देशमा कानुनी राज्यको स्थापना र दण्डहीनताको अन्त्य होला भनेर आमनेपाली नगरिकले कसरी आशा राख्ने ? संविधान पनि राष्ट्रहित र जनहितको पक्षमा आउला भन्ने के विश्वास ?
– राकेशकुमार शर्मा, स्वतन्त्र नेपाली नागरिक