जापानमा २५ वर्षपछिकै शक्तिशाली आँधी

जापानमा २५ वर्षपछिकै शक्तिशाली आँधी


जापानमा गत २५ वर्षपछिकै ठूलो आँधी आएको छ । सो आँधीका कारण जापानमा ठूलो क्षति पुगेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

‘जेबी’ नाम दिइएको सो आँधी प्रतिघन्टा २१६ किलोमिटरको गतिमा आएको मौसमविद्हरुले जनाएका छन् । ठूलो वर्षातसहितको आँधीको प्रकोपका कारण पश्चिमी जापानका कतिपय ठाउँमा पहिरो पनि गएको सरकारी अधिकारीले जनाएका छन् ।

यसको प्रकोपले लाखौँ मानिस प्रभावित भएको अनुमान गरिएको छ । तर पनि अहिले नै यसबाट भएको क्षतिको यकिन विवरण प्राप्त भएको छैन ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले उद्धार कार्यमा खट्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले सतर्कता अपनाउन नागरिकलाई अपिल गरेका जापानी सरकारी टेलिभिजन एनएचकेले जनाएको छ ।

जापानको मौसम विभागले बाढी पहिरो र खतरनाक हावाहुरीको सम्भावना अझै रहेकाले आवश्यक सतर्कता अपनाउन सूचना सार्वजनिक गरेको छ ।

जापानको मौसम विभागका अधिकारीहरुले सोमबार साँझबाट शुरु भएको आँधीको प्रकोप २५ वर्षपछिकै शक्तिशाली रहेको भन्दै यसले पुर्याउन सक्ने क्षतिको आँकलन गरी सरकारले आवश्यक सुरक्षात्मक उपायहरु अपनाउनुपर्ने सुझाव दिएका छन् ।

मङ्गलबार बिहानदेखि आँधीको गति झनै बढ्दै गएको बताइएको छ भने कैयौँ स्थानमा पहिरो गएको अनि केहीमा बाढीले क्षति पुर्याएको छ । तर अहिले नै स्थलगत रुपमा जान सकिने अवस्था भने रहेको छैन ।

मौसमविद्हरुले सन् १९९३ पछिकै सबैभन्दा शक्तिशाली आँधी आएको भन्दै सबै नागरिकलाई अनावश्यक रुपमा बाहिर ननिस्किन र सरकारी सूचनाहरुलाई मनन् गर्न भनेका छन् ।